५ वैशाख २०८१ बुधबार
राजनीति

ओली सरकार ‘कुरामा नम्बर वान, काममा जिरो’ : महत

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन्। 

शुक्रबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाए। उनले भने, ‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो। तर, यो एक वर्षमा जनता पुरै निराश भए। देश समृद्ध भयो त?’

मुल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गर्दै उनले थपे, ‘अहिले ५० प्रतिशत लगानी घट्यो। कर बढिरहेको छ। बैंकको व्याजदर बढिरहेको छ।’ 

उनले सरकारको एक वर्षलाई आफूहरुले समिक्षा गर्दा ‘कुरामा नम्बर वान, काममा जिरो’ को रुपमा समीक्षा गरेको सुनाए।  

संस्थागत भ्रष्टाचार बढिरहेको भन्दै महतले ‘इज अफ डुइङ विजनेश’ पनि राम्रो नभएको टिप्पणी गरे। महतले भने, ‘सुशासनको त कुरै नगरौं। सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गैसक्यो। चिनी काण्ड त्यस्तै। वाइडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रुपमा हेरिरहेका छौं।’ मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको र बुढीगण्डकीको कथा पनि त्यस्तै रहेको उनको भनाई छ। 

महतले सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाए। उनले भने, ‘समृद्धि त अहिले सत्तामा बस्नेहरुको लागि मात्रै आएको होला। तर, जनताले समृद्धिको कुनै अनुभुति गर्न पाएका छैनन्।’

सरकारले कर्मचारीतन्त्रलाई पुरै पार्टीकरण गरेको पनि महतले आरोप लगाए। उनले भने, ‘संवैधानिक निकायलाई सरकारले छायाँमा राखेको छ। दुई तिहाईको तरबार झुण्डाईएको छ।’ महतले सरकारले लोकतान्त्रिक संस्थाको स्वतन्त्र रुपमा काम गर्ने ‘स्पेश’ लाई नै समाप्त पारेको आरोप लगाए। 

परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पुरै असफल भएको उनको आरोप छ। उनले भने, ‘काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो। हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ।’

उनले नेपाललाई लगातार सहयोग गर्ने अमेरिकाजस्तो देशलाई अनेकौं विशेषण हालेर गाली गर्ने काम भएको भन्दै आपत्ति जनाए। उनले भने, ‘देश चलाउने भनेको पार्टी चलाएकोजस्तो होइन। देशको फाइदा हेर्ने हो। राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर अघि बढ्ने हो। अहिले हाम्रो परराष्ट्र नीति राष्ट्रिय हित अनुकुल छैन्।’ 

महतले अहिले नेपालको परराष्ट्र र आर्थिक दुवै नीति पुरै असफल भएको दाबी गरे। उनले भने,‘नेप्से हेर्नुहुन्छ भने लगानी घटेको छ। मुद्राको तरलता कम भएको छ। ब्याज बढेको छ। कुनै पनि मोर्चामा यो सरकार सफल भएको छैन्।’ उनले सरकारको एक वर्षलाई आफूहरुले समिक्षा गर्दा ‘कुरामा नम्बर वान, काममा जिरो’ को रुपमा समीक्षा गरेको सुनाए।  

हरेक दृष्टिकोणमा यो सरकार उल्टो दिशामा हिँडेकोले आफूहरुले खबरदारी गर्नुपरेको पनि महतले स्पष्ट पारे। प्रधानमन्त्रीले जति नै तोडमोड गरेर एक वर्षको कामको फेहरिस्त प्रस्तुत गरे पनि यथार्थमा आम जनता निराश बनेको उनको भनाई छ। 

प्रेस स्वतन्त्रलाई कुण्ठित गर्ने, सामाजिक सञ्जाललाई नियन्त्रण तथा निषेध गर्न खोजिएको भन्दै उनले सरकारको आलोचना गरे। 

फरक प्रसँगमा उनले हालै सरकारले सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगार नभएमा बेरोजगार भक्ता दिने भनेर गरिएको व्यवस्थाको भने कडा आलोचना गरे। महतले सरकारले पैसा दिनुको साटो काम दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए। 

प्रकाशित: ३ फाल्गुन २०७५ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App