coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टेकुमा पचली भैरवका जात्रा

शिवहरि घिमिरे

ललितपुर–  राजधानीको टेकुस्थित ओहिटी टोलका चित्रकार समुदायले आयोजना गर्ने परम्परा अनुसार दुईदिने पचलीभैरव जात्रा बुधबार र बिहीबार मनाइरहेका छन् । जात्रा नौरथाको चौथी र पञ्चमी तिथिमा मनाइन्छ ।

बुधबार बाजागाजाका साथ पचलीभैरवलाई मल्ल राजाका सन्तति (छपुजुजु) को घर लगिएको थियो । राति ८ बजे पचली पीठमा लगी पचलीभैरवको पुरानो घ्याम्पो फेरिएको थियो । यो जात्रा टेकुका नेवार समुदायले मनाउने जात्रामध्ये एउटा मुख्य जात्रा हो । पहिलो दिन दुई बोका होम गर्ने परम्परा अनुसार बुधबार राति ११ बजे विशेष पूजाअर्चनासहित दुई बोका होम गरिएको स्थानीय सुन्दर चित्रकारले जानकारी दिए ।

जात्राको ऐतिहासिक पृष्ठभूमिबारे खोजकर्ता राजु नापितले यसरी बताउँछन् । फर्पिङका राजा पचलीभैरव टेकु घुम्न आउँदा खड्गी समुदायकी एक युवती (नैनी अजिमा)सँग पे्रममा परे । त्यसपछि राजा नैनीलाई भेट्न आउने क्रम चल्यो । एकदिन राजा भेष बदलेर नैनीलाई भेट्न आए । भेष बदलेका राजालाई नैनीले चिन्न सकिनन् । चिन्न नसकेपछि राजाले अचम्म मान्दै मलाइ चिन्नु भयो भनी सोधे । नैनीले को हो तपार्इँ भनेर सोध्दा राजाले भन्नुभन्दा म आफ्नो स्वरुप देखाउँछु, देखेर नडराई मलाइ अक्षताले हान्नु भने । पचलीभैरवले आफ्नो विशाल स्वरुप देखाउँछन् । उनको स्वरुप देखेपछि डराएर नैनीले अक्षता हान्न सकिनन् र भागिन् । नैनी भागेपछि आफ्नो स्वरुप देखेर सर्वसाधारण पनि डराउलान् भनेर राजा अहिलेको पचली पीठमा गएर बसे । त्यहाँ उनी शरीरको कम्मरमुनिको पृष्ठ भाग देखाएर बसेको उनका १२ जना साथीले देखेपछि पचलीभैरवको जात्रा सुरु गरेको मानिन्छ ।

जात्राको अन्तिम दिन बिहीबार पचली पीठबाट रुद्रविनायक, गणेश, अजिमा र पचलीभैरवको घ्याम्पो बाजागाजासहित टेकु परिक्रमा गराइन्छ । परिक्रमापछि गुर्जुको पल्टनले तीन तोपको सलामी दिएर जैसीदेवल हुँदै हनुमानढोका लगी पूजा गर्ने परम्परा छ । बिहीबार राति ११ बजे कुमारीलाई पनि जात्रा देखाइन्छ ।

जात्रा पचलीभैरवका १२ जना साथीले सुरु गरेकाले जात्राका गुठियार÷खलक पनि १२ छन् । सबै गुठियारले पालैपालो जात्रा गर्नुपर्ने परम्परा अनुसार यस वर्ष न्यायपाँचो खलकले जात्रा निकाले । कुमारीलाई जात्रा देखाएपछि पालोवाला गुठियार (न्यायपाँचो)को घरमा जात्रा भिœयाएपछि जात्रा सकिने खोजकर्ता नापितले जानकारी दिए ।
 

प्रकाशित: २१ आश्विन २०७३ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App