कृष्णप्रसाद सुवेदी
एउटा सानो झुपडी। झुपडीभित्र एउटी आमा र तीन लालाबाला। साँझको समय। छोरा–छोरी रुँदै थिए। पुस महिनाको सिरेटो। आमा छोराछोरीलाई सुताउन प्रयत्नरत थिइन्। छोराछोरी रोइरहेका थिए। आमाले राजकुमारको कथा भन्न सुरु गरिन्– एकादेशमा एउटा राजकुमार थियो ...।
बच्चाले तुरुन्तै रुँदै भन्यो– यो कथा राम्रो छैन, नसुन्ने। उसो भए म राजकुमारीको अर्को कथा भन्छु भन्दै सुरु गरिन्। एकादेशमा अत्यन्तै सुन्दरी राजकुमारी थिइन् ...।
अर्को बच्चाले रुँदै नाइँनाइँ भन्यो।
आमा गम्भीर हुँदै गम्न थालिन्। बाइपंखी घोडाको कथा सुनाउन सुरु गरिन्। एकादेशमा एउटा वाईपंखी घोडा थियो। त्यो घोडाको ठूला–ठूला पखेटा थिए। उड्न सक्थ्यो...। बच्चाहरू रुँदै यस्तो कथा नसुन्ने भन्न थाले। आमाको धैर्य टुट्यो। छोराछोरीलाई चड्काइन। चुपचाप लागेर सुत् सुत् हकार्दै भनिन्।
सानी छोरीले रुँदै भनिन्– आमा भोक लागेको छ। रोटीको कथा भन्नु न। बिहानदेखि केही पनि खाएको छैन। राजकुमार, राजकुमारी तथा वाईपंखी घोडाको कथाले भोको पेट भर्न सकेन ती नानीहरूको। नेपाली जनताको भोकलाई न पञ्चायतले भर्यो, न बहुदलीय प्रजातन्त्र तथा गणतन्त्रको कथाले नै। नेपाली जनतालाई रोटीको कथा चाहिएको छ। त्यो भनेको शान्ति, समृद्धि, एकता, सद्भाव र विकास हो।
आलोचना र निन्दा बीचको फरक सूक्ष्म हुन्छ। आलोचनामा करुणा हुन्छ। निन्दामा घृणा र अहंकार। आलोचना सत् मार्गमा हिँडाउनका लागि हुन्छ भने निन्दा दबाउनका लागि। आलोचनामा सुध्रियोस् भन्ने हुन्छ भने निन्दामा अर्काको आत्मालाई चोट पुगोस्। पापको विरोध गर्नु आलोचना हो भने पापीको विरोध गर्नु निन्दा।
मान्नुस् या नमान्नुस्। कमरेड प्रचण्ड नेपालका एक नामुद राजनीतिज्ञ हुन्। अहिलेको गणतन्त्र स्थापनाका लागि उनको भूमिका महत्वपूर्ण छ। उनको नेतृत्वमा सानो कोटरीमा रहेका माओवादी दल देशको अधिकांश ग्रामीण भूभाग कब्जा गर्न सफल भएको थियो। उनको आदेशमा सयौँ लडाकु ज्यान आहुति दिन लामबद्ध हुन्थे। हजारौँ नेपालीको ढुकढुकीमा थिए, उनी। उनको सिद्धान्त सही या गलत जे होस् तर उनी तिलस्मी नेता थिए, माओवादी जनयुद्धको समयमा।
२०६२–०६३ सालको दोस्रो जनआन्दोलनपश्चात् जब उनी खुला राजनीतिमा आए। सारा नेपालीले उनलाई विश्वास गरे। पहिलो संविधानसभाको चुनावमा सबैभन्दा ठूलो दल बन्यो। खुला राजनीतिमा आएका प्रचण्डले पहिलो पटक नै बाजी जिते।
२०७४ को प्रतिनिधि सभाको चुनावमा यिनको हालत बेहाल हुने थियो। उनले एकीकृत नेकपा माओेवादीलाई नेकपा एमालेसँग मिलाएर बचाए। यस मानेमा उनी अहिलेका नेताभन्दा बढी चतुर हुन्। नेकपा एमालेसँग पार्टी एकीकरण गरे। नेकपा बनाए। अहिलेको सबैभन्दा ठूलो दलको दुईमध्ये एक ठूलो नेता हुन सफल भए। समयले साथ दिएमा नेकपाको पहिलो नेता हुने हैसियत राख्छन् उनी। इतिहासको मिथक पात्र झण्डै बन्न पुगेका प्रचण्डले देशको राजनीति यिनको इसारामा चल्ने अवस्था बनाउन पुनः सफल भए।
तर के माओवादी युद्धका नाममा करिब १७ हजार नेपाली मारिनु परेको यसैको लागि थियो ? अहिलेका औँलामा गनिने समकालीन नेताहरूमध्ये प्रचण्ड देश र जनताको हितका लागि के अर्थमा फरक छन् ? पूर्वमाओवादी तथा अहिलेका नेकपावादीको उत्तर राजतन्त्रको अन्त्यका लागि भन्ने होला। बहालवाला माओवादीलाई सोध्ने हो भने क्रान्तिप्रति ठूलो धोका भयो भन्लान्। नेपाली जनतालाई सोध्ने हो भने ‘जुन जोगी आए कानै चिरेका’ भन्ने अवस्था छ।
प्रचण्डको आरोह अवरोहको रफ्तार नेपालको इतिहासमा सायद कुनै राजनेताले भोग्नु परेको होस्। यसमा पूर्व तथा वर्तमान दुवै माओवादी सहमत हुन्छन्। किन प्रचण्डको रापताप घट्दो छ। जब उनी सोह्रखुट्टे निवासबाट लाजिम्पाटमा भाडा (? !) मा लिएको दरबारमा विराजमान भए। उनको असली रूप बिस्तारै उजागर हुन थाल्यो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ मान्ने हो भने प्रचण्डले ३० अर्ब भ्रष्टाचार गरेका छन् भनेर सार्वजनिक रूपमै बोलेका थिए।
अकूत सम्पत्ति केका लागि ? नेपाली गरिब जनताका लागि पक्कै होइन। यदि हो भने देशलाई धनी बनाउनु पथ्र्याे। तर त्यसो भएन। आफ्नै परिवारका लागि हो भन्ने प्रस्ट छ। प्रचण्डमा पारिवारिक मोहको जरा निकै फस्टाएको छ। उदाहरण बग्रेल्ती छन्।
अलिक फरक प्रसङ्ग। एक जापनिज सम्राट्को दरबारमा आगो लाग्यो। आगलागी भयानक थियो। कोलाहलपूर्ण थियो, वातावरण। सम्राट् बेहोस भए। शाही परिवार हारगुहार गर्दै थिए। सयकडौँ मानिस आगो निभाउन लागिपरे। आगो काबुबाहिर भयो।
अरौटे भरौटे दरबारबाट सरसमान बाहिर निकाल्न लागे। साराका सारा अमूल्य सामान बाहिर निकाले। सम्राट्लाई जाहेर गरे। बेहोस भएका सम्राट्ले पुलुक्क आँखा उघारे। थोरै भए पनि राहत महसुस गरे। कुनै मूल्यवान् सामान छुटेको छ कि भित्र गएर हेर, सम्राट्ले आदेश दिए। जो आज्ञा महाराज भन्दै दरबारभित्र पसे। कुनै मूल्यवान् समान छुटेको देखेनन्। खुसी हुँदै एक हुल बाहिर आए। सम्राट्लाई जाहेर गरे।
सम्राट्को अनुहार के पुलकित भएको थियो। अफसोच ! एक भारदारले सानो बालकको लास दुई हातले बोक्दै बाहिर ल्याए। निस्सासिएर मरेको बालक सम्राटको एउटै छोरो थियो। सारा बचाएका धन दौलतको एकलौटी हकदार थियो, त्यो बालक। तर विधिको विडम्बना !
जनयुद्धका नाममा मारिएका नेपालीका आमाबुवाको पीडा, श्रीमान् श्रीमती वियोग पीडा अझै पनि आलै छ। परिवारका सदस्यको वियोगको पीडा सबैलै भोग्नुपर्छ। सवाल सामयिक कि असामयिक भन्ने मात्र हो। राजा हुन् या रंक। नेता हुन् या जनता। पूर्वराजा ज्ञानेन्द्र हुन् या प्रचण्ड कोही पनि अछूत रहन सकेनन्। जनुयुद्धले ल्याएको परिवारको विग्रह बिर्सेर भोगेका विछोडलाई क्षमा दिँदै यिनको परिवारमा आइपरेको विपत्तिमा सबै नेपालीले सहानुभूति पोखे।
राजनीतिक रूपमा प्रचण्ड अहिले नायकको भूमिकामा छन्। परिवारको समस्याले पनि जेलिएका छन्। परिस्थितिले साथ दिएको छैन। तथापि राजनीतिमा उनको क्रियाशीलतामा कुनै कमी आउन दिएका छैनन्। माओवादीको क्षयीकरण एमालेमा मिलेर मलमपट्टी गर्न त सफल भए। तर के पहिलेकै रापताप भएका प्रचण्ड स्थापित हुन सक्छन् ?
राजनीति हो। नहोला भन्न सकिँदैन। तर त्यति सहज पनि छैन। गिरिजा कोइरालाको उतारचढाव हेरौँ। बहुदलीय व्यवस्थाको स्थापनापछि देशको राजनीति यिनमा नै केन्द्रित थियो। यिनको कार्यकालमा भएका नातावाद, कृपावाद तथा भ्रष्टाचार जगजाहेर छ। माओवादी जनुयुद्ध फस्टाउनुमा जुन उर्वर भूमि बन्यो, नेपाल त्यसमा यिनी पनि कम दोषी थिएनन्।
तर जंगलमा रहेका प्रचण्डलाई सहरमा ल्याए। शान्ति सम्झौता गराए। विधिवत् जनयुद्धको अन्त्य गराए। संविधानसभाको चुनाव गराए। मधेसको आन्दोलनलाई मत्थर गराए। त्यसको श्रेय उनलाई नै जान्छ। मृत्युपछि यिनको साख केही मात्रामा भए पनि बिउँतियो। यो मानेमा प्रचण्ड सुध्रिएर पुनः स्थापित हुन सक्दैनन् भन्न सकिँदैन। समकालीन नेताहरूमा खराबमध्येका एउटा क्षमता भएको तर खराब छान्नुपर्ने स्थिति आएमा यिनी नै चुनिन सक्छन्।
राजनीति विकृतिले ग्रस्त छ। विकृतिको स्रोत नेता नै हुन्। राजतन्त्र फाल्यौँ। तर टोलमा सयौँ ठेउके राजा बनायौेँ। बरु एउटै राजा नै ठीक भन्ने जमात बढ्दै छ। यसका लागि अहिलेका सत्तासीन दलहरू नै दोषी छन्। बहुदलीय व्यवस्था बदनाम गर्न नेपाली कांग्रेस जति जिम्मेवार थियो। गणतन्त्र बदनाम गराउन कम्युनिस्ट सरकार त्यति नै जिम्मेवार भएको छ।
अहिले प्रचण्डसँग जनता एकोहोर्याउने राजनीतिक मुद्दा पनि छैन। नेपाली जनतालाई राजनीतिक आन्दोलनका नाममा झुक्काइएको छ। त्यो पनि एक पटक होइन, पटक पटक। नेताले पञ्चायती व्यवस्था भएन भने। जनता जागे ! आन्दोलन गरे ! ०४६ सालमा पञ्चायत फाले। प्रजातन्त्र ल्याए। नेताले प्रजातन्त्रले भएन भने। जनताले पत्याए। ०६३ मा गणतन्त्र ल्याए। यो सारा बेथिति राजतन्त्र हो भने। राजालाई लखेटे। सरकार अस्थिर भयो अनि विकास भएन भने नेताले। जनताले हो त नि भने। दुई–तिहाइको सरकार बनाइदिए। तर बेथिति सुध्रेन। झन् बढ्यो।
जनताले देशको समृद्धि चाहेका छन्। अन्याय अत्याचार तथा भ्रष्टाचारबाट मुक्ति चाहेका छन्। तर समाज यसरी हुँडलिएको छ कि जनतामा अविश्वास पैदा गरिएको छ। जातजाति तथा धर्मका नाममा मारकाट हुने अवस्था छ। आशा हैन निराशाले घर गरेको छ। गणतन्त्रले कतै देश विभाजन त हुँदैन भन्ने चिन्ताले भय गरेको छ। यो अवस्था ल्याउनुमा अहिलेका समकालीन शीर्ष नेतामध्ये प्रचण्ड नै बढी जिम्मेवार छन्।
जुन जनयुद्धका नाममा प्रचण्डले क्रान्ति गरे। असल या खराब जे भने पनि परिवर्तन भयो नै। सही के हो निर्णय भविष्यले गर्ला। तथापि प्रचण्ड एक नेता हुन्। पूर्वप्रधानमन्त्री। साथै भविष्यमा पुनः प्रधानमन्त्री बन्ने ल्याकत छ यिनमा। बृहत् शान्ति सम्झौताका एक मात्र जीवित हस्ताक्षरकर्ता प्रचण्डकै हातमा छ अहिलेको राजनीतिको बागडोर।
त्यसैले उनी र अन्य शीर्ष नेताहरूसँग आग्रह छ। समय परिवर्तनशील छ। नयाँ पुस्ताका केही युवा नेताहरू ऊर्जावान् देखिएका छन्। नयाँ पुस्ताले पुरानोलाई विस्थापित गर्छ। यो प्राकृतिक नियम पनि हो। देश बचाउने हो भने नयाँ पुस्ताले देशको बागडोर समात्नैपर्छ। अझै कालो बादलको बीचमा चाँदीको घेरा देखिँदै छ। अब ढिला गर्नुहुन्न।
अन्त्यमा,
कमरेड प्रचण्डलाई मेरो विशेष अनुरोध छ। हामी सबैको गन्तव्य एउटै हो। शाश्वत मृत्यु। मृत्युपछि पनि धन सम्पत्ति तथा शरीरका अंग दान गर्ने प्रचलन छ। प्रचण्डले आफ्नो देहावसानपछि धन सम्पत्ति तथा अङ्गदान गरून् भन्ने होइन। यसको सन्देश त्यति जोडदार नहुन पनि सक्छ। बरु उनले भनिदिऊन् कि उनको सत्गत गर्दा उनका खाली हात अर्थि बाहिर देखाइलानु। माओवादी जनयुद्धका नायक, गणतन्त्र नेपालका प्रणेता आखिर खाली हातै गए। माओवादी जनयुद्धको जुन प्रभाव पर्यो नेपाली समाजमा, यसको प्रभाव पनि त्यति नै सशक्त हुनेछ। यस सामान्य घटना एउटा गहन र उत्प्रेरक पुस्तक भएर उभिनेछ, आउने पिँढीलाई सत्मार्गमा हिँडाउन।
आलोचना र निन्दा बीचको फरक सूक्ष्म हुन्छ। आलोचनामा करुणा हुन्छ। निन्दामा घृणा र अहंकार। आलोचना सत् मार्गमा हिँडाउनका लागि हुन्छ भने निन्दा दबाउनका लागि। आलोचनामा सुध्रियोस् भन्ने हुन्छ भने निन्दामा अर्काको आत्मालाई चोट पुगोस्। पापको विरोध गर्नु आलोचना हो भने पापीको विरोध गर्नु निन्दा। यो खुलापत्र प्रचण्ड प्रवृत्तिको आलोचना हो, प्रचण्डको होइन।
प्रकाशित: ६ फाल्गुन २०७५ ०४:०८ सोमबार