हरिमाया भेटवाल
लाग्थ्यो हामी बसेको दुरीभन्दा धेरै टाढा छैन हाम्रै टाउका माथि छ घाम। बिहानै कोठाबाट बाहिर निस्कनासाथ पसिना आउने गर्मी। रोक्सी होटल (चुनामन्डी, दिल्ली)मा बसेको पाँच दिन पछि थाहा भएको थियो यो अनौठो कुरा।
सानुमा सुनेकी थिएँ ठूल–ठूला राजा महाराजाले बाज पालेका हुन्छन्। उनीहरुले तिनै बाज मार्फत आफ्ना प्रेम पत्र पठाउँछन्। वा कुनै अर्को देशसंग युध्द हुँदा तिनकै प्रयोग गर्छन्। तर आज ति दुबै भन्दा फरक थियो कुरा। उसो त अचेल प्रेमपत्र लेखिँदैन। हाम्रा पालामा प्रेम पत्रको पुछारमा फिल्मको कोटेशन पनि राखिन्थ्यो। त्यस्ता कोटेशन प्रायः यात्रुबाहक बसबाट टिपिन्थ्यो। साभार भनेर लेख्ने चलन चाहिँ थिएन।
धेरैले सोच्थे होलान् ति कोटेशन मेरै लागि लेखिएका हुन्। तिनै कोटेशन पढेर प्रेम मौलाएको पनि सुनिन्थ्यो। अचेल न उबेला जस्तो प्रेम हुन्छ न चिठ्ठीनै लेखिन्छ। बरु फुत्तफुत्त म्यासेन्जरमा, भाइबरमा प्रेम पनि कपि पेस्ट हुन्छ।
मलाई उनको गालामा चुँक्क गर्न मन लागेको थियो। वरिपरी हेरें र आफैं लजाएँ। मेरा ओठहरुले नदिए पनि आँखाले उनलाई लाखौ केजी माया बर्षाइरहेका थिए। भारतीय नागरिकलाई नेपाली आँखाले हेरिने मेरो दृष्टिकोण भत्काइदिएको थियो उनीसँगको भेटले।
साँच्चै म संसारका प्रेमिल मान्छे भन्दा चराको विषयमा सोच्दै थिएँ। सोचि ल्याउँदा आफै ‘बिचरा’ बन्न पुगें। आफ्नै देशका कति चरा यि आँखाले देखि भ्याको छैन। पखेँटा बिनाकि ‘वि चरा म’ कुखुरा जति उड्नु पनि त मेरा लागि कति गारो काम हो ! अनि कसरी थाहा पाउनु चराको वर्ग ? तिनका विशेषता ! मान्छेका आँखा बाजका जस्ता हुन्थे भने एक किलोमिटर परको वस्तु सजिलै देखिए झैं हरेकले आफ्ना प्रेमीका हर्कत हेरेर पखेटाको उडान पाँचसय किलोमिटर पर आवर बनाउँथे होलान् !
सोच्दासोच्दै बाज भन्दा छिटो उडेको मेरो मनलाई चियाको गिलाँसमा लगेर ठोक्काउँछु। ‘दिदी पहिले चिया खाउँ अनि निस्कौंला बाहिर !’ गीता बैनी चियाको कपसँगै उभिएकी थिइन्।
‘ढिलो हुँदैन ?’ मैले सोधें।
‘हुँदैन के....लेख्ने मान्छेलाई नयाँ कुरा हेर्न कति छटपटाहट हौ !’, उनले मेरो अधैर्यतालाई चिमोटिन र हाँसिन्, ‘ठिक सात बजे आउँछन् उनीहरु। मैले फेरी मोबाइल हेरें, सात बज्न दश मिनेट बाँकि थियो। एकाएक दिल्लीको पहाडगन्जबाट मेरो मन झापाको स्कूले चौरमा पुग्यो। हामी तीन कक्षा पढ्दाका कुरा सम्झिएँ। त्यो दिन हामी कक्षा बाहिर सिसौंको रुख मुनि जादुगरलाई पर्खि बसेका थियौ। नयाँ कुरा हेर्न पर्खिनु कति मजा हुन्छ कति ! सबैको उत्सुकता भरिएका आँखा ! डर साटासाट गरेको त्यो खासखुस ! झारमाथि पलेटी मारेर हात बाँधेर बसेको आशन ! कसैले भ्वाक्क पादेपछि हाँसो रोक्न हत्केलाले छोपेको मुख ! पछाडी बसेको साथीले नीलो सर्टमा सेतो चकले लेखेको जादु ‘ज’।
‘बुझिस् जादुगर त कस्तो खतरा हुन्छ नि ! त्यसले त जे नि गर्न सक्छ हामीलाई। च्वाट्टै काटेर दुई टुक्रा पारेर फेरी जोडिदिन सक्छ हाम्रो बाले भनेको’, साथीका कुरा सुनेर तीनछक्क पथ्र्यौं हामी।
अतित सम्झेर मुस्कुराएको हाँसोलाई ढाडमा धकेल्दै गीता बैनीले ‘बाहिर जाउँ’ भनेपछि बल्ल फुलिस्टप लाग्यो बाल्यकालको उडानमा !
भुकम्पले हल्लाए जस्तो एउटा पुरानो बिल्डिङ ठाउँठाँउमा भत्किएको थियो रोक्सी होटलको ठिक अगाडि। लाग्थ्यो त्यहाँ मान्छे हैन, मुसा र माकुराको साम्राज्य छ। मलाई के थाहा त्यहाँ बाजहरुको पनि एकल राज्य छ भनेर !
मान्छेकै शरीर भित्र त के के हुन्छ के के भने त्यो घरभित्र म कसरी भन्न सक्थें के के छ भनेर ? बाहिर देखिने दृश्य भने बडो गजब लाग्यो मलाई। बिहानैदेखि गीता बैनीले भनेको दृश्य हेर्न लालायित थिए आँखा। हातैमा भएको घडि नहेरेर मोबाइल घडि हेर्दै थिएँ घरिघरि। हामी होटल अगाडि निस्केर मेनरोड छेउ लागेका थियौ। जब सात बज्यो एउटा दुईटा गर्दै थुप्रै बाज घुम्न थाले त्यो बिशाल शहर बीचको घरलाई फन्का मार्दै। तल एक जना खाइलाग्दा ओमीजी पचपन्न वर्ष जति उमेर देखिने दाजू सेतो गाडी लिएर आइपुगे।
उनको गाडी भित्र एउटा कुकुर मान्छे बसे झैं बसेर झ्याल बाहिर हेर्दै थियो र्याल चुहाउँदै। तर यो शहरमा कति मान्छे यो कुकुर भन्दा भिन्न खाले राल चुहाउँदै हिँड्दा हुन् ! हामीलाई घुरिरहेको एक अधबैसे हेरेर अन्दाज लगाउँछु र फेरी बाजमै आँखा पुर्याउँछु।
लाग्छ बाजले पनि घडि लाउँदा हुन्, म मनमनै हाँस्छु। तिनका खुट्टा र चुच्चो कुनै हतियार भन्दा कम छैनन्। सेतो गाडी लिएर आएका ति गँहुगोरा मान्छे गाडी अगाडी जसै उभिन्छन्, बाजहरु उनीतिरै सोझिन्छन्। उनले एउटा ठूलो प्लास्टिकको झोला हातमा बल गरेर समातेका छन्। टुक्रा पारिएका पनिर जब उनी फुत्तफुत्त आकाशतिर फाल्न थाल्छन् तब बाजहरु भुइँमा खस्न नदिइ ट्याप्प आकाशमै चुच्चा र खुट्टाले समात्छन्।
उनी झोला बिसाउँछन्। र दुबै हातले दुईतिर पनिरका डल्ला फ्याँक्न थाल्छन्। त्यो नि घडिको सुई घुमे जत्तिकै छिटो ! खाँदै घरका बिमहरुमा बस्दै फेरी उडेर पनिर समात्तै थिए बाजहरु। मैले गन्न थालें– एक....दुई...तीन....गन्नै सकिन। गनेको एउटा अघि उडेर अर्कोमा मिसिन पुग्छ।
अब भने क्यामेराले बाजलाई कैद गर्न थाल्छु। कस्तो अचम्म ! मलाई उनीहरुले जादु देखाए जस्तै लाग्छ स्कूलमा झै ! दश मिनेटमै उनीहरुले झन्डै बीस केजि पनिर खाएर खेला सकाए।
ओमीजी गाडी घुमाउँदै हामीलाई हेरेर मुस्कुराईरहेका थिए। मैले उनतिर हेर्दै भनें, ‘मै बात करशक्ति हुँ आपस से ?’
उनले गाडीमा ब्रेक लगाए र नजिक आए ।
‘मै हिन्दी अच्छे नहीँ बोलती हुँ, आप नेपाली सम्झेङगे ना।’
‘हा....भन्नुहोस।’
‘कसरी यि बाजहरु ठिक सातबजे यहाँ आउँछन् तपाई आउनासाथ ?’ ओमीजी अघि भन्दा अलिधेरै मुस्कुराए अनि हातले गाडीको चाबी घुमाउँदै भन्नथाले– ‘हाम्रो बाबुजी सारै मेहनती हुनुहुन्थ्यो। हामी बाबुजीलाई ईश्वर जस्तै मान्थेम। अहिले जे जति जमिन, घर छ बाबुजीको आशीवार्दले छ। बाबुजीकै नाममा मैले यि बाजलाई खुवाउने गर्छु।’
‘गरिबलाई खान दिँदा नि हुन्थ्यो किन बाजलाई नै दिने सोच्नु भो ? फेरी बाज कसरी यो शहरमा खान पाइन्छ भन्ने थाहा पाएर आए ?’
‘जहाँ लगेर हामीले बाबुजीको समाधी बनाएका थियौ त्यहाँ म सधै गुलाफको सेतो फुल चढाउँन जान्थें। प्रत्यक दिन त्यहाँ एउटा बाज बसिरहेको हुन्थ्यो। मलाई लाग्यो उसले बाबुजीलाई रुँघिरहेको छ। भोलिपल्टदेखि जाँदा मैले उसलाई दिन पनिरका टुक्रा लान थालें।
त्यसपछि ऊ मेरो घरसम्म आउन थाल्यो। पछि मैले उसलाई घरमै पनिर दिन थालें। सायद उसले प्रेमी, साथी, आफन्त सबै बोलाउँदै ल्यायो। उनीहरुलाई थाहा छ कि म ७ बजे आउँछु भन्ने। प्रेम बसेको छ अहिले उनीहरुसँग।’
यति भनिसके पछि दाँत देखिने गरि हाँसे उनी। हामी पनि हाँस्यौ। हामीले करिव पाँच मिनेट जति बोल्दै गर्दा मैले आकाशतिर नियाले तर त्यहाँ सेता वादलका झुण्ड मात्र थिए। आएकै बाटो लागे होलान् बाज पनि हामी मान्छे झैं ! एकैछिनमा उड्दाउड्दै हराए उनीहरु।
अब त्यहाँबाट हराउने पालो थियो हाम्रो। हामीलाई साथ दिन डा.निकिता चौधरी आइन बाटोमै। उनलाई भेट्दा हामी लामो समय बिछोड भएका दिदीबैनी जस्तै भयौं। ठूलो सरकारी पोष्टमा काम गर्ने उनको जीवन स्टाईल र सरलता देखेर अचम्मित थिएँ म। हामी मेट्रो ट्रेन चढेर एपोलो हस्पिटलतिर लाग्यौ। बाहिर निकै गर्मी थियो तर ट्रेनभित्र पस्नासाथ एसी चलेकाले हाम्रो सिथिलता गायब भो। ट्रेनमा उभिएरै गरेको गफले पनि हाम्रो खुसी ट्रेनभरि छरिएझै भएको थियो। र, त कोही कोही यात्रुहरु हामीलाई हेरेर झनै उज्यालो अनुहार बनाउँथे। कतिका चाहिँ आँखा इन्टरनेटमै ब्यबस्था भए पनि कान हामीतिरै थापिरहेझै देखिन्थे। म झुक्किएर बीचबीचमा नेपाली शब्द बोलिहाल्थें। डा. निकिता मलाई पुलुक्क हेर्थिन् र ‘म बुझ्छु नेपाली’ भन्दै मुस्कुराउँथिन्। उनी नेपाल थुप्रै पटक आएकी थिइन र नेपाली भाषा सिक्दै पनि। उनलाई हाम्रो देश निकै सुन्दर लाग्छ रे।
उनले गीता र मेरो काँधमा अँगालो हालिन्, ‘यस्तो सुन्दर देशका यति सुन्दर मान्छे मेरा साथी भएका छन्।’ मलाई उनको गालामा चुँक्क गर्न मन लागेको थियो। वरिपरी हेरें र आफैं लजाएँ। ट्रेनमा हामी नभएका भए म उनलाई स्नेहको एउटा मिठो चुम्बन दिने थिएँ। मेरा ओठहरुले नदिए पनि आँखाले उनलाई लाखौ केजि माया बर्षाइरहेका थिए। भारतीय नागरिकलाई नेपाली आँखाले हेरिने मेरो दृष्टिकोण भत्काइदिएको थियो उनको भेटले।
हामी ट्रेनबाट निस्किएर एपोलोतिर हिँड्न थाल्यौ डा.निकिताको खुट्टा थोरै दुखे झैं खुम्चाएर हिँड्दै थिइन्। ‘आज नयाँ जुत्ता लगाएर आएको खुट्टामा घाउ बनाइदियो’, उनले भनिन्। हामी हस्पिटलको आँगनमा पुग्यौ। नेपालमै जस्तो अस्पताल वरपर औषधी पसल थिए त्यहाँ। पहिले टेप किनेर माथि चढौं भनियो र टेप किन्ने पसल नजिक पुग्यौं। एउटा सामान्य हेन्डिप्लास्ट किन्न आधा घन्टा कुर्नु पर्ने रहेछ।
पहिला लाइन लाग, पैसा तिर, बिल बोकेर फेरी दबाई किन्ने ठाउँमा नम्बर कुरेर बस ! हाम्रो आधा घन्टा समय दबाई पसलले खाइदिएको देखे पछि मनमनै आफ्नो देशमा यति सानु कुरा किन्न लाइन बस्नु नपर्ने कुरा सम्झिएरै खुसी भएँ। हामी गफिँदै दुईतला माथिको डा. एसके अग्रवालको काउन्टरमा पुग्यौ। डा.निकिताले नै हामीलाई समय मिलाइदिएकी थिइन्। म नेपाली भएकाले पासपोर्ट नम्बर दिनुपर्ने भो, मैले बाज हेर्ने धुनमा पासपोर्ट होटलमै छाडेछु। मैले मोबाइल फोनमा सेभ भएको नागरिकताको नम्बर दिएँ।
बिदेशी नागरिकलाई फेरी एउटा फर्म तल गएर भर्नुपर्ने रहेछ। हामी सँगै गएका सुदेश सुबेदी भाईले तल गएर फम भर्दै गर्दा हामी फेरी गफमै मस्त भयौ। वरपरका मान्छे बिरामी चाहिँ को होला भनेका आँखाले हामीलाई हेर्दै थिए। गीता बैनी र म दुबै डा. अग्रवालको रुममा छिर्यौं। भित्र पस्दा भन्दा बाहिर निस्किँदा हाम्रो अनुहार झनै उज्यालो भएको थियो।
हामी होटल फर्कियौ। एउटा कुरा भन्छु– तपाई पुरुष साथीहरु नरिसाउनुहोस ल ! तपाईंहरु आफ्ना मिल्ने पुरुष साथीसँग हुँदा रमाइलो गर्न हार्ड ड्रिक्स गरेर बस्नुहुन्छ नि, हामी महिला चाँही आ–आफ्नै घरका पुरुषसँगको सम्बन्धको, प्रेमको, बिरामी र परिवारका बारेमा कुरा गरेर समय बिताउने गर्छौ। अच्छा छैनाै त हामी ....?
प्रकाशित: ४ फाल्गुन २०७५ ०४:०२ शनिबार