‘यो बास कुनै हो मेरो नीत्य जीवन मार्गको,
म कतैतिर हिड्ने छु स्वप्न पुरा भएपछि।’
नाट्यसम्राट बालकृष्ण समको प्रवेशद्वारमा फलामका अक्षरले लेखिएको उनको मन परेको रचना मध्येको एक थियो यो। उक्त कविता डायरीमा लेखेर भित्र पसें म। स्वयम्भू स्वरुपको आँखा भएको भित्री निवासको ढोका ढक–ढक गरें। लामो कोट लगाएका खाइलाग्दा उज्यालो व्यक्तिले ढोका खोलेर सोध्नु भयो– कताबाट ? मैले भनें– ‘हजूरको दर्शनको लागि आएको आठराईबाट।’
मैले आठराईबाट ल्याएको एउटा राम्रो खुकुरी समजीलाई उपहार दिन बोकेको थियो। मलाई भित्र लिएर जानुभयो। बसाउनु भयो। मैले उपहारस्वरुप ल्याएको खुकुरी समजीको हातमा दिदैं– ‘मेरो उपहार’ भने। उहाँले आठराईको खुकुरी अत्यन्त खुसी भएर लिनु भयो। समले भन्नु भयो– ‘मलाई आठराई साह्रै मन परेकोछ तर अहिलेसम्म जान पाएको छुइन।’ ०२४ माघ २४ गते दश–एघार बजेतिर मेरो पहिलो भेट ती महान साहित्यकारसँग भएको थियो। त्यो दिन उहाँको जन्म दिन रहेछ। हाम्रो कुरा शुरु भयो। समजीका नाटकका धेरैजसो कविता मलाई कण्ठ आउथे। ‘स्वर्गबाट यहाँ ओर्ले भने अमर मर्दछन्, चिन्ताको रापले सुक्दै किता पथ्थर बन्दछन्। समजीको ‘मुटुको व्यथा’ नाटकमा व्यक्त यो कविताको ब्याख्या गरेर मैले सुनाएँ। निचोडमा ‘बुद्धले पनि पाप गरे भने नरक पुग्छन्’ भन्ने अर्थ थियो।
नेपाली सेनाका कर्नेल थिए सम, कर्नेल पदबाट राजीनामा गरेर नेपाली साहित्यको सेवामा अर्पित भए र राणाशाहीको बिरोधमा स्वतन्त्रताको पक्ष लेख्न थाले।
समजी मसँग असाध्यै प्रभावित हुनभयो। मैले मुटुको व्यथाका केही हरफ भनेपछि समजीले पनि बडो नाटकीय पाराले कवितात्मकरुपमा सुनाउन थाल्नु भयो।
मैले समलाई भेट्न पाउछु कि पाउँदिन भन्ने चिन्तामुक्त भएको सुनाए। डेड घण्टाको भेटपछि समजीबाट मलाई एक पुस्तक ‘नियमित आकस्मिकता’ हस्ताक्षर गरेर दिनु भयो र हरेक शनिवार भेट्ने समय दिएपछि बडो गौरवकासाथ मैले त्यो दिन बिताएँ। महान व्यक्तित्वहरुलाई भेट्नु भनेको ठूलो उपलब्धि हात लाग्नु हो। एकदिन ढिला भएछ। ती महान व्यक्तिले म नआउने बुझेर लेख्न थाल्नु भएछ। त्यो दिन ढोका खोल्दै तपाई नआउने होला भन्ने ठानेर लेख्न थालेको थिएँ भन्दै लेखेका केही अंश समजीले मलाई सुनाउनु पनि भयो। अर्को दिन व्यस्थताले गर्दा समजीलाई भेट्न जान ढिला भयो। ‘म क्षेत्रपाटी सातचोक दरबारको माथिल्लो कोठामा बस्छु’ भनेर समजीलाई मैले पहिला भनेको थियो। त्योदिन अपरान्ह म ज्ञानेश्वरतर्फ लाग्दा उहाँ रिक्सामा चढेर क्षेत्रपाटी आउँदै हुनुभएको देखेर म छक्क परें र समजीलाई भेटेर नमस्ते गर्दै त्योदिनको कारण बताएँ। समजीले भन्नु भयो–‘तपाईंलाई के पर्यो भनेर खोज्दै आएको।’ त्यसले उहाँ माथि मेरो झन कति ठूलो सम्मान बाँचेको होला। समजी अभिनय गर्नमा पनि त्यत्तिकै ओस्ताद हुनुहुन्थ्यो। वहुमुखी प्रतिभाका धनी महान स्रष्टा बालकृष्ण समलाई बिर्सन सकिदैन। एक दिन उहाँले मलाई चोभार बारेमा सुनाउनु भयो–चोभारको पहाड फोरेर मञ्जुश्रीले पानी निकाएको नहुनसक्छ, त्यसठाउँमा चटयाङ परेर उपत्यकाको पानी चोभारबाट निकाश दिएको कुरा धेरै वैज्ञानिक हुनसक्छ’ भनेर मलाई बुझाउनु भयो। चोभार बारेमा सोच्तै नसोचेको कुरा यसरी समजीबाट थाहा पाएँ।
साहित्य र संगीत राष्ट्रको सम्पत्ति। संगीत विश्वको भाषा हो भने साहित्य सिर्जना हो। यी दुई वर्तमान र भविष्यका ऐना हुन्। साहित्य र संगीतले युगको प्रतिनिधत्व गर्ने गर्छ। साहित्य बारेमा कालीदासले भनेका छन्–“कवि करोेती काब्यानि, रस जानन्ति पंडिता” कविले काव्यको रचना गर्दछन्, त्यसको रस विद्धानहरुले लिन्छन्। यो सत्य हो कि साहित्य भनेको मानवलाई असली पे्रममय रसस्वादन गराउने शास्त्रीय बाटो हो। बालकृष्ण समले आफ्ना अनेकौं नाटक र काव्यबाट नेपाललाई धनी बनाए। समको एउटा महाकाव्य–‘चिसो चुल्हो’मा सन्ते दमाईले माथिल्लो जातकी गौरीसँगको प्रेमको उजगार गरेर नेपाली समाजलाई बन्धनबाट मुक्त गराउने सन्देश दिन सके। समले विभिन्न विधाका कैयौं पुस्तक लेखेर नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्न सक्नु भयो। त्यो महान व्यक्तित्व हाम्रो सामू नभए पनि समजी अमर हुनुहुन्छ।
‘समजी बोल्नासाथ साहित्यका फोहरा फुट्थे। ‘ज्ञान मर्दछ हाँसेर रोही विज्ञान मर्दछ।’ कति गहिराई छ समजीका कवितामा ?
बालकृष्ण सम, नाटककार, चित्रकार, निवन्धकारको रुपमा नेपाली समाजमा प्रतिविम्वित छन्। गेहेन्द्रमान अमात्यले लेखेका छन्– नेपाली सेनाका कर्नेल थिए सम, कर्नेल पदबाट राजीनामा गरेर नेपाली साहित्यको सेवामा अर्पित भए र राणाशाहीको बिरोधमा स्वतन्त्रताको पक्ष लेख्न थाले। नेपाली साहित्यका अग्रनी मध्येका आदिकवि भानुभक्त, लेखनाथ पौडयाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, ह्रदयचन्द्र सिंह प्रधान, भवानी भिक्षु, भीमनीधि तिवारी, धरणीधर कोइराला, महानन्द सापकोटा, सिद्धीचरण श्रेष्ठहरु नेपालको राष्ट्रिय एकताका द्योतक हुन्, यथार्थ। देशको स्वाभिमानप्रति आवद्ध भएरैं उनीहरु विश्व साहित्यसंग दाँजिन पुगे। एक कवितामा सिद्धिचरण श्रेष्ठले लेख्नु भयो– ‘क्यै हारे झैं, क्यै बिर्से झै, को त्यो पथमा आइरहेको ? सत्य नचिन्ने, झूट अँगाल्ने, गिर्र्दै तल तल म उठें भन्ने, मान्छे हो तर आत्माहीन, को त्यो पथमा आइरहेको ?’ युगकवि सिद्धिचरण श्रेष्ठको उक्त कविताको नाट्य सम्राट बालकष्ण समले त्यसको जवाफमा ‘केही जिते झैं, केही संझै झैं को त्यो पथमा गाइरहेको ? मानिस जस्तै शुरशुरु हिंडदै को त्यो पथमा गाइरहेको’ भन्ने सिद्धिचरणको ‘मेरो प्रतिविम्ब’ र समजीको ‘प्रतिविम्बप्रति’ को कवितात्मक वादविवादले नेपालका नवोदित साहित्यकारलाई सिर्जनात्मक बाटोमा प्रेरित गरेको थियो।
साहित्य एउटा सिर्जना हो। मानिसको जीवनमा कुनै न कुनै गहिरो छाप नपरी असल साहित्य सिर्जना हुन सक्तैन। समजीलाई सेक्सिपियरसँग दाज्नेहरु पनि धेरै छन्। समजी अत्यन्त देशभक्त थिए। ‘देशभक्त त मर्दैन, चुथ्थै देश भएपनि’ सन्देश मुकुन्द इन्दिरा नाटक मार्फत दिएका छन्। त्यो महान व्यक्तित्वले सँधै स्वदेशी पहिरनलाई ग्रहण गर्नेगर्थे। उनले देशभक्ति जगाउन अनेकौं प्रयन्त गरे।
नेपालमा २००७ सालमा प्रजातन्त्रको उदयपछि उनी गोरखापत्रका प्रमुख सम्पादक पनि बने। नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको उपकुलपति हँदै राजसभा स्थायी समितिको सदस्यका रुपमा रहेको अवस्थामा पनि अनेक पुस्तकहरु नेपाली समाजलाई दिलाए। राष्ट्रिय विभूतिको पुस्तक २०२४ सालमा समजीबाटै लेखिएको हो। बाल्मिकि ऋषिले गण्डकी किनारमा बसेर रामायण लेखेपछि हिमवतखण्डको यो क्षेत्र कवितामय हुन गयो। वाल्मिकि संस्कृतका आदि कवि हुन्। त्यही बेलादेखि यसक्षेत्रमा अनेकौं कवि कलाकार देखा पर्न गएका हुन्। त्यही वाल्मिकि रामायणलाई नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले नेपालभरी रसस्वदन गराउने काम गरे।
भानुभक्तलाई पनि कविता र महाकाव्य लेख्ने पे्ररणा घाँस बेचेर कुवा खनाउन लागेको एउटा सानो धाँसीबाट पाए। ‘घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, मो भानुभक्त घनि भैकन आज यस्तो।’ यसरी नेपालका सिर्जनात्कम प्रतिभाका स्रष्टाहरुलाई बिर्सन सकिदैन। लिओ टोल्स्टाय, रविन्द्रनाथ ठाकुर, म्याक्सिम गोर्कीहरु आदि यस्ता स्रष्टाहरु छन् जस्लाई समयले जन्मायो। त्यस्ता साहित्यिक स्रस्टाहरुको परिकल्पनाले युगको प्रतिनिधत्व गर्ने गर्छ। भानुभक्त नेपाली साहित्यका चरित्रका पुञ्ज हुन्।
समजीले मेरो अटोमा २०२४ साल पुस ३ गते आफ्नै कुँदिएका जस्ता अक्षरमा लेखिदिनु भयो–‘मानिसको जात मानिस नैं हो अर्को उसको जात छैन, मानिस उभिएको ठाउँ स्वदेश हो उसको विदेश कतै छैन; अमानुषी व्यवहार पनि मानिसकै हो, अर्को राक्षस वा देवता छैन, स्वर्ग नरक मानिसकै कृत्रिम स्थल हुन्, अर्को त्यस्तो यता छैन।’ कति तर्कपूर्ण कविता ! यस्ता महान स्रष्टा नेपालका सम्पत्ति हुन्। नेपालको राष्ट्रियता र नेपाली साहित्यलाई दिगो र अमर बनाउन नेपालका कविवर स्रष्टाहरुबाट जुन योगदान गरे त्यसलाई नेपालीहरुले बिर्सन सक्तैनन्। नेपालको स्वाभिमान र प्रतिष्ठा कायम राख्न नेपालमा हिजोका साहित्यकारको सिर्जनात्मक जागरणले अहिलेसम्म हामीले खुट्टा टेक्न पाएका छौं।
महान साहित्यकार समजीको सबैभन्दा मलाई मन परेको कविता हो– ‘यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सँधै, झाँगी फैलिरहोस बढेर लहरा यै शान्ति ऐश्वर्यको, यो सन्देश म ब्रम्हनाल तकिया पारी पठाउँ वहाँ, साक्षी शंकर छन् स्मसानपछिका आशा रहेका जहाँ।’ समजी हामी सबैको नजरमा अमर छन्। नेपालको साहित्यिक जगतका अग्रज व्यक्तित्व समजीको शालीक उहाँको सम्मानस्वरुप नेपाल साहित्य परिषदको सक्रियतामा कमलपोखरीमा स्थापित छ।
प्रकाशित: ४ फाल्गुन २०७५ ०३:४८ शनिबार