८ वैशाख २०८१ शनिबार
खेल

सडन डेथबाट रूपन्देही सेमिफाइनलमा

तस्बिर : बलका लागि संघर्ष गर्दै रूपन्देही ११ र सुनसरी ११ का खेलाडी।

रुपन्देही – सुनसरी ११ लाई सडेन डेथमा  ५–४ ले निराश पार्दै  आयोजक लाली रूपन्देही ११ आइतबार बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आइतबार बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा भएको  प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि नतिजाका लागि सीधै पेनाल्टी सुटआउट गराइएको थियो। 

पेनाल्टी सुटआउटमा ३–३ को बराबरी भएपछि खेल सडन डेथमा  धकेलियो। जसमा आयोजक लाली रूपन्देही ११ भाग्यमानी बन्यो। रुपन्देहीका युवा स्ट्राइकर निशान्त ढुंगानाको प्रहारले जाली चुमेसँगै सुनसरी ११ का उमेश राईको प्रहारलाई रूपन्देहीका गोलरक्षक किशोर गिरीले बचाउ गरेपछि रूपन्देहीको जित सुनिश्चित बन्यो। 

टाइब्रेकरमा सुनसरीका रोशन भुजेल, जीवनराज धामी, क्याप्टेन तीर्थ बस्नेतले गोल गरेका थिए। रूपन्देहीका विदेशी खेलाडी रामजी, कुलदीप कार्की र विश्वास श्रेष्ठले गोल गरे। सुनसरीका मनिन्द्र याक्चाको प्रहार बाहिरियो भने दीपेन तामाङको प्रहारलाई रूपन्देहीका गोलकिपर किशोर गिरीले रोके। रूपन्देहीका अनुप गुरुङ र किशोर गिरीको प्रहारलाई सुनसरीका गोलकिपर पूर्ण चेम्जोङले रोके।  

घरेलु मैदानमा दर्शकको राम्रो समर्थन पाएको रूपन्देहीले पटकपटक अवसर गुमायो। पहिलो हाफमा पाएको दुई फ्रिकिकको सदुपयोग गर्न सकेन। रूपन्देहीका विश्वास श्रेष्ठले पटकपटक गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्। 

पाहुना टोली सुनसरी ११ ले सुरुदेखि नै रक्षात्मक खेल्यो। पहिलो हाफमा उमेश राईले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा २ मिनेट थप समय दिए पनि दुवै तर्फबाट गोल हुन सकेन। दोस्रो हाफमा पनि दुवै टोली आक्रामक बने। रूपन्देही ११ ले तीन  खेलाडी फेर्‍यो। सुनसरीले पनि तीन खेलाडी फेरेको थियो। तर दुवै टोलीले गोल गर्न सकेनन्। सुनसरीका क्याप्टेन तीर्थ बस्नेतले हानेको बल अफसाइड भयो। 

रूपन्देही ११ का विदेशी खेलाडी रामजीले म्यान अफ दी म्याच हुँदै नगद १० हजार पुरस्कार पाए। सोमबार च्यासल युथ क्लब र सिएमजी संकटा क्लबबीच खेल हुने आयोजक जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले जानकारी दिए। 

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा विजेता हुने समूहले ८ लाख ८० हजार रुपियाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यसै गरी दोस्रो हुने समूहले नगद ५ लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। १३ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसहित १० समूहको सहभागिता छ।

प्रकाशित: ६ फाल्गुन २०७५ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App