coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सिंगो आकाश छिचोलेका गीतकार

बोल ! बोल ! पाखाहरू
हिँउ फूल्ने काखहरू
किन होला हिजोआज 
बाटो छेक्छन् आँखाहरू

रेडियोमा यो गीत बज्न थाल्यो। म होमवर्क गर्न रोकिएँ। नयाँ गीत सुन्दै थिएँ। नयाँ गीत  रेडियोमा बजे पछि गीतका शब्द कस्ता छन् ? गीत कस्तो छ ? जान्न पढाई रोक्थें। नत्र त गीत बजिरहन्थ्यो, म गृहकार्य गरिरहेको हुन्थें। 
बृक्षका पात अनि हाँगामा बसेका शितका थोपा जस्ता मोहक शब्दहरू। मिर्मिरे बिहानीको घामको झरीले भिजेर गुलाफी भइरहेका बृक्षका पातजस्ता सुकिला शब्दहरू। शब्द संयोजनमा नेपालीपन। गीतले मलाई मुग्ध बनायो। अहिलेको जस्तो युट्युव थिएन, मन परेको गीतलाई दिनभर सुन्न अनि उही वाक्क हुन। घरमा वाकमेन समेत थिएन। फेरि कहिले सुन्न पाइएला भन्ने भइरहन्थ्यो।  

यस्तो लाग्छ, यो गीतको संग्रह (म बिर्सुं कसोरी) बोकेर हिँड्नु भनेको सानो नानीले आमाको औला समाए जस्तै हो। सकुसल बजार पुग्नु, मन्दिर पुग्नु अनि सकुसल घर फर्किनु हो। 

तवनको समथर मैदानमा जन्मेको मलाई पाखापर्वत पुर्‍याउने गीत। गीत जति साहित्यिक उति नै सरल पनि। त्यो पनि चलचित्रको गीत। चलचित्रले साहित्यिक गीतलाई लिंदै गरेको समय थियो त्यो। दुःखको कुरा नेपाली चलचित्रले पछि साहित्यिक गीतको खोजी उस्तो गरेनन्।  

एउटा नयाँ स्वाद खोजिरहेको मैले पाएको थिएँ खुब मिठो गीत। त्यसले मलाई कल्पनाशील बनाएर पाखा, पर्वततिर लगेको थियो। पहाडघर लम्जुङ हो भन्ने कुराले जसरी मेरो मनलाई पहाडतिर लग्थ्यो, उसैगरी त्यो गीतले मलाई पहाड गै हालुँ, हिउँ फूलेको हेरि हालुँ भन्ने बनाएको थियो। 

पहाडमा जाडो बढे, तराइले सेक्नुपर्छ
आँधी आए तराईतिर, पहाडले छेक्नुपर्छ
हैन भने देशभक्ति छैन हाम्रो छातिभित्र
माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ

नेपाल भौगोलिक विविधताको देश। त्यसैले यहाँ प्राकृतिक बिपत्ती आइरहन्छ। कहिले तराइमा बाढी आउँछ, कहिले पहाडमा पहिरो जान्छ। भुकम्प जान्छ। यस्तोमा मैले दिनेश दाइकै सिर्जना बजेको आफूभित्र महसुस गरेको छु। राजनीतिले हामीलाई विभाजन गर्छ अनेक कुरामा अनि  स्वार्थ पूर्ति गर्छ। त्यस्तो समयमा माथिकै बाँकी पंक्ति सम्झन्थें।
नरायणगोपालका गीत खुब बज्थे रेडियोमा। खुबै सुन्थें विद्यालय हुँदै। विद्यार्थी जीवनको त्यो समयमा अलि कम सुनेको एउटा गीत थियो, ‘तिमी जून रहरले ममा फूल्न आयौ, सबै सुख हराए सधैं चोट पायौ।’ यो यस्तो गीत हो उतिबेला पनि म अलि बढी सुन्न चाहन्थे, अहिले पनि खुब सुन्छु।

आफ्ना नजिकका अनि प्रिय वा आफन्तलाई केही दिन नसकेकामा खल्लो महसुस गरिरहेको कुनै पात्रको कुरा भन्छ गीतले। शब्दहरू जादुमयी छन् जति सुन्दै गयो उति लाग्ने खालका। दिब्य खालिङको संगीत उस्तै मीठो। गीतका रचयिता आरआरमा पढ्दै गरेका एक बिद्यार्थी थिए। गीत लेख्दै गरेको समयमा, आज हामी कवि, साहित्यकार दिनेश अधिकारी भनेर चिन्दछौ। तिनै गीतकारको ‘म बिर्सू कसोरी’ संग्रह सांग्रिला बुक्सले बजारमा ल्याएको छ। 

मलाई त्यसले छोइरहेको छ अनेक तरिकाले। यात्रामा केही आफूलाई मिठो लागेका कुरा सँगै हिँड्ने यात्रीलाई सुनाए जस्तो ‘म बिर्सु कसोरी’का बारेमा आफ्नै कुरा सुनाउन खोजिरहेछु म। 

केही वर्ष अगाडि बब डिलनले नोबल पुरस्कार पाए साहित्यतिर। पुरै विश्वको साहित्यिक जगतमा केही हलचल भयो। हाम्रोमा पनि हलचल सुनियो। कसैले उनको गायनको चर्चाले पायो भने, उसो त बब डिलनभन्दा राम्रा गाएक थिए, उनलाई नै किन ? उनको गीत लेखन साहित्यिकस्तरको छ त्यसैले दिइएको हो। राम्रो भयो भन्ने कुरा पनि साहित्यिक जमातबाट आयो। हाम्रो भने गीत लेखनलाई साहित्यिक मानिंदैन भन्ने कुरा केही सर्जकले कहिलेकाहिँ सुनाउँछन्, म अचम्ममा पर्छु। अर्कोतिर राष्ट्रकवि माधव घिमिरे भन्नुहुन्छ, मलाई त लोकगीत जस्तै लेख्न पाए भन्ने लाग्छ सधैं।  

कुरा यो पनि छ, साहित्यक गीत कति लेखिन्छ ? यहाँ कवितामा त कविता भेटिंदैन अरु नै थोक भेटिन्छ भने गीतमा केको साहित्य ? केको काव्य भन्ने पनि कुरा आउला ? तथापी केही सर्जक हुनुहुन्छ जसको कलमले नेपाली गीतलाई गरिमा प्रदान गरेको छ। लोकगीत भनेका जसरी लोक कविता हुन्। काव्यको महक भएका हरेक गीतले साहित्यिक गरिमा उचो बनाएको हुन्छ। बौद्धिकतालाई ठूलो नमान्ने हो अनि सरलता र सरसतालाई हेर्ने हो भने त गीत त साहित्यको मुल नै हो, उत्तपत्ति नै हो। दिनेश अधिकारीका खुबै गीतहरुलाई म यसैगरी बुझ्दै आएको छु।  

फूल, बत्तिको झिलिमिलि अनेक कुरा भएर आउँछ तिहार। केही गीत भएर आउँछ। भाइटीका आउन भने दिनेश अधिकारीको गीत नै आउनु पर्छ कि जस्तो लाग्छ मलाई।  रचनाकार थाहा नपाइ तिहारका दिनमा सुनेर आएका गीतका पंक्ति हुन् यी। दिदीहरुले टीका लगाउने समय भएको हुन्थ्यो, तलको गीत बजिरहेको हुन्थ्यो। 

निधारमा लर्काएर सप्तरङ्गी टीको 
हिँडिरहु सधैँ तिमी शिखरको बाटो
ओखरमा फोरिदिएँ बाधाहरू मैले
जता पनि पुग दाजै घामभन्दा पहिले।

सँगै हुन नसकेपछि बिर्सी दिनू भन्ने निस्ठुरीहरूलाई के भन्ने ? दिनेश दाईले लेखिदिनु भएको छ। 

यो सम्झिने मन छ म बिर्सू कसोरी ?
तिमी नै भनिदेऊ ! ए जाने निस्ठुरी ?

सायद बिर्सिदिनु भन्ने कतिलाई कतिले यही गीत डेडिकेट गरे होलान् ! मलाई अनुमान गरिदिन मन लाग्छ। यहाँ भन्दा धेरै के नै भन्न पर्यो र ? यही भएर होला रेडियो नेपालमा अत्यन्तै धेरैपटक मैले सुनेको गीत हो यो। त्यो समय बजेको पनि यही गीत थियो होला धेरै। त्यो समय भन्नाले मेरो स्कूले जीवनको समय। 

जीवनमा प्रेम नगर्ने बिरलै सुन्छन्, बैंशमा सुसेला नहाल्ने पनि। युवा उमेरमै साहित्यिक अनि गम्भिर गीत लेख्ने अधिकारीले प्रेम गरे वा गरेनन् थाहा छैन। प्रेमका बारेमा गीत लेख्न छुट् भए पनि चर्चा गर्न छुट् छैन हाम्रोमा। कति प्रेमका कथा कतै नभनी, कतै नलेखी जान्छन्, ती लेखकहरूकै पनि हुन सक्छ। ठिकै छ अरुको देखेर, हेरेर अनि अनुभूत गरेर पनि लेखिदिन्छन् लेखकहरू। जस्तो चलचित्रको कथाका पात्रका लागि लेखेजस्तो। बिहे नहुँदै प्रेमको यस्तो मीठो गीत लेख्ने दिनेशको विवाह अगाडि प्रेम थिएन भने पछि अरु के भन्नु र ? 

केही यस्ता कुरा छन् जुन बाहिर आउँछन्, कतिपय कुरा मौनतामा रहन्छन्, आउँदैनन बाहिर। त्यस्ता कुरा बिरह, बेदना, संगीनी अनि लोकगीत भएर मुखर हुन्थे पहिले। अहिले त्यस्ता कुरा केही थोरै सर्जकको रचनामा पाइन्छ।  

तिब्बती केही शरणार्थी मित्रसँग संगत गरेपछि थाहा पाए मैले देश नहुनु के हो ? नभएको भए त मै पनि देश किन चाहियो भन्थे हुँला ? पछिल्लो समय हामी युवा, लेखक पनि देशले के दियो र यो देश नभए पनि हुन्छ भन्छौ। त्यो भनेको त आमाले काखमा लिइनन् भनेर रिसाएर आमालाई मर भन्नु रहेछ। गाउँघरतिर केही छोरा हुन्थे, आफुले  भनेजस्तो खेत अंश नपाएपछि बाबु छैनन् मेरो भन्ने। उस्तै छोरा हुनु रहेछ। रिसले आफुलाई खान्छ भन्थे, के अहिलेका हामी सर्जकलाई अनेक खालका रिसले खाएकै हो त ? केही सर्जक भने चोखा छन्। सचेत छन्। विवेकशील छन। आफ्नो धर्म र इमान कहिल्यै नछोड्ने, सधैं बोकेर हिँड्ने। संग्रहका गीतहरूले दिनेश अधिकारीलाई त्यस्तै लेखकको परिचय दिन्छ। 

छाँगाको माया के भन्नु ? माटोको माया धेरै छ
खुझको माया क्यै होइन, बाटोको माया धेरै छ।

एउटा सर्जक सानो बङकरमा नबसेर बाहिर बसेको राम्रो, फैलिएको राम्रो। त्यस्तो भयो भने अनेक इन्द्रेणी देखिन्छ। गीत सिर्जना धेरै जस्तो सबन्धका अनेक आयामहरूको बारेमा लेखिन्छन्। एउटा सचेत गीतकार ती आयाम बाहिर पनि निस्कन्छ। एउटा लेखक कुनै पिँजडाको गायक नभएर जम्मै आकाशको गायक भएको मीठो सुनिंदो रहेछ। पिडित अनि दुखितका लागि सर्जकले नबोलि दिएर कहाँ हुन्छ ? एक्टिभिस्टका लागि बोल्ने र गाउने शब्द लेखकले नै दिनु पर्छ। सुतिरहेको सत्तालाई ब्युँझाउने, सुतिरहेको समाजलाई ब्युँझाउने त्यस्ता सिर्जना खुब गज्जबका छन् संग्रहभित्र। 

ढुङ्गा फोर्दै जिन्दगीमा जोड्न खोज्ने दिदी
औंला कुट्यौ कति चोटि ? सहयौ कत्ति चोटि ?
रोयौ कति चोटि ?

अनेक मौसम आउँछन्। हरेक मौसमलाई यो संग्रह भित्र गीत छ। अनेक परिस्थितिमा पर्छौ हामी, त्यसका लागि गीत छ यहाँ। यस्तो लाग्छ, यो गीतको संग्रह बोकेर हिँड्नु भनेको एउटा सानो नानीले आमाको औला समाए जस्तो हो। सकुसल बजार पुग्नु, मन्दिर पुग्नु अनि सकुसल घर फर्किनु हो। 

पछिल्लो समयका युवा गायकमा एउटा गीत निकै चर्चित थियो, ‘लैजा चरी मेरो खबर, कहाँ होला उस्को शहर’ संग्रहभित्र खोजें, पाइन। त्यो गीत पनि भइ दिएको भए हुन्थ्यो। यस्तै हो, सोचेजस्तो कहाँ हुन्छ  र !   

सोचेजस्तो हुन्न जीवन
सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखेजस्तो हुन्न जीवन।

प्रकाशित: ४ फाल्गुन २०७५ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App