८ वैशाख २०८१ शनिबार
खेल

तेस्रो दिन रानामगर र मगर अगाडि

साइक्लिङ प्रतिस्पर्धामा सहभागी साइकल राइडर गन्तव्यतर्फ लम्किँदै।  तस्बिर : धन /नागरिक

पोखरा – अन्तर्राष्ट्रियस्तरको ‘पोखरा माउन्टेनबाइक रेस स्टेज चौथो’ को दोस्रो संस्करणको तेस्रो दिन बुधबार साइकल राइडरले सबैभन्दा लामो दूरी तय गर्दै टुंग्याएका छन्। तेस्रो दिन बुधबार बेगनासबाट सुरु भएको खेलमा निर्धारित दूरी २ घण्टा २७ मिनेट ३५ सेकेन्डमा पार गर्दै सुरज रानामगरले अग्रता लिएका छन्। 

बेगनास, कालिका, भन्ज्याङ, बेगनासताल, रुपाताल हुँदै बेगनासताल बसपार्कमा पुगेर टुंगिएको ८० किलोमिटरको दूरी पार गर्दा अनोज पराजुली दोस्रो भए। उनले सो दूरी पूरा गर्न २ घण्टा २७ मिनेट ३५ सेकेन्ड लगाए। उनी केही मिलिसेकेन्डले मात्रै पछि परे। तेस्रो स्थानमा भने किरण मल्ल आइपुगे। उनले दूरीलाई २ घण्टा ३६ मिनेट ३६ सेकेन्डको समय लगाए। 

महिलातर्फको प्रतिस्पर्धामा लक्ष्मी मगरले लिड गरिन्। अघिल्लो दिन पछि परेकी उनले तेस्रो दिनको प्रतिस्पर्धामा भने दोस्रो स्थानकी उषा खनाललाई २६ मिनेटले पछि पारिन्। गत वर्षकी च्याम्पियन लक्ष्मी मगरले तेस्रो दिनको दूरी २ घण्टा ५१ मिनेट १२ सेकेन्डमा पूरा गरिन्।  ललितपुरकी उषा खनालले ३ घण्टा १७ मिनेट १० सेकेन्डको समय लगाउँदै दोस्रो भइन्।  विदेशी खेलाडी लेयसबेथ कनिसले ३ घण्टा ३५ मिनेट ५१ सेकेन्डको समयमा दूरी पूरा गर्दै तेस्रो भइन्। 

बिहीबार चौथो तथा अन्तिम दिन बाटुलेचौर, डाँडागाउँ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्र गुफा हुँदै बाटुलेचौरमा पुगेर सकिने रेसको दूरी भने ६७ किलोमिटरको हुनेछ। चारै दिनको साइकल राइडरले निर्धारित दूरी तय गर्दाको समयको आधारमा विजेता घोषणा गरिनेछ। साइकल दौडका माध्यमबाट साहसिक खेलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको चारै दिनमा प्रतिस्पर्धीको समयलाई आधार मानेर विजयी घोषणा गरिने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए। उनका अनुसार विजेताले ट्रफी एवं १५ सय डलर बराबरको तालिम प्राप्त गर्नेछन्।
कास्की जिल्ला साइक्लिङ संघको आयोजनामा सञ्चालित चार दिनको प्रतियोगितामा सबैभन्दा कम समयमा दूरी पूरा गर्ने च्याम्पियन बन्नेछ। संघले विगतमा राष्ट्रियस्तरको प्रतिस्पर्धा गरे पनि यो भने पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो। प्रतियोगितामा ब्रिटेन, फ्रान्स, अस्ट्रिया, भारत, अमेरिका, स्पेन र चीनलगायतका देशका खेलाडी सहभागी छन्। पोखरामा यो प्रतियोगितासँगै बर्सेनि आयोजना गरिने याक एट्याक माउन्टेनबाइक रेस प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा निकै टेवा पुगेको विश्वाससमेत साइक्लिङले लिएको छ।

प्रकाशित: २ फाल्गुन २०७५ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App