coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतमा जग्गा अधिग्रहण

भन्सार जाँचपासका लागि लामबद्ध मालबाहक सवारीसाधन।  तस्बिर : महमद/नागरिक

भैरहवा - भैरहवा भन्सारमा एकीकृत भन्सार जाँच चौकी (इन्टिग्रेटेड चेक पोस्ट–आइसिपी) बनाउने काम अघि बढेको छ। नेपाल र भारत सरकारबीच १४ वर्षअघि भएको सीमा नाकामा आइसिपी निर्माण गर्ने सम्झौता अनुसार भारतले जग्गा अधिग्रहण गर्न थालेको हो। नेपाल र भारत सरकारबीच एकद्वार प्रणालीबाट आयात–निर्यात व्यापार सहजीकरण गर्ने उद्देश्यअनुरूप सन् २००५ मा विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकामा भारतीय आर्थिक र प्राविधिक सहयोगमा आइसिपी निर्माण सम्झौता भएको थियो। 

सोही सहमतिअनुसार नेपालले आफ्नो नाकातर्फ नौ वर्षअघि ५२ बिघा जग्गा अधिग्रहण गरे पनि भारतले अधिग्रहण नगर्दा आइसिपी निर्माण पर सरिरहेको थियो। भारतले अहिले जग्गा अधिग्रहण गरेकाले आइसिपी बन्नेमा आस पलाएको छ। एकैपटकमा दुवै देशबीच चारवटै नाकामा आइसिपी निर्माण गर्ने सम्झौता भए पनि वीरगन्जमा मात्र आइसिपी सञ्चालनमा आएको छ। विराटनगरमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। तेस्रो चरणमा भारत सरकारले भैरहवा भन्सारलाई प्राथमिकतामा राखी काम सुरु गर्न लागेको छ।

सीमा नाका सुनौलीमा आइसिपी निर्माणको लागि करिब ४६ हेक्टर जग्गा अधिग्रहण गरिएको सुनौली नगरपञ्चायत अध्यक्ष प्रतिनिधि सुधिर त्रिपाठीले जानकारी दिए। उनका अनुसार आइसिपी निर्माण हुने क्षेत्रमा परेका एक सय ४४ जग्गाधनीमध्ये एक सय १७ ले अधिग्रहण सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन्, जसमा जग्गाधनिले एक करोड १६ लाख प्रतिएकड भारुको दरले मुआब्जा पाउने छन्। 

भारत सरकारले आइसिपीका लागि अधिग्रहण गरेको क्षेत्र जुगौली, सुकरौली, अराजी केवटलिया गाउँमा पर्ने जग्गाबाहेकका अन्य संरचना, रुख बिरुवा तथा अन्य भौतिक वस्तुको सरकारले सम्झौता गरी थप रकम उपलब्ध गराउने छ। जग्गाको मुआब्जाको लागि पाँच सदस्यीय समिति गठन भएको छ। यही महिनाभित्र मुआब्जा वितरण गरी आइसिपी शिलान्यास गर्ने कार्यक्रम तय भएको नगरपञ्चायत अध्यक्ष त्रिपाठीले बताए।

निर्माण हुन लागेको आइसिपीमा भारततर्फबाट सीमा सुरक्षा बल एसएसबी, नेपालका तर्फबाट सशस्त्र बलले सुरक्षा प्रदान गर्नेछन्। दुवै देशको भन्सार, अध्यागमन र क्वारेन्टाइन कार्यालय, दुईवटा पेट्रोल पम्प, चमेनागृह, बैंक एटिएम, पर्किङ, कार्गो भवन, प्रतीक्षालय, आयात÷निर्यात गोदाम, विदेशी विनिमय ब्युरो लगायत संरचना बन्ने ट्रान्स नेपाल बेलहियाका प्रमुख रवि पारिखले बताए। ‘आइसिपी संरचनामा अत्याधुनिक स्क्यानर मेसिनसमेत जडान हुने भएकाले भन्सारमा हुने राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ भने सीमामा हुने जामको समस्यालाई पनि समाधान हुन्छ,’ उनले भने।

भैरहवा भन्सार र भारतीय सुनौली भन्सार कार्यालयबीच भएको छलफलमा भारतीय पक्षले आइसिपीका लागि आवश्यक जग्गा अधिग्रहण गरिएको भन्दै मौखिक जानकारी गराएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिए।

‘आइसिपी निर्माणका विषयमा दुवै देशबीच केन्द्रस्तरीय संवाद हुने हुँदा हामीलाई भारतबाट पत्रसहितको जानकारी आउँदैन तर जग्गा अधिग्रहण गरिएको विषयमा उनीहरुले हामीलाई मौखिक जानकारी गराएका छन्,’ उनले भने।आइसिपी निर्माणले भन्सारसँग सम्बन्धित सबै निकायहरु एउटै छानामुनि हुने हुँदा निकासी र पैठारी दुवैमा सहज हुने विश्वास लिइएको छ। साथै व्यापारिक लागतसमेत घट्ने, मालबाहक गाडी लामो जाममा बस्न नपर्ने, हालभन्दा छिटो र सहज रुपमा सेवा प्रदान गर्न सकिने लगायत अन्य काममा पनि सहज हुने भैरहवा भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०७५ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App