७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कास्मिर आक्रमणका योजनाकारको तीव्र खोजी

जम्मु क्षेत्रमा लगाइएको कफ्र्यूका बेला गस्ती गर्दै भारतीय सेना। तस्बिर :एजेन्सी

नयाँ दिल्ली – ४४ जना अर्धसैनिक बलका अधिकारीको ज्यान जाने गरी गराइएको कार बम आक्रमणका प्रमुख योजनाकार मानिएका पाकिस्तान आधारित लडाकु समूहका कास्मिर प्रमुखको भारतीय फौजले आइतबार व्यापक खोजी गरेको छ। 

जैयस–ए–मोहम्मद नामक सो लडाकु समूहका कास्मिर प्रमुखको खोजीका लागि आइतबार कास्मिरभर सयौं भारतीय सुरक्षा फौज परिचालन गरिएको थियो। 

भारतीय सुरक्षा फौजमाथि दशकौंपछि गत बिहीबार गराइएको घातक आक्रमणको जिम्मेवारी पाकिस्तान आधारित जैयस–ए–मोहम्मदले लिएको थियो। सो आक्रमणपछि परम्परागत शत्रु राष्ट्र भारत र पाकिस्तानबीचको तनाव थप चुलिएको छ। 

जैयस–ए–मोहम्मदका कास्मिर क्षेत्रका कमान्डर मोहम्मद उमायर नै बिहीबार गराइएको आक्रमणको प्रमुख योजनाकार भएको भन्दै आइतबार भारतीय सेना र प्रहरीले उनको व्यापक खोजी गरेको छ। विद्यालय छोडेका कास्मिरका एक व्यक्तिलाई उमायरले ‘अतिवादी र एकोहोरो बनाएको’ सूचना आफूसँग भएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार विद्यालय छोडेका सोही व्यक्तिले विस्फोटक पदार्थले भरिएको कार बिहीबार भारतीय अर्धसैनिक चढेको बसमा लगेर ठोक्काएका थिए। कार ठोक्किएपछि विस्फोटन हुँदा सो घटना भएको थियो। 

कास्मिर क्षेत्रमा जैयस–ए–मोहम्मद समूहको नेतृत्व गर्नका लागि उमायर पाकिस्तानबाट कास्मिर आएको अनुमान भारतीय सुरक्षाकर्मीहरुले  गरेका छन्। भारतीय सुरक्षा अधिकारीहरुले उमायर कास्मिरको दक्षिणी क्षेत्रमा लुकेर बसेको भन्दै शंका व्यक्त गरेका छन्। 

सुरक्षा नीतिअनुसार नाम उल्लेख नगर्ने शर्तमा भारतीय सुरक्षाकर्मीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार उमायर जैयस–ए–मोहम्मद प्रमुख मसुद अजहारका भान्जा हुन्। जैयस–ए–मोहम्मदका प्रमुख अजहार पाकिस्तानमै रहेको भारतीय सुरक्षा निकायको दाबी रहेको छ। 

दशकौेंदेखि द्वन्द्व जारी रहेको मुसलमान बाहुल कास्मिरमा दक्षिण एसियाका परम्परागत शत्रु राष्ट्र भारत र पाकिस्तानले दाबी गर्दै आए पनि दुवै देशले आशिंक क्षेत्रमा मात्रै शासन गरेका छन्। 

भारतले पाकिस्तानी भूमिबाट संचालन हुने जैयस–ए–मोहम्मद र अन्य इस्लामिक लडाकु समूहलाई बन्द गर्न पाकिस्तानसँग माग गरेको छ। दिल्लीले बिहीबारको आक्रमणमा पाकिस्तानको संलग्नता रहेको बारे आफूसँग गतिलो प्रमाण रहेको समेत बताएको छ। उता, पाकिस्तानले भने त्यस्तो प्रमाण पेश गर्न भन्दै आक्रमणबारे हुने अनुसन्धानमा पाकिस्तानले सहयोग गर्ने बताएको छ। यद्यपि उसले आफूमाथि भारतले लगाएको आरोपको भने खण्डन गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। 

बिहीबारको आक्रमणपछि क्रुद्ध बनेको भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट ‘अलग्याउने’ चेतावनी दिइसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले देशको सेनालाई अन्तर सीमा हिंसालाई नियन्त्रण गर्न आफूले देशको सेनालाई स्वतन्त्रता प्रदान गरेको समेत बताइसकेका छन्। 

जैयस–ए–मोहम्मद अत्यन्तै खतरनाकमध्येको एक लडाकु समूहका रूपमा लिइन्छ। भारतका एक प्रहरी अधिकारीका अनुसार जैयस–ए–मोहम्मदले पछिल्लो समय कास्मिर क्षेत्रमा आफ्नो उपस्थितिलाई बाक्लो बनाएको छ। यस विषयमा रोयटर्सले भारतीय गृह मन्त्रालयका प्रवक्तासँग बुझ्न खोज्दा उनले प्रतिक्रिया दिन नमानेको रोयटर्सले उल्लेख गरेको छ।

 

प्रकाशित: ६ फाल्गुन २०७५ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App