७ वैशाख २०८१ शुक्रबार
समाज

एक महिनादेखि नाग्म गमगढी सडक अवरुद्ध, आवत जावतमा समस्या

सडक अवरुद्ध हुँदा सदरमुकाम गमगढीमा रोकिएका यात्रुबाहक सवारी साधनहरू । तस्बिर : सुमन/नागरिक

मुगु – गएको पौष अन्तिम साताबाट लगातार भइरहेको हिमपात र वर्षाका कारण नाग्म–गमगढी सडक अवरुद्ध हुँदा मुगुदेखि सुर्खेत नेपालगञ्जका लागि आवत जावत गर्न समस्या भएको छ। लगातारको हिमपात र वर्षाका कारण सिंजा गोठिज्युला, भुलभुले, घुच्ची लेकमा भारी हिमपात भएपछि सडक अवरुद्ध भएको हो।

नाग्म गमगढी सडक अवरुद्ध भएपछि लामो समयदेखि मालबाहक सवारी साधान नचल्दा सदरमुकाम गमगढीमा दैनिक उपभोग्य वस्तु अभाव हुन सक्ने भएकाले छिटो भन्दा छिटो सडक खुलाउन लागि परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

एक महिनाको अवधिमा तीन पटकसम्म डोजर लगाएर हिउँ फालिएको तर लगत्तै पुनःहिमपात भएपछि सडक सुचारु हुन नसकेको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी प्रदिपराज पौडेलले जानकारी दिए। गएको बुधबार पनि सडक डिभिजन कार्यालयबाट आएको डोजर जुम्लाको भुलभुले लेकसम्म पुगेको तथा गमगढीबाट पनि डोजर लगाइएपनि बिहीबार रातीबाट मौसमको प्रतिकूलता पछि सुरु भएको हिमपातले सडक खुलाउने कार्यमा अवरोध सिर्जना भएको पौडेलले बताए।

लामो समयदेखि सडक अवरुद्ध हुँदा बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन सक्ने तर्फ सचेत रहँदै सडक खुलाउने विषयमा जिल्ला प्रशासन कार्यालय गम्भीर भएर लागेको उनले बताए। यता हिमपातका कारण लामो समयदेखि सडक अवरुद्ध हुँदा सवारी साधन र मालबाहक साधन बीच बाटोमा नै रोकिदा व्यापारीले मुगुका लागि लोड गरेका मालबाहक गाडीहरू बीच बाटोमा नै रोकिएको बताएका छन्।

फलामे छड, जस्तापाता, सिमेन्ट लगायतका निर्माण सामाग्री बोकेर आएका तीनवटा मालबाहक गाडी हिमपातका कारण बीच बाटोमा नै रोकिएपछि आफू निकै समस्यामा परेको गमगढीस्थित बिआर सप्लायर्सका प्रोपराइटर रामभक्त रोकायाले जानकारी दिए। ग्राहकहरूको अडर अनुसार निर्माण सामाग्री हालेर गाडी नेपालगञ्जबाट एक महिना अघि हिडेपनि हिमपातका कारण बीच बाटोमा नै रोकिदा समस्या भोग्नु परेको उनले बताए।

प्रकाशित: ४ फाल्गुन २०७५ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App