६ वैशाख २०८१ बिहीबार
समाज

विद्यार्थी पढाउँदै प्रहरी

इलाम जिल्ला प्रहरी कार्यालयमा ‘प्रहरीसँग एक दिन’ अभियानअन्तर्गत सदरमुकामको मोडर्न क्याम्पसका विद्यार्थीसँग छलफल गर्दै एसपी माधवप्रसाद श्रेष्ठ।तस्बिर/नागरिक

इलाम - सधैं झोलामा किताब–कापी बोकेर क्याम्पस जाने विद्यार्थीको हुल शुक्रबार जिल्ला प्रहरी कार्यालयतिर मोडियो। विद्यार्थीमात्र होइन, शिक्षकहरूसमेत प्रहरी कार्यालयको आँगनमा भेला भए। प्रहरी कार्यालयको गेट पार गर्दैगर्दा ‘प्रहरी’ शब्दले बाल्यकालदेखि नै आफूभित्र ल्याउने अस्वाभाविक अवस्थाको तरंग कतिपय विद्यार्थीको अनुहारमा लुक्न सकेको थिएन।

विद्यार्थी र शिक्षकको यो हुल कुनै घटनामा न्याय खोज्दै प्रहरी कार्यालय पुगेको थिएन। न त उनीहरू प्रहरी नियन्त्रणमा परेर वा हुलहुज्जत गरेरै त्यहाँ पुगेका थिए। प्रहरीले नागरिकलाई दिने सेवाबारे बुझ्न र आफू चेतनशील भएर समाजमा अरूलाई समेत सचेत गराउने उद्देश्यले त्यहाँ पुगेका थिए, सदरमुकामस्थित मोडर्न क्याम्पसका विद्यार्थी–शिक्षक, त्यो पनि प्रहरीकै निम्तोमा।

‘प्रहरी’ शब्द सुन्नेबित्तिकै धेरैलाई अप्रिय घटनासँग सम्बन्धित व्यक्तिको झल्को आउँछ। र, प्रहरीको नाम सुन्दा लडाइँ, झैझगडा, पक्राउ, मुद्दा, छलफल, मिलापत्रजस्ता घटना र अवस्था कतिपयका आँखामा झल्झल्ती नाच्न थाल्छन्। घरमा आफ्ना बालबालिका अभिभावकको नियन्त्रण बाहिर जान खोजे अभिभावकले पनि उही ‘पुलिस’को डर देखाउने गर्छन्– पुलिसलाई भन्दिऊँ, पुलिस बोलाइदिऊँ ?’ अभिभावकको यही भनाइले बालबालिकामा प्रहरी भनेको कसैलाई समात्ने, कुटपिट गर्ने, डर देखाउने व्यक्ति हो भन्ने भान पर्छ। र, वयस्क–वृद्ध हुँदासम्म पनि प्रहरीप्रतिको यो धारणा मेटिइसकेको हुँदैन।

प्रहरीको जिम्मेवारी अपराधी नियन्त्रण, घटना अनुसन्धान र शान्ति–सुव्यवस्था कायमजस्ता क्षेत्रमा मात्रै सीमित छैन भन्ने छर्लंग नहुँदा प्रहरी, समाजभन्दा परको जस्तो ठान्ने धेरै भेटिन्छन्। घरेलु हिंसा, लागुऔषध दुव्यर्सनविरुद्ध सचेतना, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायतबारे सर्वसाधारणलाई चेतनशील बनाउने जिम्मेवारी पनि प्रहरीले लिएको हुन्छ। ठूला सहरमा बाटो अलमलिएर अभर परे नजिकैको प्रहरीले आफूलाई सबैभन्दा भरपर्दो सहयोग गर्न सक्छन् भन्नेसम्म पनि हेक्का नराख्दा दुःख पाउने धेरै छन्।

प्रहरी–नागरिकबीच दूरी घटाउँदै ‘प्रहरी हाम्रै लागि स्थापित निकाय हो’ भन्ने विश्वास दिलाउन विद्यार्थीबीच ‘प्रहरीसँग एक दिन’ अभियान सञ्चालन गरिएको हो। यसबाट विद्यार्थीमा प्रहरीको भूमिका, कानुन, सामाजिक कर्तव्य र जिम्मेवारीको सञ्चार गर्न सके अपराध नै घटेर जाने प्रहरीको विश्वास छ।

यही आवश्यकतालाई महत्वपूर्ण ठानेको प्रहरीले अहिले नागरिक–प्रहरीको दूरी घटाएर आफूप्रतिको बुझाइ अझ प्रस्ट्याउने प्रयास गर्दैछ। जिल्ला प्रहरीले प्रत्येक साता कुनै न कुनै विद्यालयका विद्यार्थीका लागि प्रहरी के हो, प्रहरीले दिने सेवा कस्तो हो, प्रहरीबाट कसरी सहयोग लिन सकिन्छ भन्नेजस्ता विषयमा कक्षा सञ्चालन गर्ने गरेको छ। ‘मलाई पनि बाल्यकालदेखि नै पुलिस भनेको डरलाग्दो व्यक्ति हो भनेर डर देखाइन्थ्यो,’ जिल्ला प्रहरी प्रमुख एसपी माधव श्रेष्ठ भन्छन्,‘सर्वसाधारण धेरैमा प्रहरीप्रतिको बुझाइ यस्तै हुन सक्ने भएकाले विद्यार्थीमार्फत् समाजमा चेतना फैलाउने अभियान ल्याएका छौं।’

प्रहरी–नागरिकबीच दूरी घटाउँदै ‘प्रहरी हाम्रै लागि स्थापित निकाय हो’ भन्ने विश्वास दिलाउन ‘प्रहरीसँग एक दिन’ अभियान लिएर विद्यार्थीसम्म पुग्ने प्रहरीको लक्ष्य छ। त्यतिमात्र होइन, विद्यार्थीमा प्रहरीको भूमिका, कानुन, सामाजिक कर्तव्य र जिम्मेवारीको सञ्चार गर्न सके अपराध नै घटेर जाने विश्वास पनि प्रहरीको छ। ‘अहिले देशमा जति पनि आपराधिक घटना भइरहेका छन्, त्यसमा संलग्न गराइएका नाबालिगको संख्या ६८ प्रतिशत र १६ देखि २५ वर्षका युवाको संख्या ६४ प्रतिशत देखिन्छ,’ एसपी श्रेष्ठले भने, ‘बाल्यकालदेखि नै कानुन, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य सिकाउन सके बालबालिका सचेत बन्छन्, युवा र बालबालिका सचेत हुनु भनेको आपराधिक कार्य धेरै हदसम्म घटेर जानु हो।’

युवा र बालबालिका आपराधिक क्रियाकलापमा संलग्नताका हिसाबले जोखिममा परेको वर्ग भएकाले प्रहरीले चेतनामूलक कार्यक्रमलाई क्याम्पस र विद्यालयहरूप्रति केन्द्रित गरेको हो। पहिलो चरणमा सदरमुकामका विद्यालय र क्याम्पसका विद्यार्थीलाई प्रत्येक साता पालैपालो प्रहरी कार्यालयमा बोलाउने एसपी श्रेष्ठले जानकारी दिए। ‘विद्यार्थीलाई प्रहरी कार्यालयको कुन शाखा कहाँ छ, त्यसबाट के सेवा पाइन्छ, सेवा पाउने प्रक्रिया कस्तो छ भन्नेजस्ता विषयमा जानकारी दिन सम्बन्धित फाँटकै भ्रमण गराउँदैछौं,’ उनले भने, ‘प्रहरी एकाइभन्दा भौगोलिक हिसाबले टाढा रहेका बेला आफूलाई कुनै समस्या आइलागे कसरी प्रहरीको सहयोग लिन सकिन्छ भन्ने विषयमा पनि सिकाउँदैछौं।’

इलाका प्रहरी कार्यालय रहेका पशुपतिनगर, फिक्कल, मंगलबारेलगायतका ठाउँमा पनि यो कार्यक्रम पुर्‍याउने लक्ष्य प्रहरीले लिएको छ। एसपी श्रेष्ठले बालबालिकालाई कसैले आपराधिक घटनामा प्रयोग गर्नसक्ने, पीडित बनाउनसक्नेजस्ता विषयमा पनि सचेत गराइरहेको जानकारी दिए। ‘बालबालिका र युवा कहिले जानेर अनि कहिले नजानेर अपराधमा प्रयोग भइरहेका छन्,’ उनले भने, ‘समाजमा कस्ता काम गर्नुपर्छ, कस्ता कामलाई कानुनले अपराध मानेको छ भन्नेबारे पनि विद्यार्थीलाई सिकाउँदैछौं।’

प्रहरीसँगको भलाकुसारीले विद्यार्थीमा प्रहरीप्रतिको गलत धारणा परिवर्तन गर्न सहयोग गरिरहेको एसपी श्रेष्ठले बताए। ‘विद्यार्थीमार्फत् आम नागरिकमा प्रहरी हामै्र सेवाका लागि हो भन्ने भावना विकास गराउने मुख्य लक्ष्य छ,’ उनले भने, ‘यसले प्रहरी–सर्वसाधारणको दूरी घटाएर आपसी सम्बन्ध कायम गर्न सहयोग पुग्छ।’विद्यार्थीले पनि प्रहरीसँग एक दिन अन्तरक्रिया गर्न पाउँदा धेरै नयाँ विषयबारे जानकारी पाएको बताए। ‘प्रहरीले कसरी नागरिकलाई सेवा दिन्छ, प्रहरी र सर्वसाधारणको सम्बन्ध कस्तो हो भन्नेजस्ता धेरै विषयमा जानकारी पाइयो,’ मोडर्न क्याम्पसका एक विद्यार्थीले सुनाए, ‘प्रहरी भन्नेबित्तिकै डराउने, प्रहरीलाई समाज र समुदायभन्दा परको सम्झनेका लागि प्रहरीको यो अभियान निकै फलदायी हुने रहेछ।’

प्रकाशित: ५ फाल्गुन २०७५ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App