coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाकस बाहिरको पर्यटन

रुकुम (पूर्व)को कमल ताल (दायाँ) र इलामकाे सन्दकपुरबाट देखिएकाे कुम्भकर्ण हिमशृङखला। तस्बिर : अमृत भादगाउँले/ नागरिक

सुधन सुवेदी
विश्व प्रसिद्ध गायक ब्रायन एडम्सको प्रस्तुतिका कारण दिल्ली हौसिएको थियो। एकाएक सुरक्षाका कारणले उनको प्रस्तुति तोकिएको समयमा रद्द भएको सूचना पाउँदा दिल्लीबासी दुःखी भए। त्यसपछिको कार्यक्रम काठमाडौंमा थियो। प्रसंग २०११ फेब्रुअरी १९ को, जुन दिन दशरथ रङ्गशालामा खचाखच दर्शकसामु उनले गाए। उक्त कार्यक्रमका साक्षी काठमाडौं  र आसपासबाट आएका संगीतप्रेमी मात्र थिएनन्, दिल्लीमा उनलाई देख्न, सुन्न नपाएर उतैबाट आएकाहरू पनि उल्लेख्य थिए।

देश बाहिरको अर्को प्रसंग–२०२२ को विश्वकप फुटबल प्रतियोगिता आयोजनाका लागि अमेरिकाले जोडदार दावेदारी दियो। दावेदारी प्रस्तुत गर्ने कार्यक्रममा तत्कालीन राष्ट्रपति ओबामा उपस्थित भएर ठूलै प्रयास गरे। तर, बाजी कतारले मार्‍यो। देशको सर्वोच्च व्यक्ति नै विश्वकप आयोजना गर्नुको पछाडि लाग्नु पक्कै पनि अर्थपूर्ण छ। उदाहरण हेरौं, ब्राजिलले २०१४ को विश्वकप आयोजना गर्ने तयारी गर्दा देशभित्र गतिलै विरोधको सामना गर्नुपर्‍यो। खेलहरू गराउँदा हुने खर्च देशले धान्न नसक्ने र यो रकम बरु अन्यत्र आवश्यक कुराको जोहो गराउन खर्च गर्दा राम्रो हुने तर्क उठेको थियो। त्यहाँ विश्वकप आयोजनाको महिना जुनमा मात्रै दश लाख बढी पर्यटक आएको देखिन्छ जुन अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी थियो। त्यस लगत्तै त्यहाँका पर्यटन मन्त्री हेनरिक एल्भिसले विश्वकपको आयोजना पर्यटनका लागि लगानी भएको र यसले प्रतिफल दिएको बताएका थिए।

देशमा पर्यटक आउन् भन्ने कामना राखेर ‘नेपाल राम्रो छ यहाँ यो छ त्यो छ’ भनेर देशको गुणगान हामीले गाउँदै आएका छौं। सत्तरीकै दशकमा विकास गरेको गोल्डेन ट्रयाङगल (काठमाडौं, पोखरा र चितवन) भन्दा पर पर्यटक पुर्‍याउने व्यवसायी सीमित संख्यामा छन्। अबका दिनमा राम्रा ठाउँ देखाएर, कथा सुनाएर मात्र पर्यटन सम्भव हुने छैन। माथिका उदाहरणमा स्पस्ट देखिएको छ कि कसरी खेल र संगीतले पर्यटक आकर्षित गर्न सक्छ भन्ने। मन पराएको सांगीतिक प्रस्तुति सुन्न भ्रमण गर्ने वा खेल हेर्न यात्रा गर्ने, हालका दिनका पर्यटन बढी यस्तै सेरोफेरोमा बाँधिएको छ।

कालजयी अनुभवहरू सामान्य किसिमको डुलाइबाट नभई स्थानीयसँगको मीठो अन्तरक्रिया, उनीहरूसँग नजिकबाट बिताएका पलहरूका साथै खेल हेरेर वा संगीत सुनेर नै प्राप्त हुन्छ।

भ्रमण वर्ष २०२०ले जोड दिएको छ कि कालजयी अनुभवहरू सामान्य किसिमको डुलाइबाट नभई स्थानीयसँगको मीठो अन्तरक्रिया, उनीहरूसँग नजिकबाट बिताएका पलहरू, खेल हेरेर वा संगीत सुनेर नै प्राप्त हुन्छ। अनुभव पर्यटनको यो श्रृंखला नै हामीले धेरै अघिदेखि रटान लगाउँदै आएको खर्च गर्न सक्ने पर्यटकको सम्पर्कमा पुग्ने सेतु हो। पोखरा सम्झनेबित्तिकै फेवातालमा माछापुच्छे«को छायाँ परेको तस्बिर मनमा आउँछ। सधैं गाढा नीलो आकाश र सेतो माछापुच्छ्रेको दृश्यावलोकन मौसमकै कारण सम्भव छैन। एक पर्यटकले सामाजिक सञ्जालमा प्रचार गरिएको जस्तो दृश्य पोखरा भ्रमणमा नदेखिएको गुनासो गरेको पनि पाइयो। वर्षौँदेखि चलिआएको पोखराको तस्बिरलाई फेवा किनारका डुङ्गाले पनि उत्तिकै बेजोडले चित्रित गर्छन्।

वैशाख १२ को भुकम्पले मठमन्दिरमा क्षति पुर्‍यायो। अनि काठमाडौं उपत्यका आएपछि प्रमुख रूपमा पर्यटक घुम्ने दरवार क्षेत्रहरू पनि भ्रमणका लागि बन्द गरियो। एक अन्तर्राष्ट्रिय पत्रकार जो भूकम्पको समाचारका लागि नेपाल आएका थिए उनले सामाजिक सञ्जालमा वर्णन गरेको अनुुभवले धेरै अर्थमा अनुभव पर्यटनको आवश्यक पाटोलाई दर्शाएको छ। उनले भक्तपुरमा घर भत्किएर त्रिपालमा दैनिकी बिताइरहेकी आमालाई भेटेछन्। उनीसँग कुराकानी पश्चात बिदा हुने समयमा ती आमैले पत्रकारलाई अनुरोध गरिछन्,–‘खाना खाएर जानुस् न।’

बस्ने ओतको टुङ्गो नभएकी आमाको सत्कारबाट नतमस्तक तिनै पत्रकारले नेपाली संस्कृति सम्पदाहरूमा मात्र नखुम्चिएको बरु आमाहरूको बोली र व्यवहारसँगै फैलिएको बताएका थिए। भुकम्पपश्चात केही समय मन्दिर, सम्पदा क्षेत्रहरू पक्कै पनि थलिएका थिए तर स्थानीयले दैनिकी अगाडि बढाइरहेका थिए। त्यही भएर सम्पदास्थलमा उभिएर नेपालमा पर्यटन पुरानै लयमा फर्कियो भन्ने सन्देश दिन सरोकारवालाले सम्पदा क्षेत्र पुनः सुचारु भएको घोषणा गरे। समाचारमा भने खर्पन बोकेका दाइ, गाग्री समाएकी दिदी बढी देखिए। सोही वर्ष भुकम्प पश्चातको पर्व गाईजात्रामा स्थानीको अभूतपूर्व सहभागिता देखियो। फेरि गाईजात्राको सन्देश धेरै अर्थमा हामीले दिन चाहेको पर्यटन क्षेत्र काममा फर्किसकेका भन्ने भावसँग मिल्दोजुल्दो थियो। यो पर्वमा सहभागिताको अर्थ नै दिवंगतहरुलाई सम्मान र दैनिकी सुचारु छ भन्ने नै हो।

अनुभव यात्राका बाटाहरूमा यस्तै सँधै गर्दै आएका कुरा जुन पर्यटकसँग नपुगेको हुनसक्छ त्यस्ता बढी पर्छन्। मन्दिरसँगै पर्वहरू, जात्राहरू र मुख्यत स्थानीयहरू अबका दिनका प्रबद्र्धनका मुख्य विषय हुनेछन्। युरोपका भुगोललाई फन्को लगाउँदा जता पुगे पनि उस्तै किसिमका मान्छे भेटिने अनुभवलाई प्रत्येक गल्ली र चोकमा सांस्कृतिक रूपमा फरक किसिमका मान्छे भेटिनु नै यहाँको पर्यटन आकर्षणको मुख्य कडी हो। फेरि एउटै जातिको पनि बोलीचाली र लवज एकै नहुनु आफैंमा अनौठो कुरो भेटिन्छ यहाँ। काठमाडौ र भक्तपुरका नेवार यस्तै उदाहरण हुन्।
पर्यटन सोचको दायरा व्यापक बनाउँदै बाकस बाहिरको अवयवलाई पनि साथ लिन जरुरी छ जुन धेरै अर्थमा खेल, संगीत र सिर्जना हुन सक्छन्। नयाँ सोचलाई मूर्त बनाउने क्रममा पुराना चीजलाई पनि नयाँ ढंगले प्रस्तुत गर्न सके अनुभव पर्यटनलाई न्याय मिल्नेछ।

प्रकाशित: ४ फाल्गुन २०७५ ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App