४ वैशाख २०८१ मंगलबार
खेल

नेपाल सहज समूहमा

काठमाडौं – सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया दोस्रो चरणको छनोटको खेलतालिका सार्वजनिक भएको छ। एसियाली फुटलब महासंघ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यानमारसँगै इन्डोनेसिया परेका छन्। यस समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यानमारमा हुनेछ।

पहिलो चरणमा पनि यी तीनवटै राष्ट्रसहित बंगलादेश एउटै समूह परेका थिए। जसबाट म्यानमार र भारत स्वतः छनोट हुँदा तेस्रो स्थानमा रहेको नेपाल उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरण पुगेको थियो।

यस्तै समूह ‘बी’ मा हङकङ, जोर्डन, भियतनाम र उज्बेकिस्तान छन् भने समूह ‘सी’ मा चाइनिज ताइपेइ, इरान, फिलिपिन्स र प्यालेष्टाइन छन्। दोस्रो चरणबाट तीनवटा समूहको शीर्ष स्थानमा रहने टोलीहरु तेस्रो चरणमा प्रवेश गर्नेछन्।

यसअघि नै ‘बाई’ पाएर अष्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र आयोजक थाइल्याण्ड तेस्रो चरणको छनोटमा स्थान बनाइसकेका छन्। यी पाँच र दोस्रो चरण पार गर्ने तीनसहित कूल आठ टोलीबीच तेस्रो चरणको छनोट खेल हुनेछ । जसमा चार–चार राष्ट्रको दुई समूह हुनेछ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीहरु अन्तिम चरणको छनोटका लागि छानिनेछन्। त्यसबाट प्लेअफ खेलाउँदै दुई टोली ओलम्पिकका लागि छनोट हुनेछ। आयोजकका रूपमा जापान भने यसअघि नै छनोट भइसकेको छ।

पहिलो चरणमा म्यान्मामा भएको समूह ‘सी’ अन्तर्गतका सबै तीन खेलमा बराबरी खेलेको नेपाल तीन अंकका साथ तेस्रो भएको थियो। नेपालले बंगलादेश, म्यानमार र भारतसँग बराबरी खेलेको थियो। उक्त प्रतियोगितामा नेपालले खेलेको तीनवटै खेलमा बराबरी गर्दै दोस्रो चरणमा पुगेको थियो।

पहिलो चरणमा सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो।    (रासस)

प्रकाशित: २ फाल्गुन २०७५ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App