coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शेर्पा समुदाय ‘साहस’को पर्याय : राष्ट्रपति भण्डारी

मेची–काली विश्व अभियान शुभारम्भ कार्यक्रममा सहभागी बन्दै राष्ट्रपति भण्डारी। तस्बिर : शिखरजंग/नागरिक

सोलुखुम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदाय ‘साहस’को पर्याय भएको बताएकी छन्। सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत महोत्सवका अवसरमा ‘मेची–काली विश्व अभियानको शुभारम्भ गर्दै उनले नेपाललाई विश्वमाझ परिचित गराउन शेर्पा समुदायले दिएको योगदानको प्रशंसा गर्दै पर्यटकीय शिक्षा प्रवद्र्धन आजको आवश्यक रहेको बताइन्।

गरिब विद्यार्थीलाई व्यावसायिक शिक्षाको पहुँचमा समावेश गर्ने ध्येयले क्याम्पसद्वारा सुरु गरिएको विश्व अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरिन्। हिमाली सांस्कृतिक विविधता नै अमूल्य निधि भएकाले जगेर्ना आवश्यक रहेको उनको भनाइ थियो। कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शैक्षिक गुणस्तर वृद्धिका लागि प्रदेश सरकारले पनि योजना बनाएकाले क्याम्पसको मेची–काली विश्व अभियानले समृद्ध नेपालका लागि सहायकसिद्ध हुने बताए। उनले शैक्षिक अभियानमा प्रदेश सरकार पनि एक हिस्सा बन्ने बताए।
संघीय सांसद हेमकुमार राईले अभियान सफल पार्न आवश्यक पहल गर्ने बताए। उनले अभियानले जिल्ला र मुलुककै शिर उच्च राख्ने विश्वास व्यक्त गरे। शुभारम्भ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले आवश्यक पूर्वाधार तयार भए ट्राभल, टुरिजम र माउन्टेनरिङ कोर्समा अध्यापन अनुमति दिन समस्या नभएको बताए। हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अभियान सफल पार्न आफूहरु स्वपरिचालित हुने बताए। कार्यक्रममा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत, जिल्ला समन्वय समितिका संयोजक वीरकुमार राईलगायत स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति थियो।

डेढ करोड संकलन
क्याम्पसले थालेको मेची–काली विश्व अभियानको पहिलो दिनमै करिब डेढ करोड रुपैयाँ संकलन भएको छ। सबैभन्दा बढी सोलु दूधकुण्ड नगरपालिकाले एक करोड रुपैयाँ क्याम्पसको अक्षयकोषमा जम्मा गर्ने भएको छ। मेयर नाम्गेलजाङ्बु शेर्पाले सहयोग रकम घोषणा गर्दै नमुना क्याम्पसका रूपमा अघि बढाउन नगरपालिकाले उक्त रकम सहयोग गर्ने बताए। उनले व्यक्तिगत रूपमा एक लाख १५ हजार रकम सहयोगको घोषणासमेत गरे।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कांग्रेस नेता प्रकाशसिंह कार्कीले १० लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग घोषणा गरेका छन्। शुभारम्भ कार्यक्रममा एभरेस्ट हार्डवयरका सञ्चालक तथा समाजसेवी आङसोनाम शेर्पाले पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका छन्। हिमाल एफएम, ह्वाइट हिल्स बोर्डिङ स्कुल, लोरेन नेपाल, द स्माल वल्र्ड, क्याम्पस सञ्चालक समितिका सदस्यहरूलगायत सरोकारवालाबाट करिब डेढ करोड सहयोग संकलन भएको क्याम्पस प्रमुख उद्धवकुमार शर्माले जानकारी दिए।

के हो मेची–काली विश्व अभियान ?
अभियानअन्तर्गत एक अर्ब सहयोग संकलन गरी अक्षयकोष स्थापना गरिनेछ। अक्षयकोषबाट आउने ब्याजबापतको रकमले इन्जिनियरिङ, मेडिकल साइन्स, कृषि, वन, होटल म्यानेजमेन्ट, पत्रकारिता र स्नातक र स्नाकोत्तर तहमा ट्राभल, टुरिजम र माउन्टेनिरिङ कोर्स अध्ययापन गराउने लक्ष्य राखिएको छ।

पाँच वर्षभित्र पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरू र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकहरूलाई अभियानमा सहभागी गराई गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने उद्देश्यसमेत राखिएको छ। पाँच सय क्षमताको सुविधासम्पन्न छात्रवास र क्यान्टिन निर्माण गरी हरेक वर्ष ७७ जिल्लाका गरिब तथा जेहेनदार एक छात्र, एक छात्रा, २५ राष्ट्रका एकएक जना र पिछडिएका तथा सीमान्तकृत १३ जना गरी निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ। एक अर्बको अक्षयकोष स्थापना गरेपछि कोषबाट प्राप्त ब्याज रकमले कार्यक्रम निरन्तर चल्ने विश्वास राखिएको छ।

अभियानका उद्देश्यहरूमा विद्युतीय पुस्तकालय निर्माण, प्रोफेसर क्वार्टर, कम्तीमा दुई सय रोपनी जग्गा खरिद, क्याम्पस कम्पाउन्ड, खेलमैदान निर्माण गर्ने रहेका छन्। पाँच वर्षे अवधिको अभियानमा स्वयंसेवकलाई देश तथा विदेशमा परिचालन गर्ने तयारी क्याम्पस गरेको छ।

प्रकाशित: ५ फाल्गुन २०७५ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App