८ वैशाख २०८१ शनिबार
राजनीति

उत्तर कोरियाली प्राविधिक टोली पोखरामा

पोखरा - पर्यटकीय नगरी पोखरामा स्मार्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ उत्तर कोरियाको प्राविधिक टोली पोखरा आएको छ।

उत्तर कोरियाको इन्छन नेशनल विश्वविद्यालयका प्राध्यापक डा चोसको नेतृत्वमा आएको नौ सदस्यीय टोलीलाई पोखरामा आइतबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गरे। प्राविधिक टोलीसँगको भेटमा जिसीले पोखरालाई स्मार्ट सिटी बनाउने योजनासहित काम भइरहेको बताए। उनले पोखरालाई प्रविधिमैत्री शहर बनाउने सपना आफूहरूले देखेको र त्यसअनुरुप काम अघि बढाइएको बताए।

उत्तर कोरियासँग स्मार्ट शहरका लागि मिलेर काम गर्न तयार रहेको, स्मार्ट शहर बनाउने प्रारुप तयार गरिएको र कोरिया प्रविधिमा अगाडि बढेको देश भएकाले मिलेर काम गर्न सक्ने धेरै सम्भावना रहेको उनले स्पष्ट पारे। उनले पोखराको पर्यटन विकासको इतिहास लामो नभए पनि त्यस क्षेत्रमा काम गरेका अनुभवी व्यक्ति रहेको र पोखराको पर्यटनको गुरुयोजना बनाएर त्यहीअनुसार अघि बढ्दा नतिजामुखी हुने धारणा राखे।

“गुरुयोजना बनाएर काम गर्दा राम्रो हुन्छ, त्यसैले उत्तर कोरियासँग मिलेर काम गर्न हामी तयार छौँ,” उनले भने, “प्रविधिमा हामी कमजोर छाैं, तर हाम्रो अनुभव र कोरियाको प्रविधिसँग मिलेर काम गर्दा राम्रो हुन्छ।” महानगर उपप्रमुख गुरुङले पर्यटकीय पूर्वाधार निर्माण र प्रविधिसँग जोडेर शहर र नागरिकलाई स्मार्ट बनाउनेतर्फ महानगर लागिरहेको बताए।

उत्तर कोरियाका प्राध्यापक डा चोसले पर्यटनलाई प्रविधिसँग जोडेर अघि बढ्न तयार रहेको बताउँदै त्यसका लागि आफूहरूकोतर्फबाट सहयोग हुने बताए। सो अवसरमा पर्यटनविद् श्रीकान्त खतिवडा, पर्यटन व्यवसायी वासु त्रिपाठी, टीकाराम सापकोटालगायतले पोखरा पर्यटनको राजधानी रहेको बताउँदै उक्त ठाउँ प्राकृतिक एवं सांस्कृतिकरुपमा मात्र नभई साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्य भएको बताए।रासस 

प्रकाशित: ५ फाल्गुन २०७५ १५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App