coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हिमपातले अन्नपूर्ण क्षेत्रको पदयात्रा अस्तव्यस्त

अन्नपूर्ण फेरो पदमार्गमा पर्ने मनाङमा जमेको हिउँ। तस्बिर : नागरिक

पोखरा - निरन्तर हिमपातले अन्नपूर्ण क्षेत्रको पदयात्रा अस्तव्यस्त बनेको छ। साहसिक पर्यटकले बढी रुचाउने अन्नपूर्ण फेरोको पदयात्रा झन्डै दुई सातादेखि अवरुद्ध छ। हिमपात जारी रहेकाले पर्यटकलाई पदयात्रामा जान रोक लगाइएको छ। 

लम्जुङबाट मनाङ हुँदै थोराङला भञ्ज्याङ (५४१६ मिटर) पार गरेर मुस्ताङको मुक्तिनाथ निस्कने फेरोको पदयात्रा पूर्णरुपमा अवरुद्ध रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। यसअघि परेको बाक्लो हिमपातले पदमार्गमा पूरै हिउँ जमेको छ। हिउँ पर्ने क्रम निरन्तर रहेकाले हिँडडुलमा निकै नै कठिन रहेको एक्यापले जनाएको छ। 
एक्यापका मनाङस्थित संरक्षण अधिकृत बाबुलाल तिरुवाले बाक्लो हिमपातले हिँडडुलमा समस्या भएर पदयात्रामा पर्यटकलाई रोक लगाएको बताए। ‘यतिबेला हिँडडुलमा निकै समस्या छ। अघिल्लो पटक परेको हिउँ अझै पग्लेको छैन। दिनहुँजसो हिमपात पनि भइरहेको छ,’ उनले भने, ‘त्यसले पर्यटकलाई हिँड्न सक्ने अवस्था छैन।’ उनका अनुसार अहिले माथिल्लो मनाङसम्म पाहुना पुगे पनि त्यसभन्दा अघि बढ्न रोक लगाइएको छ। तिलिचोताल र अन्नपूर्ण फेरो जाने पदमार्ग पूर्णरुपमा अवरुद्ध रहेको उनले बताए। 

–पर्यटक बीचबाटै फर्किए
–अन्नपूर्ण फेरो दुई सातादेखि अवरुद्ध

‘जसोतसो मनाङसम्म पाहुना गएका छन्। चामेसम्म गाडी चलेका छन्,’ उनले भने, ‘त्यसभन्दा अघि बढ्न सक्ने अवस्था छैन। माथिल्लो मनाङभन्दा अघि बढ्न हामीले नै रोकेका छौं।’ यतिबेला अफसिजन भएकाले पर्यटक निकै कम रहेको उनले बताए। उनका अनुसार अघिल्लो वर्ष यही सिजनमा हिमपात नहुँदा दैनिक २५–३० जना पर्यटक पदयात्रामा जाने गरेका थिए। यो पटक बढीमा १०–१२ जना विदेशी मात्र आएको उनले बताए। पोहोर हिमपात नहुँदा यो बेला पदमार्ग पूर्णरुपमा खुला भए पनि यो पटक भने झन्डै दुई सातादेखि अवरुद्ध रहेको तिरुवाले बताए। ‘अहिले यहाँ हिँडडुलमा निकै समस्या छ। बाहिरबाट हेर्दा हिउँमा रमाउने भनिएपछि हिउँका कारण हिँडडुल नै जोखिमपूर्ण छ,’ उनले भने। 

मनाङका प्रहरी प्रमुख डिएसपी खड्कबहादुर खत्रीले पनि झन्डै दुई सातादेखि पदमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको बताए। ‘पदमार्गमा बाक्लो हिउँ जमेको छ। त्यसले गर्दा हिँडडुल निकै नै कठिनपूर्ण छ,’ खत्रीले भने, ‘नियमित हिउँ पनि परेको छ। चरक्क घाम लागेर हिउँ पग्लेको खण्डमा एक सातामा बल्ल पदमार्ग खुल्न सक्छ। नत्र हिँडडुल कठिनपूर्ण छ।’ उनका अनुसार शनिबार पनि त्यस क्षेत्रमा हिमपात निरन्तर भइरहेको छ। ‘यतिबेला पदयात्री पनि कम छन्। हामीले ती पदयात्रीलाई मनाङबाट अगाडि बढ्न रोकेका छौं। हिमपातले जोखिम हुनसक्छ,’ उनले भने, ‘अन्नपूर्ण फेरो पूर्ण रुपमा बन्द छ। अझै केही दिन खुल्ने छाँटकाँट छैन।’ सदरमुकाम चामेबाट अघि बढ्नसमेत समस्या रहेको उनले बताए। उनका अनुसार पछिल्लो दुई साता यता कोही पनि विदेशी पदयात्रीले थोराङला भञ्ज्याङ पार गरेका छैनन्। शनिबार गएको विदेशीको समूह पनि पिसाङबाट फर्केको उनले बताए। 

खत्रीका अनुसार हिमपातका कारण मनाङकै सबैभन्दा दुर्गममा पर्ने नार र फू को बाटो पनि अवरुद्ध छ। त्यसले त्यहाँका बासिन्दालाई आउजाउमा समेत समस्या परेको उनले बताए। खत्रीका अनुसार नार र फू जाने बाटोमा पाँच–सात फिट बाक्लो हिउँ थुप्रिएको छ। ‘धेरै दिनपछि शुक्रबार तीनजना गाउँले नारबाट सदरमुकाम झरेका थिए। बाटो निकै अप्ठेरो र चिप्लो रहेको जानकारी दिएका थिए,’ उनले भने। उनका अनुसार यो पटकको मनाङको हिमपात १५–१६ वर्षपछिको भिषण हो।  

फेरो मात्र नभई अन्नपूर्ण आधारशिविर (एबिसी)को पदमार्ग पनि सहज छैन। आधारशिविरमा पर्यटक फाट्टफुट्ट पुगे पनि आउजाउ सहज नभएको एक्याप छोमरोङ चेकपोस्टका प्रमुख नेत्र शर्माले बताए। उनका अनुसार बाक्लो हिमपातले गर्दा अघिल्लो साता दुई दिनसम्म आधारशिविरको बाटो पूर्ण रुपमा अवरुद्ध थियो। ‘यतिबेला पदमार्ग त खुला छ। तर, आउजाउ सहज छैन,’ उनले भने, ‘पदमार्गको देउरालीबाट माथि जान समस्या छ। हिउँ नपरेको खण्डमा बिहानै अप्ठेरो खण्ड पार गर्नुपर्छ।’ उनका अनुसार घाम लागेको अवस्थामा दिउँसोमा हिमपहिरो झर्ने जोखिम भएकोले बिहानै पार गर्नुपर्ने हुन्छ। 

शर्माका अनुसार माछापुच्छ्रे आधारशिविर (एमबिसी)बाट एबिसीसम्म पुग्न नसकेर विदेशी पर्यटकको समूह शुक्रबार फिर्ता भएको थियो। ‘पदमार्ग पूर्ण रुपमा अवरुद्ध छैन। तर, हिँडडुलमा सचेतना अपनाउनु पर्छ। भीरको मुनिबाट हिडडुल गर्दा जोखिम रहेकोले सचेत हुन भनेका छौ,’ शर्माले भने, ‘बाटोमा बरफ जमेकोले हिँडडुल गर्न सहज छैन।’ उनका अनुसार एक्लै पदयात्रामा आएका पर्यटकलाई अन्य समूहमा मिसिएर हिँड्न लगाइएको छ। शर्माका अनुुसार एबिसी पदमार्गको देउरालीबाट एकदिनमा आधारशिविर पुगिन्छ। तर त्यही देउरालीबाट अगाडि बढ्न सबैभन्दा बढी त्रास छ। ‘सबैभन्दा डर हिमपहिरो झर्ने छ,’ उनले भने, ‘घाम लाग्दा झनै त्रास छ। बाक्लो हिमपात हुँदा भार थेग्न नसकेर कुनै पनि ठाउँमा हिमपहिरो झर्न सक्छ।’ शर्माका अनुसार यतिबेला दैनिक २५–३० जनाको दरले विदेशी पर्यटक आधारशिविरको पदयात्रामा छन्। 

आधारशिविरमा रहेको अन्नपूर्ण सेन्चुरी होटलका जुलाल गुरुङका अनुसार दुईसातादेखि आधारशिविरमा दिनहुँजसो हिमपात भइरहेको छ। ‘दैनिक ६–७ जना पर्यटक आएका छन्। तर हिँडडुल कठिनपूर्ण छ,’ गुरुङले भने, ‘बढो होसियारका साथ पदयात्रामा हिँड्नुपर्ने अवस्था छ।’ आधारशिविरमा चारवटा होटल छन्। पाहुना कम भए पनि ती सबै होटल यतिबेला खुला छन्। पदयात्रा व्यावसायीले पनि यतिबेला पदयात्रामार्गमा हिउँका कारण आउजाउ अप्ठेरो रहेको बताए। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पश्चिमाञ्चल क्षेत्रीय उपाध्यक्ष धर्मराज पन्थीले पदयात्रा मार्गमा यो पटक हिमपातको अप्ठेरो रहेको बताए। उनका अनुसार नजिकका गन्तव्य घोरेपानी, टाढापानीसम्मका जान हिडेका पदयात्री पनि हिमपातका कारण गन्तव्यमा पुग्न सकेका छैनन्। ‘नजिकका गन्तव्यमा पनि यतिबेला आउजाउ सहजपूर्ण छैन,’ उनले भने, ‘यो पटक अधिक हिँउ परेकोले पदमार्ग अवरुद्ध छन्।’ घाम लागेर हिउँ नपग्नेसम्म पदमार्ग खुल्ने सम्भावना नरहेको उनले बताए। 

प्रकाशित: ५ फाल्गुन २०७५ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App