सन्दर्भः विषादी प्रयोगमुक्त सप्ताह

पाँच प्रकारका विषादी प्रतिबन्धत

सोमबार, ०६ फागुन २०७५, ०९ : ०८ मधुसुधन गुरागाईं

2372


बनेपा – सरकारले धेरै पहिलादेखि प्रयोग भइरहेको खतराजन्य मानिएका पाँच प्रकारका विषादी पञ्जीकरण (रजिस्ट्रेसन) खारेज गर्ने निर्णय गरेको छ। जसमा किट तथा ढुसीनाशक विषादीहरू छन्।

प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार लामो समयदेखि प्रयोग भइरहेका खतराजन्य विषादीहरूको दुरूपयोग रोक्न ‘जीवनाशक विषादी व्यवस्थापन समिति’को बैठकले पाँच किसिमका विषादी प्रतिबन्ध लगाउने निर्णय गरेको हो। प्रतिबन्धित गरिएका विषादीमा किटनाशकतर्फ डाइक्लोरोभस, कार्बोफ्युरान, ट्राइजोफस र कार्बारिल छन्। जसमध्ये डाइक्लोरोभसलाई किसानले ‘नुभान’ र यस्तै मिल्दोजुल्दो व्यापारिक नामले चिन्ने गरेका छन्। यस्तै ढुसीनाशकतर्फ बेनोमिल पनि प्रतिबन्धित विषादीको सूचीमा परेको छ। छिमेकी भारतको कृषि एवं किसान कल्याण मन्त्रालयले समेत कार्बोफ्युरान, कार्बारिल र बेनोमिल विषादीलाई प्रतिबन्ध लगाइसकेको छ।

‘गत पुस १६ गते बसेको समितिको २१औं बैठकको निर्णयसँगै यी पाँचवटै विषादीलाई नेपालमा आयात, निर्यात, संश्लेषण, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लागेको हो। निर्णय अगावै आयात र संश्लेषण भइसकेका सबै विषादीलाई दुई वर्षभित्रमा प्रयोग गरिसक्नुपर्ने समय सीमा(ग्रेस पिरियड) दिइएको छ’, सुवेदीले भने। सोही बैठकले प्रतिबन्ध लगाइएका विषादीहरूको पञ्जीकरण प्रमाणपत्रहरू पनि विषादी आयातकर्ताहरूबाट खिच्ने निर्णय गरेको उनले जानकारी दिए।

किटनाशकतर्फ डाइक्लोरोभस, कार्बोफ्युरान, ट्राइजोफस र कार्बारिल तथा ढुसीनाशकतर्फ बेनोमिललाई सरकारले प्रतिबन्ध लगाएको हो।


केन्द्रमातहतको विषादी व्यवस्थापन तथा पञ्जीकरण शाखामा सबैभन्दा बढी पञ्जीकरण भएको डाइक्लोरोभोसलाई आयातकर्ताहरूले ७९ वटा व्यापारिक नाममा रजिस्ट्रेसन गराएका छन्। यसलाई विश्व स्वास्थ्य संगठनले खतरनाक(आइबी) विषादीको वर्गमा राखेको छ। बाली संरक्षण अधिकृतको सिफारिसमा मात्रै बेच्नुपर्ने सर्तसहित डाइक्लोरोभोसको पञ्जीकरण भइरहेको भए पनि किरा मार्न मात्र नभई पशुवस्तुको जुम्रा मार्न र कुखुराको खोरको उपियाँ र सुलसुले मार्नसमेत प्रयोग हुने गरेको छ।

‘खतराजन्य हुँदाहुँदै पनि डाइक्लोरोभस छर्केपछि पर्खनुपर्ने अवधि(वेटिङ पिरियड) थोरै दिनको भएकाले विगतमा प्रयोगका लागि सहुलियत दिएका थियौं। त्यतिखेर अन्य विकल्प पनि थिएन, यतिखेर नयाँ तथा सुरक्षित विषादीहरू पनि आउन थालेका छन्। त्यसैले पनि यसलाई प्रतिबन्ध लगाएका हौं’, वरिष्ठ बाली संरक्षण अधिकृत सुवेदीले थपे।
शाखामा बढी पञ्जीकरण भएको अर्को किटनाशक कार्बोफ्युरान हो। ३९ वटा व्यापारिक नाममा यसको रजिस्ट्रेसन गरिएको छ। धानबालीसम्म प्रयोग हुँदा ठीकै रहेको यो विषादीलाई तरकारीमा समेत हाल्ने क्रम बढेपछि प्रतिबन्ध लगाइएको हो,’ उनले भने, ‘एकातिर तोकिएको बालीमा प्रयोग नगरी अरू बालीमा हाल्दै दुरूपयोग (मिसयुज) हुन थाल्यो। यसको सामान्य प्रयोगबाट मानिस वा पशुपंक्षी र वातावरणमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढ्दो भएकाले प्रतिबन्ध लगाइएको हो।’

यस्तै नेपालमा प्रयोगमा रहेको ट्राइजोफस विषादी धेरै पुरानो भएकाले हटाउनुपर्ने सरकारी बाध्यता थियो। यसको पनि दुरूपयोग क्रमशः बढ्दै जाँदा प्रतिबन्ध लगाइएको सुवेदीले बताए। उनले अगाडि भने, ‘ट्राइजोफसका २३वटा व्यापारिक नाममा एकल ‘फर्मुलेसन’ र ५० भन्दा बढी नाममा मिश्रित फर्मुलेसनका विषादी पञ्जीकरणमा थिए। हाललाई एकल फर्मुलेसनका विषादीलाई प्रतिबन्ध लगाइएको हो।’

किटनाशक कार्बारिलमा केही राम्रा गुणहरू रहे तापनि भारतले प्रतिबन्ध लगाउँदा यहाँ पनि लगाइएको वरिष्ठ बाली संरक्षण अधिकृत सुवेदीले सुनाए। उनले भने, ‘नेपालमा कार्बारिल एउटा मात्रै पञ्जीकरण छ। यस्तै एउटा मात्रै पञ्जीकरण रहेको ढुसीनाशक बेनोमिल पनि ‘सिस्टमेटिक’ र लामो अवधिसम्म अवशेष(रेसिड्यु) रहने भएकाले प्रतिबन्ध लगाइएको हो।’

धेरै देशमा प्रतिबन्ध लागेको किटनाशक इन्डोसल्फानलाई सरकारले २०६९ सालमा प्रतिबन्ध लगाएको थियो। नेपालले प्रतिबन्धित गरे तापनि यो विषादी दुई वर्षको ग्रेस पिरियड सकिँदासमेत नेपाली बजारमा उपलब्ध भइरहेको दृष्टान्त उनले दिए। ‘भारतसँगको खुला सीमानाका कारण त्यतिखेर ठूलो परिमाणमा इन्डोसल्फान भण्डारण नेपालका विभिन्न क्षेत्रमा भएको पाएका थियौं। यसपटक पनि भारतीय विषादीको ‘डम्प’ नेपाल होला भन्ने आशंकामा त्यहाँ लगाइएको प्रतिबन्धलाई समेत ध्यानमा राखेर निर्णय गरिएको हो,’ उनले भने।

स्टकहोम कन्भेन्सनअन्तर्गत ‘पप्स’ सहितका १२ थरीका विषादीलाई नेपालले पहिलोपल्ट २०५७ चैतमा प्रतिबन्ध लगाएको थियो। त्यसको पाँच वर्षपछि थप दुइ प्रकारका विषादीलाई प्रतिबन्ध लगाइयो। २०६९ र २०७२ सालमा एक–एक गरी नेपालमा १६ थरिका विषादीलाई यस अगावै सरकारले प्रतिबन्ध लगाइसकेको छ। यस पटकको प्रतिबन्धमा परेका विषादीहरू सन् १९६० देखि १९८० सम्मको दशकबाटै उत्पादन भइरहेका हुन्। अहिलेका पाँचवटा समेत गरी मुलुकमा कुल २१ प्रकारका विषादीमा प्रतिबन्ध लागेको छ।

विषादी व्यवस्थापन तथा पञ्जीकरण शाखाको अभिलेखअनुसार हाल २ सय १९ वटा आयातकर्ता फर्मले मुलुकमा विषादीहरू भिœयाइरहेका छन् भने पाँचवटा उद्योगले विषादी संश्लेषणको काम गरिरहेका छन्। शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा आयातित र संश्लेषित गरी १८ लाख ५८ हजार किलो विभिन्न प्रकारका विषादी मुलुकमा खपत भएका छन्। यसमा किटनाशक र ढुसीनाशक विषादीको बाहुल्य छ। विषादीकै लागि करिब ७४ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २ लाख १८ हजार किलो बढी खपत हो। यसबापत किसानले थप ५ करोड २९ लाख रुपैयाँ खर्च गरेका छन्।
विषादी प्रयोगमुक्त सप्ताह मनाइँदै

बाली संरक्षणका विज्ञहरूले पछिल्ला वर्षहरूमा जैविक एवं सुरक्षित विषादी प्रयोगका लागि जनचेतनामूलक कार्यक्रममा जोड दिइरहेका छन्। यसैअनुसार पाँच वर्षदेखि प्रत्येक वर्ष विषादी प्रयोगमुक्त सप्ताह मनाउने गरिएको छ। यसै क्रममा कृषि ज्ञान केन्द्रको सहकार्यमा प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले सोमबार काभ्रेको बनेपाबाट साताव्यापी जनचेतनामूलक कार्यक्रम सुरु गर्दैछ।

यस वर्षको नारा ‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ राखिएको छ। यही नारासहित कृषि ज्ञान केन्द्रहरूको सहकार्यमा किसान, एग्रोभेट र आम उपभोक्ताहरूमाझ जनचेतना जगाइने केन्द्रका सूचना अधिकारी एवं वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले जानकारी दिए।






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad