coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धान नफलेपछि क्षतिपूर्ति माग

मलेखु (धादिङ)– जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन्।

जिल्ला कृषि विकास कार्यालय मार्फत कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले क्षतिपूर्ति माग गरेका हुन्। गत आवमा कृषकलाई ५० प्रतिशत अनुदानमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाराले उत्पादन गरेको हर्दिनाथ १ नामक धानको बीउ जिल्ला कृषि विकास कार्यालयले १८ क्विन्टलभन्दा बढी वितरण गरेको थियो । नीलकण्ठ नगरपालिका तथा त्रिपुरेश्वर र सलाङ गाविसका कृषकले लगेको सो धान नफलेपछि उनीहरु आन्दोलित भएको राष्ट्रिय कृषक महासङ्घका उपाध्यक्ष भक्तबहादुर बस्नेतले बताए।

सो धान सामान्य तवरले फलेमा पनि १११ मेट्रिक टन उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख दुर्गादत्त पन्थीले अनुसन्धान केन्द्रले नै उपलब्ध गराएको बीउमा आफूहरुले केही भन्न नसक्ने बताउँदै गत वर्षमा यस्तो समस्या नआएको तर यस वर्ष कृषकलाई समस्या परेकाले सरकारबाट नै कुनै सहयोग उपलब्ध गराउन आफू सकारात्मक रहेको बताए।

ज्ञापनपत्रमा यस वर्ष पीडित कृषकलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने, नोक्सानीको मूल्याङ्कन गर्दा कृषकको प्रतिनिधि राख्नुपर्ने, आगामी वर्षदेखि बीउ उत्पादकले नै बाली उत्पादन नभए क्षतिपूर्ति दिनुपर्ने लगायत माग उल्लेख छ। ज्ञापनपत्रमा विभिन्न कृषक सङ्गठन र अधिकारकर्मीले हस्ताक्षर गरेका छन्। रासस

प्रकाशित: २० आश्विन २०७३ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App