७ वैशाख २०८१ शुक्रबार
विचार

त्याे जंग–जिब्रो अनि याे पुष्पकमल–जिब्रो

महाकालीले लामो जिब्रो निकालेको मूर्ति नेपाल तथा भारतका देवस्थलहरूमा देख्न पाइन्छ।  भक्तपुरको बोडेमा इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा हुन्छ।  त्यसको पनि रोचक कथा छ।  बोडे गाउँमा हजाराैँ वर्ष पहिले राक्षसले सताएपछि किसानहरूले राक्षसलाई पक्रिएर जिब्रो छेडिदिएछन्।  गलत काम–कुरा गरेर समाज भाँड्ने र दुनियाँलाई दुःख दिनेहरूको जिब्रो सुरक्षित राख्नै हुँदैन भन्ने कुरा हाम्रा पुर्खाले बुझेका रहेछन्।  ‘नचाहिँदो बोलिस् भने तेरो जिब्रो थुतिदिन्छु” भन्ने चलन अहिले पनि छ। 

अंग्रेजीमा उखान छ “लुज लिप्स सिङ्क सिप्स” (फतफताइरहनेले जहाज डुबाउँछ। ) रसियामा यस्तै उखान छ, “बुद्धिमान्को जिब्रो छोटो हुन्छ तर कान लामा र आँखा ठूला हुन्छन्। ” अर्थ स्पष्ट छ, बुद्धिमान्हरू धेरै बोल्दैनन्।  विचार गरेर मात्र बोल्छन्। मेडिकल साइन्सले जिब्रोलाई ‘मस्कुलर अग्र्यान’ मान्छ।  जिब्रोमा चारवटा अन्तस्थ र चारवटा बाह्यस्थ पेशी छन्।  प्राच्य (पूर्वी) दर्शनमा जिब्रो ‘बायोलोजी’ अध्ययनको सीमित घेरामा मात्र अटाउँदैन।  ‘वसुधैव कुटुम्बकम्’ (विश्वका सबै मानिस आफ्नै हुन्) भन्ने अर्थमा लिन्छ हाम्रो विवेकले।  विद्वान्–विदुषी, ऋषि महर्षि र ज्ञानीजनले कैँयन् शास्त्र कण्ठस्थ पारेर जिब्रोले फड्कारे।  त्यसैले जिब्रो पवित्र हुनुपर्छ।  मन, वचन र कर्म बोल्छ जिब्रोेमा।  दुनियाँ बदल्न सक्छ, जिब्रोले।  श्रुति परम्पराले टिकेको पाच्य सभ्यतामा जिब्रो मिसाइल भन्दा शक्तिशाली मानिन्छ।  त्यसैले, उहिलेदेखि बूढापाकाले भन्थे, ‘बोल्न पाएँ भनेर प्याच्च नबोल्नू, बस्न पाएँ भनेर (जहाँ पायो त्यहीँ) थ्याच्च नबस्नू। ’

हाडबेगरको जिब्रो कहिलेकाहीँ लट्पटिन्छ भन्छन्।  एकपल्ट राजसभामा सम्राट् अकबरले प्रधानमन्त्री वीरबललाई सोधे, “मान्छेको शरीरमा कुन यस्तो अंग छ, जुन उसको शत्रु पनि हो ?” चलाख, ज्ञानी र विवेकी वीरबलले तत्काल जवाफ दिए, “जिब्रो। ” “कसरी ?” राजाले पुनः प्रश्न गरे।  वीरबल बोले, “सरकार, जिब्रोले मिठाइ र पिटाइ दुवै खुवाउँछ।  नराम्रा शब्द बोल्दा यही दरबारमा धेरैले जागिर गुमाएका छन्।  सजाय पाएका छन्।  सुन्दर राग, कविता र कर्णप्रिय वचन श्रवण गराएर हजुरबाट धेरैले प्रशस्त सम्पत्ति बकस पाएका छन्। ” वीरबलको तर्कले राजा सन्तुष्ट भए। 

तोलाको जिब्रो चलाउनुभन्दा धार्नीको टाउको हल्लाउनु विवेकसम्मत ठहरिन्छ, कूटनीतिमा । 

कम्युनिस्ट नेता पुष्पकमल दाहालले सोचविचार नगरेरै भेनेजुयलाको राजनीतिबारे लिखित वक्तव्य प्रकाशित गरेका होइनन्, पार्टी अध्यक्षको हैसियतले।  सत्तारुढ दलका एकजना बौद्धिक नेताले तीन महिना जति पहिले पंक्तिकारसँग ठट्टा गर्दै भनेका थिए, “हाम्रो पार्टीमा ब्याइते र ल्याइते दुईजना अध्यक्ष छन्।  ब्याइतेले ल्याइतेलाई कहाँ टेर्छन् र !” स्वीट्जरल्यान्ड पुगेका प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीका निम्ति दाहालको वक्तव्य (विज्ञप्ति) ‘काउसो’ साबित भयो।  उनले असन्तुष्टि जनाए, दाहालको जिब्रोप्रति।  

तोलाको जिब्रो चलाउनुभन्दा धार्नीको टाउको हल्लाउनु विवेकसम्मत ठहरिन्छ कूटनीतिमा।  कहिलेकाहीँ आफ्नो मान्यता जोगाउन अरुलाई उच्च सम्मान देखाउनुपर्छ।  बेलायत भ्रमणमा गएका प्रधानमन्त्री जंगबहादुरलाई महारानी भिक्टोरियाले सँगै बसेर अंग्रेजको परिकार खाने प्रस्ताव गरिछन्।  सनातनी परम्परामा हुर्केका कट्टर स्वभावका जंगबहादुरले गाईको मासु खानेले छोएको र पकाएको खाँदैनथे।  उनले शिष्ट भाषामा भिक्टोरियालाई निवेदन गरे, “हामी आफूले साह्रै आदर गरेका मानिस र देवीदेवताका अगाडि बसेर खाँदैनौँ हजुर ! यो हाम्रो हिन्दु परम्परा हो। ” महारानी खुसी भइन्।  “तिमीहरू गाई खाने म्लेच्छले छोएको खाँदैनौँ” भनेर जिब्रो फड्कारेको भए त्यतिबेला ‘जंगबहादुर महाराजको जिब्रो चिप्लिएछ” भनेर ढाकछोप गर्न सम्भव थिएन।  त्यसैले होला, उहिलेदेखि हाम्रा पुर्खाले सन्तानलाई उपदेश दिन्थे, “केटाकेटी हो, जस्तै रिस उठे पनि थुतुनो चैँ जोगाउनू। ” 

२०४७ सालपछि अनाथ बनेको छ, नेपाली कूटनीति।  राष्ट्रिय मूलनीति नहुँदा ख्यालठट्टा नै कूटनीति बनेको छ।  कतार तथा इन्डोनेसियासँग संयुक्त राष्ट्रसंघीय चुनावमा परास्त हुँदा र दलीय भागबण्डामा राजदूत नियुक्त गर्दा नेपाली कूटनीति कुन दर्जामा पुग्यो भन्ने स्पष्ट भएको छ।  सबैभन्दा दुर्भाग्यपूर्ण कुरा, नेपालले विश्वमा क्रमशः विश्वसनीयता गुमाइरहेको छ।  प्राचीन ग्रन्थहरूमा राष्ट्र नै सर्वोच्च हुन्छ र राष्ट्रलाई सबै मिलर उठाउनुपर्छ भनिएको छ।  “वयं राष्ट्रे जागृयाम पुरोहिता” (यजुर्वेद ९ः२३) जस्ता वेदका ऋचाहरू हुन् वा पृथ्वीनारायण शाहजस्ता प्रतापी पुर्खाले दिएका उपदेश, ती सबै बिर्सेर राष्ट्रबारे दल, गुट र व्यक्तिका घातक विचार आइरहेका छन्।  त्यसमा च्युत जिब्रो मात्र दोषी छैन, विचार नै प्रदूषित र प्रायोजित देखिन्छ। 

बेलायत भ्रमणमा गएका प्रधानमन्त्री जंगबहादुरलाई महारानी भिक्टोरियाले सँगै बसेर अंग्रेजको परिकार खाने प्रस्ताव गरिछन् । सनातनी परम्परामा हुर्केका कट्टर स्वभावका जंगबहादुरले गाईको मासु खानेले छोएको र पकाएको खाँदैनथे । उनले शिष्ट भाषामा भिक्टोरियालाई निवेदन गरे, “हामी आफूले साह्रै आदर गरेका मानिस र देवीदेवताका अगाडि बसेर खाँदैनौँ हजुर ! यो हाम्रो हिन्दू परम्परा हो ।” महारानी खुसी भइन् ।

नेपालमा हत्या, लुट, आतंकजस्ता अपराधी पृष्ठभूमिका मानिस राजनीतिमा आज झन् प्रबल बनेका छन्।  जवाहरलाल नेहरुले भनेका थिए, “नेता भनेको जनताको फ्याक्ट्रीमा उत्पादित वस्तु हो। ” राजनीति र कूटनीति किन बिग्रियो भनेर चिन्ता व्यक्त गर्ने जनताले कस्ता मानिसलाई जिताएछन् भन्ने स्पष्ट देखिएको छ।  त्यसकारण, विष रोपेर अमृतफलको आशा गर्नु व्यर्थ हुन्छ।  मतदाता ‘कार्यकर्ता’ रहुन्जेल यो रोग निर्मूल हुने देखिँदैन। “अ फस्ट रेट म्याडनेस’ पुस्तकमा हार्वर्डका प्रोफेसर नासिर घामीले नेताहरूको मानसिक रोग उनीहरूको वचन र व्यवहारमा देखिन्छ भन्ने तर्क गरेका छन्।  सन् २०११ मा प्रकाशित उनको पुस्तक संसारमै चर्चित भयो।  मनस्थिति बदलिइरहने समस्या (मुड डिसअर्डर) प्रमुख समस्या रहेछ।  अमेरिकाका चौबीस प्रतिशत राष्ट्रपतिमा त्यस्तो मनोरोग रहेछ।  लिन्डन बी. जोन्सन, थियोडर रुजबेल्ट, थोमस जेफरसन, अब्राहम लिंकन जस्ता राजनेता मात्र होइन, चाल्र्स डार्बिनजस्ता वैज्ञानिक, संगीतकार बिथोभेन, कलाकार माइकल–एन्जेलो, साहित्यकार लिओ तल्स्तय जस्ता कैँयन् मानिस मनोरोगी थिए भनेका छन् लेखकले। 

पुष्पकमल दाहाल मात्र होइन, धेरै नेता चिप्लिएका छन्, नेपालमा।  कोही एक दुईपल्ट हावा कुरा गरेर बद्नाम भए, कोही दिनैपिच्छे ढाँट्ने गर्छन्।  दाहालले कुनै बेला हप्तैपिच्छे पटाका पड्काउँथे भाषणमा।  झापातिरका किसानले मेचीपारिबाट राति आउने वनहात्ती धपाउन पटाका पड्काउँछन्।  दाहालले अरुलाई तर्साउन त्यसै गर्दै आएका छन्।‘नेपाली सेना भनेको बलात्कारी फौज हो’ भन्ने पहिलो नेता पुष्पकमल दाहाल नै हुन्।  त्यो जिब्रो चिप्लेको होइन।  काठमाडौँबाट उडाएर काबुल पु¥याइएको भारतीय विमान नेपालको राजदरबारले षड्यन्त्र गरेर अपहरण गराएको कुरा दिल्लीमै पुगेर बोले, दाहालले।  त्यो पनि जिब्रो चिप्लेको होइन।  सन् २००५ मा हिन्दुस्तान टाइम्स समिटमा दाहालले भारतको नीति नै नेपालको नीति हुन्छ भने।  त्यो भारतलाई खुसी पार्ने उनको तल्लोस्तरको ‘कूटनीति’ थियो।  लेनिनले पनि बहुदलीय व्यवस्था मन पराउँथे, हाम्रो कुरो पनि त्यही हो भन्दै उनले दिल्लीमै बोलेका छन्।  (२००६, नोभेम्बर २० को द एसियन एज) हाम्रो मूलबाटो संसदीय (बहुदलीय) होइन, कम्युनिस्ट नै हो भने त्यसपछि। 

शेरबहादुर देउवा, केपी ओली र प्रचण्डमध्ये प्रचण्ड (पुष्पकमल दाहाल) नै उत्तम रहेछन् भने भारतका सेवानिवृत्त जर्नेल अशोक मेहताले फुरुक्क पारेपछि पुष्पकमलको मनमा ‘रेशम फिरिरी, रेशम फिरिरी, उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरी’ गीत गुन्जियो।  त्यसपछि दिल्लीमै उनले गद्गद् हुँदै बोलेका छन्, “मैले अब भारतको कुरा बुझँे।  सुरुसुरुमा गलतफहमी भयो। ”

कुनै बेला तरुल खन्ने खन्तीले नेपालको सिमानाबाट सुरुङ खन्दैखन्दै दिल्लीको लालकिल्लामा फुत्त निस्किने दाहालको वाणी अर्थात् ‘सुरुङयुद्ध’ पनि उनको स्वादिलो कल्पना थियो।  काठमाडौँ जितेर राजा, सेना, जनता सबैलाई तह लगाउने र पचासौँ वर्ष कम्युनिस्ट अधिनायकवाद चलाउने अभिलाषा थियो दाहालको।  ‘लाखौँ समर्थक’ छन् भने पनि दाहाल आज निरीह बन्दै गएका छन्।  उनी केपी ओलीका ‘देखिजान्ने सुनिजान्ने’ किनाराका साक्षी मात्र बनेका छन्।  त्यसैले औडाहा भएको छ, उनलाई।  निकोलस मडुरोलाई माया गरेर अमेरिकालाई ‘साम्राज्यवादी’ भन्दै उनले सुटुक्क विज्ञप्ति निकालेपछि ओलीको मन कुटुक्क भयो।  विवाद टुंगियो भने पनि भयातुर छन् दाहाल।  अब हात जोडेर माफी माग्ने मनस्थितिमा छन्।  ‘मच्चियो मच्चियो थच्चियो’ भनेको यही हो। 

दश वर्षे द्वन्द्वका मुद्दा उल्टाएर माओवादी नेताहरूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाइयो भने दाहालले प्रतिरक्षा गर्न सक्छन् ? माओवादीबाट पीडित हजारौँ परिवार काठमाडौँमा भेला भएर महिनौँ दिनसम्म न्याय माग्दै अनशन बसे भने त्यो बेला के हुन्छ ? कम्बोडियाकै उदाहरण छ, सरकारले दसाँै लाख जनता मार्नेलाई क्षमादान दियो।  तर अन्तर्राष्ट्रिय कानुनले त्यो स्वीकार गरेन।  दाहालले पुनः विद्रोह गर्ने घुर्की देखाएका छन्।  अब त्यो पटक्कै सम्भव देखिँदैन।  स्वदेश र विदेशमा माओवादी धेरै बद्नाम छ।  हिजो अमेरिका र भारतले आतंककारी घोषणा गरेका माओवादीले पुनः विद्रोहको धम्की दिँदा के परिणाम आउँछ, त्यो सहजै अनुमान गर्न सकिन्छ।  “कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै’ भन्ने उखान चरितार्थ गर्दैछन्, दाहाल।  त्यो उनका लागि आत्मघाती ठरिएको छ। 

मौका हेरेर जिब्रो फड्कार्छन् पुष्पकमल।  “कम्युनिस्ट र क्रिश्चियनबीच भावनात्मक सम्वन्ध छ, ‘इसुक्रिस्ट’ पनि विद्रोही थिए, हामी पनि विद्रोही” भन्दै नेपाललाई धर्मनिरपेक्ष बनाउने माओवादी नै हो भनेर उनले बोले, इसाईसभामा।  भारतका पत्रकारहरूसँग उनले भनेका छन्, “नेपालमा क्रिश्चियन बढे भने चीन र भारतलाई आघात पुग्छ। ” यसरी ‘जिब्रोे चिप्लिरहन्छ’ दाहालको।  यसरी अस्थिर मनस्थितिले उनलाई क्षति पु¥याइरहेको छ।  राजनीतिका उच्च तहमा पुग्नुभन्दा पहिले राम्रोसँग मानसिक स्वास्थ्य परीक्षण गर्नैपर्ने कानुनी व्यवस्था नभएसम्म जिब्रो चिप्लिने रोग नै राष्ट्रको समस्या भइरहन्छ। 

प्रकाशित: ४ फाल्गुन २०७५ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App