८ वैशाख २०८१ शनिबार
अर्थ

रुख काट्न वनकाे अनुमति

रसुवा - सरकारले चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण क्षेत्रमा रुख कटानका लागि स्वीकृति दिएको छ। रुखमा चिनो लगाउन थालिएको ६ महिनापछि आयोजनाले रुख कटानका लागि स्वीकृति पाएको हो। मन्त्री परिषद्बाट स्वीकृति पाएको भए पनि रुख कटानका लागि एक महिनाभन्दा बढी समय लाग्ने देखिन्छ। आयोजनाले अब वन विभागसँग सम्झौता गर्नुपर्छ। विभागसँग सम्झौता गरेपछि डिभिजन वन कार्यालयमा फाइल पेस गर्नुपर्ने आयोजनाले जनाएको छ। 

रुख कटानका लागि डिभिजन वन कार्यालयले कटान आदेश दिएपछि रुख काट्ने काम सुरु हुने आयोजना प्रमुख केदार सिलवालले बताए। प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने तीन हजार आठ सय २५ रुख काट्नुपर्ने छ। जसमा तीन हजार तीन सय १४ रसुवा र पाँच सय ११ रुख नुवाकोट जिल्लामा पर्छन्। सम्झौतापछि दुवै जिल्लाको डिभिजन वन कार्यालय, वन उपभोक्ता समिति र आयोजना मिलेर कटान हुने रुखमा टाँचा लगाउन सुरु गरिने उनको भनाइ छ। रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्रि बी हबसम्म निर्माण हुने प्रसारण लाइनमा ७९ टावर रहने छन्। 

प्रसारण लाइनको दूरी साढे २७ किलोमिटर रहेको आयोजना प्रमुख सिलवालले जानकारी दिए। गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रिबीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ।प्रसारण लाइन निर्माणका लागि चिनियाँ ठेकेदार पिंगाओ ग्रुप लिमिटेड र परामर्शदाताको रुपमा पावर ग्रिड इन्डियाले काम गरिरहेका छन्। प्रसारण लाइन २०१९ जुनसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाइ, वैदेशिक सहायता पर्खनुपर्ने लगायत कारण प्रसारण लाइन निर्माणमा केही ढिलाइ हुन पुगेको हो। 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण लगानी छ। प्रसारण लाइन निर्माणपछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युत्को विद्युत् जोडिने छ। चिलिमे त्रिशूली प्रसारण लाइनमा २१६ मेगावाटको माथिल्लो त्रिशूली एक, १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, ४२.५ मेगावाटको सान्जेन, २० मेगावाटको लाङटाङखोला, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ। यो प्रसारण लाइनमा पाँच सय मेगावाट विद्युत् जडान गर्न सकिने छ।

 

प्रकाशित: ५ फाल्गुन २०७५ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App