दीपक बस्याल/ जीवन पोख्रेल
‘तपाईंको बच्चालार्ई सुन्दर हस्तलेखन सिकाउनका लागि हाम्रो विद्यालयले हिजोदेखि नै एक हप्ते तालिम सञ्चालन गरिरहेको छ। तालिम प्रदायक संस्थाको नियमअनुसार तालिमको शुल्क प्रतिविद्यार्थी रु. २०० लाग्ने व्यहोरासमेत जानकारी गराउँछु। ’ एक निजी विद्यालयका प्राचार्यले अभिभावकका नाममा पठाएको पत्र।
पत्रले उठाएका केही सवाल :
के सुन्दर हस्तलेखनले मात्र मानिसलार्ई बुद्धिमान् बनाउँछ ?
बनाउँदैन। हस्तलेखन र बुद्धिमताको सम्बन्धमा गरिएका धेरै अनुसन्धानहरू अनुत्तरित छन्। न त राम्रो अक्षर लेख्ने मानिस बुद्धिमान् हुन्छ भन्ने यथेष्ट प्रमाण नै जुटेको छ। न त नराम्रो अक्षर हुने विद्यार्थी अक्षम हुन्छन् भन्ने नै पुष्टि भएको छ। हस्तलेखन र व्यक्तित्वसम्बन्धी अध्ययन गर्ने शास्त्र ‘ग्राफोलोजी’का अनुसन्धानहरूले मान्छेको लेखाइबाट उसको व्यक्तित्वका अनेक आयाम प्रक्षेपण गर्न सकिन्छ भन्छन्। यस शास्त्रले अक्षरको शुद्धता, आकार प्रकार, धर्सा र विराम दिने तरिकाहरूको अवलोकन गर्छ। जसबाट मान्छेको स्वाभाव, लगन, मिहिनेत, तर्ककला, निर्णयक्षमता, मूर्खता, अनुनय र विनयशीलता जस्ता गुणको अनुमान गर्ने गरिन्छ।
सुन्दर लेखाइ भएका व्यक्तिमा राम्रा गुण भरिपूर्ण हुन्छ भनेर ‘ग्राफोलोजी’ले भन्दैन। कक्षाका हरेक उम्दा विद्यार्थीको अक्षर आकर्षक हुन्छ भन्ने छैन न त हरेक कमजोर विद्यार्थी अक्षरकै कारणले मात्र पछि परेका हुँदैनन् भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छँदै छ। त्यसो त ‘डाक्टरी अक्षर’ वा ‘गिद्धको छेर’ भनेर असुन्दर लेखाइलाई हेयको नजरले प्रहार गरिने भनाइ हाम्रामा चल्दै आएका छन्। सुन्दर लेखाइ पढ्नुको मज्जा अलग त छ नै। सुन्दर लेखाइ लेख्नेको व्यक्तित्वसमेत आकर्षक होला भन्ने कल्पना समेत गरिन्छ पनि। सुन्दर लेखाइको भाषा सुन्दर भएन भने, व्याकरणीय नियमहरू पालना गरिएनन् भने, तर्क र तथ्य पर्याप्त भएनन् भने सुन्दर अक्षरले मात्रै लेखिएका कुरा पठनीय हुने होइनन्। त्यसमाथि आजको जमानामा सुन्दर अक्षरको तालिम दिनु भनेको गणितमा गणना पढाउनु जस्तै जस्तै कुरा हो।
कुन सेवा मलार्ई जरुरी छ÷छैन र लिन्नँ/लिन्छु भनेर निर्णय गर्न विद्यार्थी र अभिभावकले नपाउने ?
कुनै सेवा लिने कि नलिने, अथवा आवश्यक छ कि छैन भन्ने कुराको अभिभावकले जानकारी पाउनु पर्दैन ? ‘खाए खा नखाए घिच’ गर्न मिल्छ ? सेवा मलार्ई जरुरी छैन र लिन्नँ भन्न पनि नपाउनु ? सबै विद्यार्थीलाई हस्तलेखनको जरुरी त थिएन होला। जरुरी छ र छैन भन्ने कुराको निर्णय कक्षा १० पढ्ने विद्यार्थीले आफैँ गर्न सक्छ नै। बालबालिकाका अभिभावकसँग एकपटक सल्लाह गर्नु पर्दैन ?
यस्ता क्रियाकलापको नियमन कसले गर्ने ?
हाम्रा निजी विद्यालयहरू सेवा प्रदायक व्यवसायी हुन् भने अभिभावक र विद्यार्थी सेवाग्राही। निजी विद्यालयहरूले यो अथवा त्यो नाममा विभिन्न शुल्क उठाउने गरेको प्रचलन कुनै नौलो भने होइन। खेलकुद वा कम्प्युटर शुल्कको कुरा होस्, निम्न स्तरको ड्रेस त्यो पनि तोकिएकै ठाउँमा किन्न बाध्य पारिने कुरा होस्, विद्यालय हाताभित्रैबाट पाठ्यपुस्तक र स्टेसनरी बिक्रीको विषय नै किन नहोस्। अथवा वर्षैपिच्छे औचित्यहीन पाठ्यपुस्तक परिवर्तन गराएर अभिभावकको ढाड सेक्ने कुरा होस्।
यी थाहा भएकै र प्रशस्तै सुनिएकै कुरा हुन्। के यस्ता बदमासीको नियमन गर्ने संयन्त्र हाम्रोमा नभएकै हो त ? त्यसो त उपभोक्ताको हक र हितको सुरक्षाका लागी बनेको उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा १० ले उपभोग्य वस्तु र सेवामा गर्न नहुने कामको व्याख्या गरेको छ। उपदफा ग अनुसार कुनै उपभोग्य वस्तु वा सेवालाई उच्च स्तरको भनी ढाँट्न नहुने र उपदफा घ अनुसार सेवाको अनुचित व्यापारिक क्रियाकलाप गर्न नहुने भनेर लेखिएको छ। स्कुलको यो हस्तलेखन व्यवसायले यी दुवै दफालाई मिचेर काम गरेको देखिँदैन र ? यो दफा मिच्नेलार्ई दफा ११ को उपदफा घ ले ५ वर्षसम्म कैद वा १ लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय तोकेको छ। के सरकार हिम्मत गर्ला यो काम अनुचित हो भनेर छानबिन र कारबाही गर्न ? लोकतन्त्रको आभास दिने यस्तै झिनामसिना लाग्ने कुरामा आम समुदायलार्ई न्याय दिलाएर होइन र ?
के कुनै पनि तालिमका लागि शुल्क निर्धारण गर्ने एकाधिकार तालिम प्रदायक संस्थामा मात्रै रहन्छ ?
तालिमको औचित्य, उपयोगिता सम्बन्धमा विद्यार्थी स्वयम् वा अभिभावकलार्ई जानकारी दिने र कार्यक्रम चलाउने नचलाउने निर्णय गर्न अभिभावकको राय लिन विद्यालयले आवश्यक नै देखेन। त्यसैले पनि पत्राचारको प्रधान आशय पैसा माग्नुबाहेक अरु हो जस्तो लाग्दैन। के यसरी कार्यक्रमको शुल्क किन र के आधारमा निर्धारण गरिएको हो भन्ने बारेमा सेवाग्राही ले जानकारी लिन पनि नपाउनु ?
यस्ता तालिम कसरी सञ्चालित हुने गर्छन् त ?
धेरैजस्तो निजी र केही सामुदायिक विद्यालयहरूमा समेत छोटो समय अवधिका तालिमहरू जस्तै हस्तलेखन, उद्घोषण, व्यक्तित्व विकास र निर्णय क्षमता विकास, जीवनउपयोगी सीप विकास आदि आदि तालिम फेसन जस्तै बनेको छ । तालिम राम्रा होलान्। उपयोगी पनि होलान् तर यिनका लागि तिरिने शुल्क चर्को छ।
यस्ता कार्यक्रमको औचित्य कति होला ?
अक्षर लेखन समग्र सिकाइ प्रक्रियाको सुरुवाती र महत्वपूर्ण पक्ष हो। राम्रा अक्षर सिकाइकै महत्वपूर्ण आधारस्तम्भ हुन्। तर एक हप्तामा एकै दिनमा ४–५ सय विद्यार्थीलार्ई एकैचोटि दिइने तालिमले के साँच्चै हस्तलेखनमा सुधार गरिहाल्ला त ? व्यवहारतः त्यस्तो देखिँदैन।
अन्त्यमा,
कुनै पनि तालिम प्रदायक संस्थालार्ई वा विद्यालय विशेषलार्ई आक्षेप लगाउने मात्रै प्रस्तुत आलेखको उद्देश्य कदापि होइन। समाजमा शिक्षा लिनेदिने नाममा भइरहेका कतिपय गतिविधि जुन सतही रुपमा हेर्दा राम्रै देखिन्छन्। तर तिनको अन्तर्यसम्म पुगेर हेर्दा बौद्धिक बदमासी भएको अनुभूत गर्न सकिन्छ। यस्ता गतिविधिहरूलार्ई कमसेकम एउटा स्वस्थ बहस हुने मझेरीसम्म पस्किने हाम्रो प्रयत्न हो। रचनात्मक र सिर्जनशील बौद्धिक बहसहरूले समाजलार्ई सकारात्मक गन्तव्यतिरै डो-याउँछन् भन्नेमा दुई मत नहोला।
(बस्याल अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन र पोख्रेल यादव मावि, मध्यविन्दु–१२, नवलपरासीमा अध्यापन गर्छन्। )
प्रकाशित: ४ फाल्गुन २०७५ ०६:५४ शनिबार