७ वैशाख २०८१ शुक्रबार
राजनीति

पाठकविरुद्ध मुद्दा चलाउने अख्तियारको तयारी

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ। आयोगका आयुक्तहरूको आइतबार बसेको बोर्ड बैठकले नेपाल इन्जिनियरिङ कलेजसँग ७८ लाख घुस लिएको आरोपमा विवादमा परेका निवर्तमान आयुक्त पाठकविरुद्ध मुद्दा चलाउने तयारी गरे पनि त्यसबारे औपचारिक जानकारी दिन भने अख्तियारले आनाकानी गरेको छ। ‘अहिलेसम्म औपचारिक निर्णय भइसकेको छैन, छलफल भइरहेको छ,’ प्रवक्ता दंगालले नागरिकसँग भने। प्रवक्तासम्म औपचारिक रूपमा कुनै जानकारी प्राप्त नभएको दंगालको भनाइ छ।

भक्तपुरको चाँगुनारायणस्थित सो इन्जिनियर कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग पटक–पटक गरी ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले शुक्रबार नैतिकताका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका थिए। उक्त राजीनामा स्वीकृत भएलगत्तै कानुनबमोजिम अख्तियारले पाठकविरुद्ध मुद्दा लगाउन सक्ने कानुनी प्रावधानमा टेक्दै उक्त निर्णय लिन खोजिएको देखिएको छ। आइतबारको बैठकमा रहेका आयुक्तहरू डा. गणेशराज जोशी, डा. सावित्री गुरुङ, अख्तियारका सचिव महेश्वर न्यौपाने र वरिष्ठ कर्मचारीहरूको सहभागिता रहेको बुझिएको छ। पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको आरोपमा अख्तियारले पाठकविरुद्ध मुद्दा चलाउन सक्ने बाटो खुला भएको छ।

अख्तियार संवैधानिक आयोग भएकाले संसद्ले महाअभियोग लगाएर मात्रै हटाउन सक्ने संवैधानिक व्यवस्था रहे पनि स्वयं पाठकले राजीनामा दिएपछि कारबाही गर्ने जिम्मा अख्तियारको काँधमा पुगेको छ। ‘राजीनामा स्वीकृत भएपछि पाठकविरुद्ध अख्तियारले नै पदको दुरुपयोग गर्दै अकूत सम्पत्ति जोडेको आरोपमा मुद्दा चलाउने बाटो खुल्छ,’ वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले नागरिकसँग भने। उनका अनुसार हिरासतमा समेत लिएर पाठकविरुद्ध मुद्दा चलाउने अधिकार अख्तियारको हातमा नै छ। पाठकले राजीनामा नदिएको भए संसद्मा महाअभियोग लगाएर हटाउनुपथ्र्याे।

प्रकाशित: ६ फाल्गुन २०७५ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App