६ वैशाख २०८१ बिहीबार
विचार

एक दिन जब थाइल्यान्ड हल्लियो

क्लाउडियो सोप्रान्जेट्टी 
“पूरै दशकमा एउटै पनि उल्लेख्य घटना नभएका दशकहरू पनि हुन्छन्। तर, दशकौँसम्म हुन नसकेका घटना एकै हप्तामा भएका पनि हुन्छन्। ” भ्लादिमिर इलिच लेनिनको यो भनाइ ज्यादै लोकप्रिय भनाइ हो।  कहिलेकाहीँ दशकहरू खाँदिएर एकै दिनमा अटाउँछन् र त्यस्ता एकै दिनले कुनै पनि देशको राजनीतिक आयाममा नाटकीय परिवर्तन ल्याउने गर्छ।  थाइल्यान्डको निम्ति गएको फेब्रुअरी ८ त्यस्तै दिन रह्यो।  त्यो औसत शुक्रबारको दिन थियो।

आगामी मार्च २४ मा हुने निर्वाचनका लागि थाइल्यान्डका राजनीतिक पार्टीले प्रधानमन्त्री पदका लागि उम्मेद्वार घोषणा गर्ने अन्तिम दिन थियो।  त्यसबाहेक त्यो दिन अरु खास विशेष केही थिएन।  सन् २०१४ मा सैनिक विद्रोह गरी सत्ता हत्याएका सैनिक जनरल प्रयुथ चानोचाले प्रधानमन्त्री पदका लागि त्यो दिन उम्मेद्वारी घोषणा गर्ने धेरैको अपेक्षा थियो।  सन् २०१७ मा चानोचा नेतृत्वको सरकारले बनाएको संविधानअनुसार उनी सो पदको उम्मेद्वार बने चुनाव जित्न लगभग निश्चित थियो।  नयाँ संविधानले थाई सिनेटमा सेनाको पूर्ण नियन्त्रण कायम गरेको थियो।  प्रधानमन्त्रीको मनोनयनमा सेनाकै छनौटलाई अन्तिम मत मानिने अवस्था थियो।  तर फेब्रुअरी ८ को दिन केही अनपेक्षित खास घटना हुन लागेको कुरा कसैलाई हेक्कासम्म पनि थिएन। 

धेरैले अपेक्षा नै नगरे सरी त्यो बिहान हालसालै गठन भएको थाई रक्षा चार्ट पार्टीले घोषणा गरेको उम्मेदवारीले संसारलाई चकित तुल्यायो। अपदस्थ प्रधानमन्त्री योनलक र थाक्सिन सिनावात्रासँग सम्बन्धित सो पार्टीको तर्फबाट थाई राजा महा विजिरालङकर्नकी दिदी राजकुमारी उबोलरतना राजकन्या सिरिबन्दना वर्णवादीले प्रधानमन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी थिइन्।  राजकुमारी उबोलरतना कुनै बेला थाइल्यान्डकी चर्चित नायिका र ट्रेन्डसेटर थिइन्।सन् १९७२ मा एक जना अमेरिकी नागरिकसँग विवाह गरेर अमेरिकामा नै बस्ने निर्णय गरेपछि उनलाई राजकुमारी पदबाट बिदा गरिएको थियो।  

सन् १९९८ मा उनले आफ्नो पतिस“ग पारपाचुके गरी सन् २००१ देखि थाइल्यान्डमै बस्न थालेकी हुन्।  उनी अभिनय र विभिन्न स्वयंसेवी गतिविधिका कारण थाई जनताबीच उनी लोकप्रिय छिन्।  सन् २००६ मा भएको सैनिक सत्ताविप्लवमा पदबाट बर्खास्त गरिएकी तर थाई राजनीतिमा निकै संलग्न थाक्सिन सिनावात्रा र उबोलरतनाबीच गहिरो मित्रताबारे निकै चर्चाको विषय बन्दै आएको हो।  

उबोलरतनाको उम्मेदवारीको समाचारले आफ्नो शासनलाई प्रजातान्त्रिक छाप लगाउने जनरल प्रयुथको योजनालाई चकनाचुर मात्र गरेन, बरु थाइल्यान्डको राजनीतिक शक्तिसन्तुलनमा नै ठूलो हलचल ल्यायो।थाइल्यान्डको इतिहासमा राजपरिवारको कोही सदस्य चुनावमा प्रतिस्पर्धाका लागि मैदानमा उत्रेको यो पहिलो पटक हो।  

तत्कालै धेरैले उबोलरतनाको चुनावी विजय निश्चित भएको अनुमान गरे किनभने थाइल्यान्डमा राजपरिवारको कोही पनि सदस्यको आलोचना गर्न नपाइने कानुनी बन्दोबस्त छ। कानुनी रुपमा आलोचनासमेत गर्न नमिल्ने उम्मेदवारको विरोधमा कसैले कसरी चुनावी अभियान गर्न सक्ला र ? थाई कानुनअनुसार राजपरिवारको कोही पनि सदस्यको आलोचना वा विरोध गरे उसलाई तीनदेखि पन्ध्र वर्षसम्म जेल सजाय तोकिएको छ।  

उबोलरतनाको नाम मतपत्रमा छापिएर आउ“दा थाइल्यान्डका अनुदारवादी र राजावादीबीच नै विभाजन आउने पक्का छ।  उनीहरूले या त राजकुमारीको पक्षमा अथवा सैनिक जनरलको पक्षमा मतदान गर्नुपर्ने हुन्छ।  उबोलरतनाको उम्मेदवारी घोषणाले सिनावात्रा र राजदरबारबीच कुनै सम्झौता भएको हुन सक्ने अनुमान गरिएको जबकि दरबार र सिनावात्राबीच दशकौँदेखिको दुश्मनीकै कारण थाइल्यान्डले अनेकन् राजनीतिक अस्थिरता सामना गर्नुपरेको छ।उबोलरतनाको उम्मेदवारी घोषणासँगै तत्कालै दुईवटा प्रश्न सतहमा आएः उबोलरतनालाई राजपरिवारको सदस्य मानिनुपर्छ वा पर्दैन ? के प्रयुथ उबोलरतनास“गै सार्वजनिक मञ्चमा देखापर्छन् वा पर्दैनन् ? 

फेब्रुअरी ८ कै बिहान सेना पक्षधर पालाङ प्रचारत पार्टीले जनरल प्रयुथलाई आफ्नो तर्फबाट प्रधानमन्त्री पदको उम्मेदवार बनाउने प्रस्ताव प्रयुथले स्वीकारे।  “मैले जीवनभर सैनिकका रूपमा देशको सेवा गरेँ। अझै पनि थाइल्यान्डको रक्षाका लागि बलिदान गर्न चाहन्छु। ”, प्रयुथले भने।  राजतन्त्रको रक्षकका रूपमा ख्याति कमाएका जनरल राजपरिवारकै एक जना सदस्य विरुद्ध चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्।  प्रयुथको उम्मेदवारी घोषणालगत्तै प्रचारत पार्टीले राजकुमारीको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता ग-यो।  राजतन्त्रलाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न नहुने संवैधानिक व्यवस्थालाई उबोलरतनासम्बद्ध पार्टीले उल्लंघन गरेको उनीहरूको आरोप छ।  अतिराजावादीहरूले पनि राजकुमारीको उम्मेदवारीप्रति विमति राखे भने सिनावात्रा पक्षधरहरू भने आफूले दशकौँदेखि विरोध गर्दै आएको राजपरिवारसम्बन्धि विशेष कानुनकै आधारमा अतिराजावादीहरूलाई राजकुमारीको आलोचना गरे कारबाही हुनसक्ने चेतावनी दिँदैआएका छन्।  

उबोलरतनाले उम्मेदवारी घोषणा गरेको तेह्र घण्टामा उनका भाइ राजा वाजिरालोङकोर्नले दरबारको तर्फबाट एक वक्तव्य जारी गरे।  सार्वजनिक रुपमा उठिरहेका केही प्रश्नहरूबारे स्पष्ट बनाउनु नै त्यसको मूल उद्देश्य थियो।  थाइल्यान्डको इतिहासमा ज्यादै विशेष दिन बनिरहेको त्यो दिनमा राजाको वक्तव्यले घटनाक्रमलाई अर्को नया“ मोडमा पु-यायो।  “उबोलरतनाले आफ्नो राजकुमारी पद त्यागेको सत्य हुँदाहुँदै पनि राजदरबारको कानुनअनुुसार उनले चक्री राजपरिवारको सदस्यता कायम नै राखेकी छिन्। राजपरिवारका कोही पनि उच्चपदस्थ सदस्य कुनै पनि तरिकाबाट राजनीतिक प्रक्रियामा संलग्न हुनु सम्मानित राजपरम्परा, संस्कार र राष्ट्रिय संस्कृति विरोधी हो।  त्यस्ता गतिविधि कानुनविपरीत र अत्यन्त अनुपयुक्त हो।”, राजाको वक्तव्यमा लेखिएको छ।  

राजदरबारको यो वक्तव्यले व्यवहारतः उबोलरतनाको एक दिने राजनीतिक वृत्ति लगभग चकनाचुर बन्यो।  एक जना पर्यवेक्षकको दृष्टिमा फेबु्रअरी ८ मा त्यस्तो विशेष केही भए जस्तो नलाग्न सक्छ।  त्यो दिनको समाप्तितिर चुनावी मैदानमा चौबीस घण्टाअघि जसरी प्रयुथ एक्लै दौडिरहेको देखिएको थियो, त्यसरी नै उनी एक्लै दौडिरहेका थिए।  प्रयुथको सैनिक सरकारले मनोनय गरेको सिनेटलेको समर्थन उनीसँग थियो नै।  तथापि एकै दिनको यो चुनावी भूकम्पले थाइल्यान्डको राजनीतिक भूगोलमा प्रमुख विभाजन रेखा भने कोरिदियो। उबोलरतनाको छोटो समयको उम्मेदवारीले थाइल्यान्डको अनुदार एलिट वर्गभित्रको विभाजन सतहमा ल्याएको छ। उनीहरूमध्ये कसैले राजपरिवारप्रतिको अतिप्रशंसाभन्दा सिनावात्राप्रतिको आफ्नो घृणा अझ शक्तिशाली हुने देखाइदिएको छ।  थाइल्यान्डका निकै शक्तिशाली धेरै परिवारको नयाँ राजासँग विद्वेषपूर्ण सम्बन्ध भएको कुनै गोप्य कुरा होइन।  तर, उबोलरतनाको उम्मेदवारीप्रति उनीहरूको विरोधले राजदरबारप्रति उनीहरूको धारणा पहिले सोचिएजस्तै अविचलित नभएको संकेत गरेको छ।  

यसैबीच जनरल प्रयुथ र राजाबीचको सम्बन्ध प्रभावित भएको देखिन थालेको छ।  फेब्रुअरी १० को दिन राजाले जर्मनीको म्युनिचस्थित आफ्नो घरमा उच्चपदस्थ सैनिक अधिकारीलाई बोलाएर बैठक गरेको अपुष्ट समाचार बाहिर आयो।  राजगद्दीमा गद्दिरोहण भइसके पनि राजाले आफ्नो अधिकांश समय म्युनिचमै बिताउने गर्दै आएका छन्।  सो बैठकमा आगामी चुनावको अवस्था, राजकुमारीको उम्मेदवारीबारे प्रतिक्रिया र सम्भावित सैनिक सत्ताकब्जाको विषयमा छलफल भएको अनुमान गरिएको छ।  तर त्यहा“ सत्तापक्षका कोही पनि सैनिक अधिकारीलाई बोलाइएको थिएन।  यसले राजाले थाई सेनाभित्रको अर्को खेमामाथि बढी विश्वास गरिरहेको देखाएको छ।   

फेबु्रअरी ८ को घटनाले प्रजातन्त्र पक्षधरहरूबीच पनि विभाजन ल्याएको छ।  एक पक्ष राजकुमारीको उम्मेदवारीलाई निकै उपयुक्त राजनीतिक कदमका रुपमा व्याख्या गरिरहेका छन् भने अर्को पक्ष त्यसलाई ठूलो गल्तीका रुपमा चर्चा गरिरहेका छन्।  गल्ती बताउने पक्षले यो कदमले राजतन्त्रलाई अझ बलियो बनाउने र प्रजातन्त्रलाई अझ टाढा पु-याउने बताउँछन्।  

प्रगतिशील पक्षमा यसप्रकारको असहमति कुनै नया“ कुरा भने होइन।  तर अनुदार र प्रगतिशील दुवै खेमा भइरहेको बहसले सिनावात्रास“ग सम्बन्ध रहेको शक्तिप्रति जनसमर्थन भने कमजोर हुने देखिएको छ। विगतमा पनि यस्तो विभाजनको समयमा थाई सेनाले सैनिक सत्ताकब्जालाई वैधानिकता दिने गर्दै आएको छ। जनरल प्रयुथको सरकारविरुद्ध अर्को प्रतिसत्ताकब्जा हुन सक्ने हल्ला थाइल्यान्डमा नचलेको होइन। थाइल्यान्डको एउटा विशिष्ट चरित्र भनेको त्यहाँको सेनाले नै चालु सैनिक शासनविरुद्ध सैनिक सत्ताकब्जा गर्न सक्छ। अहिलेको परिस्थिति अर्को सैनिक सत्ताकब्जाको पूर्वअवस्था बन्छ वा सेनाको उच्च संलग्नतामा चुनाव हुन्छ, त्यो अझै प्रस्ट भएको छैन्।  तर सैनिक शासनको पाँच वर्षले आफूले तोकेको कुनै पनि लक्ष्य पूरा गर्न नसक्ने भने यो अवस्थाले पक्का भएको छ।देशको राजनीतिक तनाव समाधान गर्ने र शान्ति स्थापना गर्ने सैनिक सरकारका लक्ष्य तोकिएको समयमा पूरा नहुने देखिएको छ।  (लेखक अक्सफोर्ड विश्वविद्यालय, अल सोल कलेजका विद्यार्थी हुन्।  अलजजिराबाट नीरज लवजूको अनुवाद)

 

प्रकाशित: ४ फाल्गुन २०७५ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App