coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बार्सिलोनाको कठिन जित, एक पेनाल्टीमा गोल गर्दा अर्कोमा चुके मेस्सी

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित हात पारेको छ। जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दुरी ७ अंकमा पुर्याएको छ।

लिगको १५ औं स्थानको क्लबमाथि जित निकाल्न बार्सिलोनाका लियोनल मेस्सीले पेनाल्टीमा एक गोल गर्दा पाएको अर्को पेनाल्टीमा भने गोल गर्न चुके। निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक बनेको खेलको ४३ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए।

सर्जियो बुस्केस्टलाई भालाडोलिडका खेलाडीले डिबक्स भित्र फउल गरेपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका हुन्। यो सँगै जारी सिजनमा मेस्सीको गोल संख्या ३० पुगेको छ।

पहिलो हाफमा १–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा समेत अर्को पेनाल्टीको अवसर पाएको थियो। तर, सो पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन्। मेस्सीको पेनाल्टी भालाडोलिडका गोल किपर जोर्डी मासिपले बचाएका थिए। जितसँगै बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ।

त्यस्तै, अर्को खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई समान १–० ले नै पराजित गरेको छ। एथ्लेटिकोको जितमा खेलको ७४ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गरेको गोलनै महत्वपूर्ण ३ अंक जोड्न महत्वपूर्ण बन्यो। जितसँगै ४७ अंकका साथ एथ्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको रियल मड्रिडको ४५ अंक छ।

प्रकाशित: ५ फाल्गुन २०७५ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App