अड्डा सरकारी, दलाल निजी

आइतबार, ०५ फागुन २०७५, १४ : ०४ किरण दहाल

293


‘दाई रि–न्यु’ गर्न आउनु भएको हो?,’ गाडिबाट ओर्लिने बित्तिकै एउटा तन्नेरी युवक हातै समाउन आइपुग्छ।

‘हो।’जवाफ दिन्छु।

उ भन्छ, ‘दाइलाई के को झण्झट। म गरिदिहाल्छु नि। एकैछिनमा हुन्छ। पैसा पनि मिलाएरै दिनु नि। दाजु भाइमा के गलफद्दी गर्नु ?’

यातायात व्यवस्था बिभाग, एकान्तकुनामा केही दिन अघि भएको संवाद हो यो। दिनभरीमा सेवाग्राही र बिचौलियाबीच यस्ता संवादहरु सयौँ हुने गर्छन् यहाँ। यातयातको कामले एकान्तकुना पुग्नेहरुलाई बिचौलियाहरुले अपहरणको शैलीमा कार्यालय भित्र पुर्याउँछन्। सेवाग्राहीमात्र हैन, अन्य कामले सडकमा हिँडेकाहरुलाई समेत दिक्कै लगाउने गरि अनेकथरि प्रश्न सोध्छन्। काम नै नभएकालाई पनि तानेर लैजान्छन्, आफ्नो कुरा भन्छन्, उनीहरुका सुन्दैनन्। 

यातायात व्यवस्था बिभाग त एउटा उदाहरण मात्र हो। काठमाडौंका अधिकांश सरकारी अड्डाको पारा लगभग उही हो। श्रम, मालपोत, नापी, कम्पनी रजिष्ट्रारको कार्यालयदेखी प्रहरी रिपोर्ट बनाउने ठाउँसम्मै यस्ता बिचौलियाहरु पाइलै पिच्छे भेटिन्छन्। काम गरिदिन्छन् र त्यस वापत मिलेसम्म धेरै पैसा लिन्छन्।

सरकारी अड्डामा बिचौलियाको बर्चस्व भएको समाचार नौलो हैन। बारम्बार सुनिएकै कुरा हो। पत्रपत्रीकाले पनि बिचौलियालाई तारो बनाएर समाचार छापिरहेकै छन्। अब त सेवाग्राहीहरु पनि पारङ्गत नै भइसके होलान्। अड्डामा बिचौलियाको हर्कत नौलो रहेन। सबैले स्वभाविक रुपमै लिन थालिसके। अस्वभाविक त त्यति बेलामात्र लाग्छ जब अधिकाशं अड्डामा प्राय १७/१८ देखी २५/२६ बर्ष वरपरसम्मका युवा पुस्ता सेवाग्राहीसँग बार्गेनिङ गरिरहेका भेटिन्छन्। स्कुल, कलेज धाउनुपर्ने उमेर समूहका मान्छे दैनिकजसो सरकारी अड्डा धाइरहेका छन्। बिहानै अड्डातिर जाने, दिनभरि दलाली गर्ने, बेलुका फर्कने। सृजनात्मक काम गर्नुपर्ने, समाजोपयोगी श्रममा ध्यान दिनुपर्ने युवा पुस्ताका झरझराउँदा तन्नेरीको ठूलो सँख्या यस्तो दलालीमा मग्न छ। 

अस्वभाविक त त्यति बेलामात्र लाग्छ जब अधिकाशं अड्डामा प्राय १७/१८ देखी २५/२६ बर्ष वरपरसम्मका युवा पुस्ता सेवाग्राहीसँग बार्गेनिङ गरिरहेका भेटिन्छन्। स्कुल, कलेज धाउनुपर्ने उमेर समूहका मान्छे दैनिकजसो सरकारी अड्डा धाइरहेका छन्।

काठमाडौंका सरकारी अड्डालाई मात्रै हेर्ने हो भने बिचौलिया युवाहरुह जारौँको सङ्ख्यामा होलान्। काठमाडौं भन्दा बाहिरको अवस्था पनि खासै फरक छैन। यति धेरै युवा अड्डा–दलाली पेसामाकीन रमाएका छन् ? सरसरर्ती हेर्दा दुई कारण सतहमा देखापर्छन्। बेरोजगारी, सरकारी अड्डाको अव्यवस्थापन र सस्तो पैसाको आकर्षण।

एक महिना अघि डिल्लीबजार मालपोत कार्यालयमा एक महिला बिचौलियाले गुनासो पोखेकी थिइन्, ‘पढे गुनेको छैन। पहिलेदेखी नै यहीकाम गरियो, अरु गर्न सिप छैन।’ यो प्रतिनिधि गुनासो हो। रोजगारीको समस्याले युवापुस्ता आक्रान्त छ। आम्दानी हुने बाटो नदेखेपछि के गर्ने ? अरुले बिचौलीया भएर गर्जो टारिरहेको देखेपछि त्यतै लाग्ने। बेरोजगार भएकै कारण उनीहरु बिहानदेखि बेलुकासम्म अड्डामा कसिमन, घुस र दलालीको मेहेरोमा फँसेका हुन्। अरु रोजगारी हुँदो हो त उनीहरु अन्यत्रै काम गरिरहेका हुन्थे र इज्जतिलो जीन्दगी जीउँथे। एकथरि युवापुस्ता रोजगारीको अभावले विदेश हिँड्छन्। अर्काथरि जनशक्ति मान्छेलाई छलेर/ढाँटेर पैसा कमाउन उद्यत छ।

काठमाडौंका अधिकांश सरकारी अड्डामा सेवाग्राही आँफै लागेर आफ्नो काम गर्छु भनेर धर पाउँदैनन्। कतिपय अड्डामा मान्छेको भीडभाड धेरै हुन्छ, आँफै कामफत्ते गराउन खोजे धेरै समय लाग्छ। अधिकांश ठाउँमा बिचौलीया मार्फत पुगेका फाईल छिटै अघि बढ्छन्, काम चाँडो हुन्छ। कारण, बिचौलीयाले पहिल्यै सेवाग्राहीबाट पैसा लिएको हुन्छ र कर्मचारीसँग सेटिङ मिलाएको हुन्छ। त्यसैकारण, बिचौलीयालाई काम सुम्पेका ग्राहकले लाईन बस्ने, किचकिच गर्ने र घन्टौँ बिताउनुपर्ने झन्झट गर्नुपर्दैन। सरकारी अड्डामा अक्सर सुनिने शब्द हो ‘फाष्ट ट्रयाक’। अर्थात,  अतिरिक्त पैसा तिरेर बिचौलीया मार्फत काम गराउने प्रक्रिया। यसरी ‘छिटो बाटो’ नअपनाए कहिल्यै काम फत्ते हुँदैन।

सरकारी अड्डामा हुने ढिला सुस्तीले पनि धेरै युवालाई बिचौलिया बनायो भन्दा धेरै फरक नपर्ला। सरकारी अड्डा व्यवस्थित हुँदो हो, सेवाग्राहीलाई सहजतापूर्वक सेवा प्रदान गर्नमा दत्तचित्त हुँदो हो त यस्ता बिचौलीया दलालहरुको काम हुने थिएन। अकर्मण्य र भ्रष्ट कर्मचारीले सेवाग्राहीलाई समयमा र सहजै सेवादिँदैनन्। बरु बिचौलीयाकै हातमा सुम्पेर आएको कमिसनको भाग खान्छन्। कडा नियमन गरेर व्यवस्थापन चुस्त बनाए लगत्तै बीचौलीया विस्थापित हुने थिए। बिचौलियाहरु नै भन्ने गर्छन्, ‘हामीले माथि चिनेका हुन्छौँ त्यही भएर छिटो काम हुन्छ।’

अर्को कारण,खासै ठूलो मिहिनेत नगरी, शारिरिक एवम् मानसिक श्रम पनि नगरी सेवाग्राहीलाई फस्ल्याङ फुस्लुङ पारेकै भरमा गर्जो टरिरहेकाले यो पेसा निरन्तर छ। विहान कार्यालय खुल्ने बेलामा पुग्यो, विभिन्न कामले आएका सेवाग्राहीलाई समायो, उनीहरुका फाइल कब्जा गर्‍यो अनि काम गरिदिने वाचा गरेर पैसा छिन्यो। यसो गर्न अलि अलिगफ गर्न जाने पुग्छ। कर्मचारीलाई कमिसन दिने आश्वासन दिए भई हाल्छ। न यति काम गर्न कुनै प्रतिभा चाहिन्छ, न यो कामले ठूलो शारिरिक वा मानसिक श्रमको माग गर्छ। खासै केही नगरी गर्जो टरिरहेकाले सरकारी अड्डामा बिचौलीयाको काम गर्ने युवाले अरु विकल्पबारे नसोचेका हुन सक्छन्।

सतहमा हेर्दा बीचौलीया नै गरेर भए पनि केही युवाले रोजगारी पाएका छन् नत्र ति सबै बेरोजगार हुन्थे र समस्या अझै ठूलो हुन्थ्यो जस्तो देखिन्छ। तर, बेरोजगारी अन्त्यका लागि सुदखोरी र बिचौलीयागिरिको भर पर्नु बेइज्जती हो। सरकारी अड्डा मार्फत काम लिन नभ्याउने मानिसका लागि इज्जतिलो एवम् नियममा बाँधिएका एजेन्सी मार्फत आउट सोर्सिङ गराउन सकिएला। वा, चुस्त व्यवस्थापन गरे यस्तो आउट सोर्सिङको समेत जरुरी नै नहोला।

सब भन्दा पहिले बिचौलीया प्रथा निर्मुल पार्न सरकारले ईच्छा शक्ति देखाउनु पर्छ। सरकारी अड्डामा बिचौलीयाको काम गरिरहेका युवालाई रोजगारी दिने योजना बनाउनु बरु श्रेयस्कर हुन्छ। त्यसो नगरे श्रम र सृजनाले समाजको प्रगतिमा योगदान दिनु पर्ने ठूलो युवा पंक्तिले दलालीमा आफ्ना ऊर्जा सिध्याउँछ भने सरकारी सेवाप्रति सामान्य नागरिकको भरोसा कहिल्यै बढ्ने छैन।  






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad