७ वैशाख २०८१ शुक्रबार
समाज

नक्कली सवारी दर्ता र शैक्षिक प्रमाणपत्र पेश गर्नेलाई मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भाडाका सवारी साधन दर्ता गर्दा नियम वीपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्‍याई दर्ता गरेको भन्दै मुद्दा दर्ता गरेको छ । यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखराका तत्कालीन शाखा अधिकृत तथा हाल स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकु, काठमाडौंमा कार्यरत उपसचिव बाबुराम लामिछाने र यातायात व्यवस्था कार्यालय, भरतपुरमा कार्यरत नायव सुब्बा ऋषिराम ढकालविरुद्ध मुद्दा दर्ता गराएको हो ।

विभिन्न मितिमा सवारी दर्ता गरिएका ठाउँमा पछी सरकारी कागजात सच्याई झुटो विवरण पेश गरी सवारी दर्ता गरेको देखिएपछि अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । यसैगरी, श्री प्रगति माध्यमिक विद्यालय गजेडी–२ रुपन्देहीको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लेखनाथ शर्माले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको प्रमाणित भएपछि मुद्दा दर्ता गरिएको हो । माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतको माध्यमिक तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी विद्यालय व्यवस्थापन समितिको ओहोदामा बहाल रही लाभ र सुविधा समेत लिएको देखिएको अख्तियारको आरोप छ ।
नियम र कानुन वीपरित कार्य गर्ने स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामिछाने, यातायात कार्यालय भरतपुरमा कार्यरत नासु ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्मालाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही गर्न अख्तियारले अदालतसमक्ष माग गरेको हो ।

प्रकाशित: ६ फाल्गुन २०७५ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App