७ वैशाख २०८१ शुक्रबार
अन्य

फुच्चे खलासी

देवु लुइँटेल

अब भने ऊ आफ्नो पेसामा निपुणझैँ देखिन्थ्यो। ऊ झिसमिसे उज्यालो नहुँदै उठ्थ्यो। उसको घर, कोठा जे भने पनि त्यही गाडी थियो। सुत्न डसना थिएन। बिहान उठेपछि ओढ्ने ब्ल्याङ्केटलाई पट्याएर सिटमाथिको र्‍याकमा राख्थ्यो। यसपछि उसको दैनिकी सुरु हुन्थ्यो।

उसले लामो जुल्फी पालेको थियो। दुवै कनसिरी र कानका वरिपरि भने फेदै लगाएर खौरिएको थियो। कपालका टुप्पाटुप्पामा फुलेको झै देखिने रङले रङ्ग्याएको थियो। एउटा कानमा एकातिर तिखो र अर्कातिर मोटो भएको, केही बाङ्गो पाराको वस्तु लगाएको थियो। समयको अभावले हो वा फेसनको प्रभावले हो, ऊ नुहाएजस्तो देखिँदैनथ्यो। तैपनि बिहान उठेपछि गाडीको ऐनामा हेरेर आफ्नो जिङ्ग्रिङ्ङ परेको जुल्फी टाउको झड्कारेर पछाडि लैजान्थ्यो। 

यसपछि ऊ गाडी सफा गर्न थाल्दथ्यो। ऊ गाडी धुन्थ्यो, पुछ्थ्यो र सिटहरू सबै टक्कक्याउँँदै भित्र बडाथ्र्यो। ऊसँगैका अरु खलासी साथीहरू यात्रु चढाउने ठाउँसम्म गाडी आफै हाँकेर लैजान्थे तर ऊ भने यो पेसामा नयाँ भएकाले त्यति आँट गर्दैनथ्यो। साथीहरूसँग गफ दिन त ऊ पनि कम थिएन। भन्थ्यो ‘साँच्चै लैजानु पर्यो भने म यसलाई चार दोबाटोसम्म एक्लै लगिदिन सक्छु।’ उसका अरु साथीहरू उसलाई उचाल्दथे पनि, तर ड्राइभरका डरले ऊ काममै भने अघि सर्दैनथ्यो।

गाडी आफ्नै गतिमा अगाडि बढिरहेको थियो। बेलाबेला ऊ झ्यालबाट टाउको निकालेर यात्रु बोलाउँदै थियो।

यस बेलासम्म त्यो गाडीको ड्राइभरचाहिँ छेवैको ठेलावालीसँग किनेको चिया खाँदै उसले गरेको काम हेरिरहन्थ्यो। गाडी गुड्ने बेला भएपछि उसको खास काम सुरु हुन्थ्यो। माइक्रो बसको ढोकामा उभिएर भन्थ्यो ‘कोटेश्वर, बानेश्वर, माइतीघर, बसपार्क...’

फुच्चे खलासीले यसरी चिच्याउन थालेपछि माइक्रोमा यात्रुहरू आउन थाल्दथे। अलि भिडभाड भएको दिन को कुन सिटमा बस्ने भनेर ठेलाठेल पनि हुन्थ्यो। सबै यात्रुहरू आफ्नै सुरमा हुन्थे। यात्रु विद्यार्र्थीहरू पढाइ र साथीका गफ गर्थे। यात्रु व्यापारीहरू व्यापारिक नाफाघाटाका गफ गर्थे। कसैले पनि फुच्चे खलासीलाई वास्तै गर्दैनथे। फुच्चे खलासी भने घरिघरि ऐनामा हेर्दै आफ्नो जुल्फी हल्लाइरहन्थ्योे।

मौसम फेरिन्थ्यो तर उसको पहिरन प्रायः फेरिँदैनथ्यो। कलरमा मयलको गतिलै छाप भएको र टाँक भए तापनि नलगाइएको सर्ट, भित्रको पातलो भेस्ट र घुँडा फाटेको पेन्टमात्रले उसको जाडोलाई भगाउन सकेका थिएनन्। यसैलाई सङ्केत गर्दै कोही कोही यात्रु भन्थे ‘ए भाइ, गर्मी भयो कि क्या हो !’ तर फुच्चे हाँसोमै सबैका कुरा पचाइदिन्थ्यो। 

दिनभरि ऊ खलासी भएर काम गथ्र्यो। खाजा र खाना गुरुजीसँगै बसेर खान पाउँथ्यो। साथीहरूको सङ्गतले होला उसले कलिलो उमेरमै खैनी चुरोट खान सिकिसकेको थियो। रत्नपार्क र नयाँठिमी चोकका पालो पर्खाइलाई ऊ खैनी चुरोट खाने अवसरका रूपमा उपयोग गर्दथ्यो। बाटामा हिँडिरहेका बेलामा ऊ अरु ठुला खलासीले जस्तै गरेर जुल्फी मिलाउँदै, चुइगम चपाउँदै, जिस्किँदै र जिस्क्याइ खाँदै आफ्नो काम गर्दथ्यो। 

एक दिन बिहान फुच्चेले माइक्रो धोइपुछी गर्‍यो।  सधैँजस्तै गरेर यात्रुलाई ‘माइतीघर, सुन्धारा, रत्नपार्क...’ भन्दै बोलाउन थाल्यो। कलेज जाने र साग सब्जी किन्न जानेको भिडले अरुबेला दस मिनेट नबित्तै गाडी भरिन्थ्यो। त्यसदिन भने खासै मान्छे आएनन्।  बल्लबल्ल दुई तिनजना अलि भलाद्मी मानिस चढे।  यात्रुको खचाखच नभए पनि आफ्नै सुरमा गाडी बिस्तारै अगाडि बढ्न थाल्यो।  गाडी खाली भएपछि फुच्चे पनि सिटको छेवैमा बस्यो। गोजीबाट खजमज्ज परेका पाँच, दस, बिसका नोट गन्यो। आफ्नै सुरमा ‘एक पटक चुरोट तान्न नि नपुग्ला’ भन्दै आफैसँग गन्गनायो।

गठ्ठाघर चोकमा गाडी पुग्दा थुप्रै मान्छे देखिए। जाडोले हात कक्रिएर होला, फुच्चेले आज गाडीको ढोका खोल्नै सकेन। गुरुजी रिसले आगो भए।  बल्लतल्ल उसले ढोका खोलिदियो तर यात्रु अर्कै गाडीको पर्खाइमा रहेछन्। 

त्यस  गाडीमा अघिदेखि बसेका एक जना भलादमी शिक्षक रहेछन्। उनले अघिदेखि त्यो फुच्चे खलासीलाई नियालिरहेका थिए। ‘कस्तो सानो केटो खलासी रहेछ ! फेरि यस्तो जाडोमा कपडा पनि बाक्लो रहेनछ।’ भन्दै मनमनै दया देखाउँदै थिए। गाडी कोटेश्वर नपुग्दै फुच्चेले शिक्षकसँग भाडा माग्यो। उनलाई त्यस केटासँग केही गफ गर्न मन लाग्यो। उनले भाडा दिँदै बडो मायालु पाराले सोधे ‘बाबू तिम्रो घर कहाँ हो ? तिमी कति वर्षका भयौ ?’ आफ्ना हातले कानको घोचो मिलाउँदै हँस्यौलो पाराले  फुच्चेले जवाफ दियो ‘हैन हो अङ्कल सबैलाई उमेर भन्न त मिल्दैन पो त !’

शिक्षकले पनि रमाइलो गर्दै जिज्ञासा फेरि दोहोर्‍याए। 
अब भने उत्तर आयो, ‘एघार वर्ष।’
‘अनि घर नि ?’
‘घर त के भन्नु र ! छैन भने पनि हुन्छ।’
‘किन नि ?’
‘बारपाकमा थ्यो। भत्किहाल्यो नि।’
यो सुन्नासाथ शिक्षकको मनमा चस्का पस्यो। फेरि नम्र भएर सोधे ‘नाम नि नाम ?’
‘नाम त उमेश हो। तर...!’

‘तर के ?’
‘कसैले नामले बोलाए पो !’
‘के भन्छन् त ?’
‘ह्या..., के के भन्छन् भन्छन् नि ! कसैले फुच्चे भन्छन्। कसैले मुन्द्रे भन्छन्। यस्तै उस्तै।’
‘अनि कसैले त जुल्फे पनि त भन्लान् नि ?’ शिक्षक मुस्कुराए।
ऊ पनि मुस्कुराउँदै आफ्नै तालमा लाग्यो। 

गाडी आफ्नै गतिमा अगाडि बढिरहेको थियो। बेलाबेला ऊ भ्mयालबाट टाउको निकालेर यात्रु बोलाउँदै थियो। मान्छे भने खासै आएका थिएनन्। शिक्षकले फेरि सन्दर्भ जोडे ‘उमेश, तिमीले हिजोआज पढ्नचाहिँ छोड्यौ ?’ खलासी पेसाको जीवनमा पहिलो पल्ट कसैले आपूmलाई खास नामले बोलाउँदा उमेश मख्ख पर्याे।  अब ऊ शिक्षकका कुरा अलि सुन्न पनि थाल्यो। ऊ गम्भीरझै देखियो र भन्यो ‘के भन्नु र ! भूकम्प आएको बेला म चार कक्षामा पढ्थेँ। आफ्नो स्कुल नि भत्कियो। घर पनि भत्कियो, आमाबा पनि त्यै घरमा खत्तम। त्यसपछि मेरो पढाइसढाइ त सक्किगो नि। कतिदिन भोकै त बस्नु परो !’ आफ्ना कलिला अाैलाले आँसु पुछ्दै सुक्कसुक्क गर्दै ऊ रोयो।

शिक्षकले ०७२ वैशाखको भूकम्प सम्झिए। त्यस विपत्तिले दीनहीन बनाएका पीडितलाई पनि सम्झिए। उनले मायालु स्वरमा सोधे ‘तिमीले पायौ भने अझै पढ्छौ त ?’ उमेश एकछिन त्यसै अकमक्क पर्यो अनि जिज्ञासु बन्दै जवाफ फर्कायो, ‘पैसा कसले दिन्छ र ?’ शिक्षक ऊतिरै हेरिरहेका थिए। 

फेरि ऊ आफै बोल्न थाल्यो ‘मलाई पढ्न त धेरै मन थियो। रहरमात्रैले कहाँ भयो र ?’ यसपछि उसले एकछिन के के सम्झियो कुन्नी अनि फेरि भन्यो ‘नाइँ हौ अब त सकिँदैन। पढ्ने बानी त हराइसक्यो !’ 

यतिबेरमा गाडी बानेश्वरबाट अगाडि बढ्यो। यात्रु धेरै थिएनन्। बाँकी भएकाहरूबाट उसले भाडा उठायो। अब त चढ्ने यात्रु पनि थपिएनन्। ऊ फेरि तिनै शिक्षकको छेउमा आइपुग्यो। शिक्षकले फेरि गफलाई जोडे ‘म तिमीलाई कक्षा दससम्म निशुल्क पढ्ने व्यवस्था मिलाइदिन्छु, हुन्छ ? मेरो एउटा छात्रावास पनि छ। म तिमीलाई त्यहीँ बस्ने बन्दोबस्त मिलाइदिन्छु नि ! के तिमी मसँग जान्छौ उमेश ?’ सायद यो कुरा उमेशको सोचाइभन्दा बाहिरको थियो। ऊ त झन अलमलमा पर्यो। उसले आफ्ना  आँखा चम्किला, ठुला र आशाले भरिएका बनाउँदै शिक्षकतिर हेरिरह्यो तर केही बोल्न सकेन। बरु एक छिनपछि फिस्स हाँस्यो मात्र। 

उसको त्यो हँसाइलाई शिक्षकले उसकै मनको चाहनाका रूपमा बुझे। त्यतिबेलासम्म गाडी पुरानो बसपार्क पुगेर टक्क रोकियो। सबै यात्रुहरू खुरुखुरु झरे। शिक्षक भने हतार नगरी बसिरहे।

गाडी क्युमा राखेपछि उमेश र गुरु दुवै खाली भए। उनीहरू दुवैको चुरोट खाने समय थियो यो। गुरुले उमेशतिर हेरेर त्यसैका लागि सङ्केत गरे तर पर्खिरहेका शिक्षकले एकछिनका लागि दुवैलाई रोके। उनी गुरुजीका छेवैमा गए र भने ‘गुरुजी तपाईंसँग एउटा कुरा अनुरोध गर्नुपर्योे।’ प्याकेटबाटै खन्याएर मुखभरि पराग बनाएका गुरुजीले शब्दले नबोली टाउकैले ‘के हो ?’ भन्ने इसारा गरे। शिक्षकले विनम्र भएर भने ‘गुरुजी ! आजको जमानामा एघार वर्षको बालकलाई खलासी बनाएर हिँडाउनु हुँदैन। यो कानुन विपरीत कुरा हो। फेरि यो उमेश त भूकम्पपीडित बालक रहेछ। उसले त चार कक्षा मात्र पढेको रहेछ। मलाई ज्यादै दया लाग्योे। यो बालकलाई म निशुल्क कक्षा दससम्म पढ्ने व्यवस्था गरिदिन्छु। गुरुजी ! यसलाई मेरो साथमा पठाइदिनुहोस्।’ 

यो कुराले एकछिन त गुरुजी अक्कनबक्क भए। आफ्नो सहयोगीलाई भड्काउन लागेको भनेर उनलाई एकपटक शिक्षकसँग रिस पनि उठ्यो। गुरुजीले फेरि उमेशको निर्दोष बालस्वभावलाई सम्झिए। उनले ठाने ‘यस्तो कल्कलाउँदो उमेरको बालकले पढ्न त पाउनैपर्छ। मैले त पढाउन सकिनँ, कोही उसलाई पढाउने मान्छे निस्कन्छ भने किन नदिने ?’ यसपछि उनले उमेशतिर हेर्दै सोधे ‘ए फुच्चे पढ्छस् त तँ ? उहाँले तँलाई पढाइदिने रे !’ उमेशले हुन्छ भन्ने भावमा टाउको हल्लायो। 

उमेश  त्यही दिनदेखि ती शिक्षकको  जिम्मामा भयो। शिक्षकले घरमा नै नपुगी बाटाबाटै उमेशलाई सैलुनमा लगेर कपाल छोटो र  सामान्य पाराको पार्न लगाए। उसको कानको मुन्द्रो पनि फुकालिदिए। उसका लागि नयाँ ज्याकेट, जुत्ता र ट्राउजर्स  किनिदिए। उमेश रूप फेरिएर फेरि विद्यार्थी नै भयो। 

एउटा अग्लो घरको भर्‍याङ हुँदै शिक्षकले उमेशलाई माथिल्लो तलामा लागे। त्यहाँ कक्षा चारका विद्यार्थी बसेर पढ्दै रहेछन्। शिक्षकले हाँस्दै ‘तिमीहरूको लागि नयाँ साथी ल्याएको छु। उसको नाम उमेश हो’ भने। सबैजना ‘उमेश हाम्रो साथी’ भन्दै  रमाउन थाले। उमेशले पनि अब आफ्नो नयाँ जीवनको सुरुवात गर्‍यो।

प्रकाशित: ४ फाल्गुन २०७५ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App