७ वैशाख २०८१ शुक्रबार
अन्य

ब्रेन, ब्युटी र बेसार

हिजोआज अधिकांश मानिसहरूले ब्रेनलाई भन्दा ब्युटीलाई महत्व दिने गरेका छन्। अनुहारलाई राम्रो बनाउन खासगरी महिलाहरूले अनेक प्रकारका महँगा सौन्दर्य प्रसाधनहरू प्रयोग गर्छन्। तर, सौन्दर्यको मनोवैज्ञानिक सत्य के हो भने जबसम्म मानिस स्वस्थ हुँदैन, उसको मस्तिष्कले ठीकसँग कार्य गर्दैन, तबसम्म उसको मनमा शान्ति आउँदैन, अनुहारमा क्रान्ति छाउँदैन। वास्तबमा हेल्दी बोडी हेल्दी बे्रन भएको मानिस नै ब्युटीफुल देखिन्छन्। यसका लागि मानिसहरूले महँगा–महँगा बजारिया टनिक तथा सौन्दर्य प्रसाधनहरू प्रयोग गर्न आवश्यक छैन, बेसार जस्ता स्वास्थ्यवद्र्धक तथा सौन्दर्यवद्र्धक प्राकृतिक पदार्थहरू ठीक ढंगबाट प्रयोग गरे पुग्छ।

के हो बेसार ?
नेपालमा सदियौदेखि मसला र औषधिको रूपमा उपयोग हुँदै आएको एक चर्चित कन्दमूल हो, बेसार (टरमरिक)। जिन्जिबेरसी परिवारको यस कन्दमूलको वानस्पतिक नाम हो, करक्यूमा लोन्गा। विशेष गरी दक्षिणी तथा दक्षिण पूर्वी एसियाको यस कन्दमूल पछिल्लो समय अनेक वैज्ञानिक अनुसन्धानका कारण आज विश्वभर लोकप्रिय छ। त्यसो त परापूर्व कालदेखि नै नेपालको अधिकांश भुभागहरूमा खेती गरिने यस बेसारको गुणहरूका वारेमा आयुर्वेदमा पर्याप्त वर्णन पाइन्छ।

सुपर स्पाइस
बेसार मसलाहरूको राजा हो। यस वनस्पति पौष्टिक तथा औषधीय गुणहरूले भरिएका कारण नै दैनिकरूपमा उपयोग गर्न वैदिक ऋषिमुनिहरूले यसलाई भान्छामा ल्याएका हुन्। बेसारमा हुने कुर्कुमिन नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो। कुर्कुमिनमा विभिन्न औषधीय तत्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा बेसारमा भिटामिन ए, केही मात्रामा भिटामिन बी, बी २, सि र क्यालोरी (३९० क्यालोरी प्रति एक सय ग्राममा) पाइन्छ भने क्याल्सियम, फस्फोरस, फलाम आदि जस्ता खनिज प्रचुर मात्रामा पाइन्छ। बेसारले हाम्रो भोजनलाई रंग दिएर आकर्षक त अवश्य बनाउँछ। यसको अतिरिक्त शरीरलाई विशेष पौष्टिक तत्वहरू पनि प्रदान गर्छ।

ब्रेन फुड बेसार
बेसार एक निकै प्रभावकारी एन्टिअक्सिडेन्ट हो र यसको नियमित प्रयोगले शरीरमा उत्पादन हुने फ्रिरेडिकल्सलाई निस्क्रिय पार्छ। यसले रगतमा कोलेस्टेरोलको मात्रालाई बढ्न दिँदैन र उच्च रक्तचाप तथा ह्दय सम्बन्धी रोगहरूलाई नियन्त्रण गर्छ। बेसारले रक्त संचारलाई प्रभावकारी बनाउने हुँदा बे्रनलगायत शरीरका हरेक अंगहरूलाई स्वस्थ बनाउन सहयोग गर्छ। स्मरणशक्ति बढाउँछ। मुलकुरो यसले अल्जाइमर जस्तो घातक बिर्सिने रोगको रोकथाम गर्छ। बेसार सेवन गर्ने मानिसहरूको तुलनामा बेसार सेवन नगर्ने मानिसहरू बढी अल्जाइमरको शिकार भएको तथ्यांकले देखाएका छन्।

औषधि हो बेसार
बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो। आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन्। यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मुल गर्न बेसारलाई प्रभावकारी मानेका छन्। बेसारमा पोलिफेनोल वर्गको एक केमिकल पाइन्छ, जसलाई कर्कुमिन भनिन्छ। बितेका २० वर्षमा कर्कुमिन सम्बन्धी धेरै अनुसन्धान भएका छन्। विशेष गरेर क्यान्सर नियन्त्रण, हृदय रोग तथा बाथ रोगहरूको सम्बन्धमा पबमेडमा मात्रै कर्कुमिन सम्बन्धी करिब १२ सयभन्दा बढी वैज्ञानिक अनुसन्धानका रिपोर्टहरू प्रकाशित भएका छन्। वैज्ञानिक अनुसन्धानका अनुसार कर्कुमिनले क्यान्सर नियन्त्रण वा त्यसको अनियन्त्रित विकास हुनबाट बचाउँछ। कर्कुमिन मलाशय, पेट, मुख र स्तन क्यान्सरको विरुद्धमा लड्ने गर्छ। कर्कुमिनको अर्को महŒवपूर्ण प्रयोग हृदय सम्बन्धी रोगलाई नियन्त्रण वा उपचार गर्नमा रहेको छ। कर्कुमिन बाथको पनि अचूक औषधि मानिन्छ। यो दुखाइ नियन्त्रणको शक्तिशाली पदार्थ हो। कर्कुमिन दुखाईसँग सम्बन्धित इन्जायमलाई दबाउने काम गर्ने यसको अनुसन्धानमा लागेका वैज्ञानिकहरूको दाबी छ।

अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जील बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पुर्‍याउने क्षतिसमेत कम हुने तथ्य प्रमाणित गरेका छन्। क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदन अनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ। बेसार प्राकृतिक रक्तशोधक हो। यसले रगत संचालन राम्रो गर्छ। आर्टरिजलाई मजबुत बनाउँछ। खराब कोलेस्टोरललाई घटाउँछ। यसमा पाइने एन्टीमाइक्रोबाइलका कारण यसले कलेजो डेटक्स गर्छ, वाइल उत्पादन बढाउँछ।  

ब्युटीफुल बेसार
बेसार सौन्दर्यवद्र्धक पनि छ। छाला स्वास्थ्यका लागि बेसार निकै गुणकारी मानिन्छ। त्यसैले वैदिक संस्कृतिमा यसलाई उवटनको रूपमा प्रयोग गर्दै आएको पाइन्छ। बेसारको उचित उपयोग गर्ने हो भने महँगा र हानीकारक रसायनयुक्त सौन्दर्य प्रशाधनको कुनै आवश्यकता पर्दैन।

बेसारको फेस मास्क
एक चम्चा बेसन, आधा चम्चा बेसार, दुई चम्चा दही तथा आधा चम्चा मह लिने र राम्रोसँग मिसाउने। अब प्राकृतिक फेस मास्क तयार भयो। यसलाई हप्ताको दुई पटक अनुहारमा लगाउने र १५ मिनेटपछि धुने। यो पेस्टलाई शरीरमा पनि लगाउन सकिन्छ। यसरी बेसारको प्रयोग गर्ने हो भने अनुहार सफा र उज्यालो हुन्छ। यसले बजारमा पाइने महँगा फेस प्याकले भन्दा निकै फाइदा गर्छ। अनुहारमा दाग, धब्बा तथा डन्डिफोर छ भने त्यहाँ पनि यो पेस्ट लगाउन सकिन्छ।

कालो तथा घना कपाल
कपाल झर्ने, फुल्ने तथा चाया पर्ने समस्या छ भने बेसार एक समाधान हुन सक्छ। यसका लागि दुई चम्चा नरिवलको तेलमा आधा चम्चा बेसार मिसाउने र कपालको जरोमा राम्रोसँग लगाउने। अनि आधा घण्टा पछि कपाल धुने। एक महिनामा नै सकारात्मक परिणाम देखा पर्छ।

दाँतको दबाइ
एक चिम्टी बेसार, एक चिम्टी सिधे नुन अलिकति तोरीको तेलमा मिसाउने। प्राकृतिक टुथ पेस्ट तयार भयो। योभन्दा उत्तम टुथ पेस्ट संसारमा छैन। दिनहँु यस पेस्टले ब्रस गर्ने र औंलामा यो पेस्ट लगाएर गिजा मसाज गर्ने हो भने दाँत चम्किलो र बलियो हुन्छ। गिजा मजबुत हुन्छ। दाँत र गिजाका रोगहरू निर्मुल हुन्छन्।

बेसारको सेवन
बेसार यति गुणकारी छ कि दिनहुँ यसको सेवन तथा प्रयोग गर्नु स्वास्थ्य र सौन्दर्यका दृष्टिकोणले निकै उत्तम छ। एक वयस्क मानिसले दिनहुँ लगभग दुई ग्राम जति बेसार सेवन गर्न सक्छन्। त्यसैले दिनहुँ १–२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन। यसको कुनै प्रभाव हुँदैन। तर, बेसार शुद्ध र गुणस्तरीय चाहीँ हुनुपर्छ।

गोल्डन वाटर
एक गिलास मनतातो पानीमा आधा चम्चा बेसार अलिकति मरिचको धुलो मिसाउने र बिहान खाली पेट यो पेय पिउने। आधा घन्टा कुनै कुरा सेवन नगर्ने। यस पेयमा आधा चम्चा कागतीको रस तथा एक चम्चा मह पनि मिसाउन सकिन्छ।

गोल्डन मिल्क
एक गिलास दुधलाई उमाल्ने र मनतातो भएपछि त्यसमा आधा चम्चा बेसार हालेर घोल्ने र सुत्ने बेलामा पिउने। दुधमा बेसारका साथै आधा चम्चा बदामको तेल वा बदामको पेस्ट, आधा चम्चा नरिवलको तेल, आधा दालचिनी तथा सकुमेलको धुलो तथा एक चम्चा मह हालेर पिउन सकिन्छ।

अन्तमा
बेसार मानिसको प्राकृतिक तथा स्वभाविक आहार हो। र, यसलाई हाम्रा पुर्खाहरूले सेवन गर्दै आएको हँुदा यसलाई कलेजोले स्वभाविकरूपमा ग्रहण गर्छ। उचित मात्रामा बेसारको सेवन गर्दा यसले ब्रेन र बोडीलाई फाइदा नै फाइदा गर्छ, तनमनलाई स्वस्थ र मजबुत बनाउँछ। त्यसैले बेसारलाई दालतरकारी आदिमा प्रयोग गरेर सेवन गर्नुको साथै शुद्ध बेसार करिब आधादेखि एक चम्चा बिहान–बेलुकी दुध वा पानीसँग लिने गरौं, अनि रोग मुक्त होऊँ। (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन्।)

प्रकाशित: ४ फाल्गुन २०७५ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App