coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विदेशबाट फिर्ता भएका मूर्तिहरू प्रदर्शनीमा

काठमाडौं - गत चैतमा अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन कला संग्रहालयबाट फिर्ता भएका नेपालबाट हराएका १२ औं र १७ औं शताब्दीका बुद्ध र उमामहेश्वरका मूर्तिहरू छाउनीस्थित राष्ट्रिय संग्राहलयमा प्रदर्शनीमा राखिएका छन् । बुधबारदेखि छाउनीस्थित राष्ट्रिय संग्राहलयमा सुरु भएको अस्थायी प्रदर्शनीमा चोरी भएर विभिन्न देश पुगेका प्राचीन मूर्ति तथा सामाग्रीहरू नेपाल फिर्ता ल्याई प्रदर्शनीमा राखिएका हुन्। १० औ देखि १९ औ शताब्दीका ऐतिहासिक तथा पुरातात्विक मूर्तिहरू नेपालको विभिन्न स्थानबाट चोरी भई विदेश पुगेका थिए। 

सन् १९८० को दशकमा नेपालबाट चोरी भएका उक्त मूर्तिहरू मेट्रोपोलिटन कला संग्रहालयले त्यहाँस्थित नेपाली दूतावासमार्फत नेपाल पठाएको थियो। पाटनको टंगालहिटीमा चोरिएको उमामहेश्वर १२ औं देखि १७ औं शताब्दीमा र काठमाडौंको यट्खाबाट चोरिएको बुद्धको उभिएको पूर्णकदको मूर्ति ११औं शताब्दीमा बनेको पुरात्तत्व विभागले जनाएको छ।

अमेरिका, बेलायत, युरोप र नेपालबाट बरामद भएका ३६ वटा मूर्तिहरू प्रदर्शनीमा राखिएका छन् । यसमध्ये अमेरिका, बेलायत र युरोपबाट फिर्ता भएका १० वटा मूर्तिहरू प्रदर्शनीमा समावेश छन् । यस अस्थायी प्रर्दशनीमा प्रदर्शित प्रस्तर तथा धातुमा निर्मित मूर्ति, काष्ठ तोरण, टुँडाल, कलात्मक भ्यालढोका विदेश र नेपालबाट बरामद भएका हुन् । प्रदर्शनीमा ११ औं शताब्दीको गौतम बुद्धको मूर्ति, पनौती त्रिवेणीघाटको सूर्यको मूर्ति, फर्पिङस्थित कमलपोखरीको १२ औं शताब्दीको सरस्वतीको शिर, चन्द्र महारोशनको मूर्ति, ८ औं शताब्दीको शिव विष्णु भाष्कर मूर्ति, १३ औं शताब्दीको गरुढ नारायण, १७ औं शताब्दीको उमामहेश्वर, १२ औं शताब्दीको श्रीधर विष्णु, १९ औं शताब्दीको योगी, १९ औं शताब्दीको मार्कण्डेय पुराण, १४ औं शताब्दीको मञ्जुश्री, सातौं शताब्दीको स्थानक बुद्घ, १७ औं र १८ औं शताब्दीको मारविजय मूर्तिलगायत प्रर्दशनीमा राखिएका छन्। 

छाउनीस्थित राष्ट्रिय संग्राहलयका निर्देशक जयराम श्रेष्ठका अनुसार अनेक माध्यमबाट नेपालबाट चोरी भई विभिन्न देशका संग्रहालयमा पुगेका ऐतिहासिक तथा पुरातात्विक मूर्तिहरू फिर्ता हुने क्रम जारी छ । ‘नेपालका विभिन्न स्थानबाट हराएर विदेश पुगेर फिर्ता भएका मूर्तिहरू तथा नेपालबाट बरामद भएका मूर्तिहरू प्रदर्शनमा राखिएका छन् । १० औं देखि १२ औं शताब्दीका मूर्तिहरू नेपाल फिर्ता भएपछि प्रदर्शनीमा राखिएका हुन्’, उनले भने, ‘सन् १९७० मा युनेस्को अभिसन्धिले पारित गरेअनुसार चोरी भएर विदेश पुगेका मूर्ति फिर्ता आइरहेका छन् । सन् १९७६ मा नेपालले उक्त सन्धिमा हस्ताक्षर गरेपछि नेपालबाट हराएका मूर्तिहरू फिर्ता हुने क्रम जारी छ।’

विभिन्न देशबाट फिर्ता भएका ४५ वटा मूर्तिहरू संग्रहालयले राखेको छ । त्यसबाहेक नेपालबाट बरामद भएका २२ सय हाराहारीका मूर्तिहरू संग्रहालयले संरक्षण गरिरहेको छ । ‘राष्ट्रिय संग्रहालयमा नेपालबाट बरामद भएका २२ सय मूर्ति र ऐतिहासिक सामग्रीहरू छन् । त्यस्तै विभिन्न देशबाट फिर्ता भएका ४५ थान मूर्ति संग्रहालयसँग छ’, श्रेष्ठले भने, ‘नेपालबाट चोरी भएका मूर्तिहरूको महत्व बुझाउन प्रदर्शनीको आयोजना गरेका हुँदा सबै मूर्तिहरू प्रदर्शनीमा समावेश गर्न सकिएन् । चोरी भएका मूर्तिहरू स्थानीयलाई हस्तान्तरण गर्न यो प्रदर्शनीको आयोजना गरिएको हो ।’ उनका अनुसार चोरी भएर फिर्ता ल्याइएका मूर्तिलाई स्थानीयले पुनःस्थापना गर्न चाहेमा लैजान पाउने भएपनि अहिलेसम्म कोहीपनि मूर्ति लिन आएका छैनन्।

हालसम्म नेपालमा भएका मूर्तिहरूको तथ्यांक नहुँदा विदेश पुगेका मूर्तिहरू नेपालबाटै लगिएका हुन् भनेर प्रमाण जुटाउन समस्या हुने गरेको छ । त्यस्तै पछिल्लो पाँच वर्षको अवधिमा पुरातात्विक महत्व पाँच दर्जनभन्दा बढी मूर्ति र शिलालेखहरू चोरी भएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट मूर्तिहरू चोरी हुने गरेको छ । सन् १९६० देखि १९८० सम्मको तीन दशकमा नेपालबाट अधिकांश मूर्तिहरू चोरी भएका थिए।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक उत्तमराज सुवेदीका हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित ऐतिहासिक मूर्ति तथा शिलालेख चोरी हुने गरेका छन् । ‘मूर्ति चोरीमा नेपाल र विदेशीसहित संगठित गिरोह संलग्न हुने गरेका छन् । नेपाल घुम्न आएका विदेशी पर्यटकको मूर्ति चोरी र किनबेचमा संलग्नता हुने गरेको पाइएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । त्यसमा सफलता पनि पाइरहेको छ’, उनले भने । राष्ट्रिय संग्रहालयको स्थापना दिवस पारेर आयोजना भएको प्रदर्शनी तीन महिनासम्म चल्नेछ। 

 

प्रकाशित: ६ फाल्गुन २०७५ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App