coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

ओली–दाहाल प्रणय

हाम्रा राजनीतिक व्यक्ति र तिनका गतिविधिलाई नियाल्दा प्रस्ट हुन्छ– राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्। हिजोका घनघोर शत्रु आज मित्र बनेर मञ्चमा बसिरहेका भेटिन्छन्। आज अनुपम प्रेममा रहेकाहरू एकअर्काको उछित्तो काढिरहेका हुन्छन्। खासमा ‘प्रेम र घृणाको सम्बन्ध’ राजनीतिमा जति अन्यत्र कहाँ होला र ? संयोग हो– पूर्वमाओवादी केन्द्रको ‘जनयुद्ध’को सम्झना र भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस एक दिनअघि र पछि गरेर परेको छ। केही सातादेखि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भेनेजुएलाको राजनीतिक संकटमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले निकालेको ‘क्रान्तिकारी’ वक्तव्यले ल्याएको असजिलो अझै साम्य भइसकेको छैन। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगबाट वाक्युद्धमा केही विराम भने अवश्य लागेको छ। राजनीतिमा स्थायी शत्रु र मित्र नभएको गतिलो उदाहरण नेकपा मुख्यालय धुम्बाराहीमा देख्न पाइएको छ। दाहालले आफ्नो अगलबगलमा पूर्ववर्ती एमाले र अहिलेका आफ्ना नेकपा सहयात्रीलाई राखेर सम्झना गरेका छन्, ‘दीर्घकालीन जनयुद्ध’। यो एउटा इतिहास हो। तर, इतिहासले कहिलेकाहीँ यसरी लखेट्छ जसलाई छोड्न सकिँदैन। समयसँगै त्यसलाई बिस्तारै छोड्ने प्रयास गर्नुपर्छ। त्यो प्रयासको महत्वपूर्ण शृंखला बन्न पुगेको छ धुम्बाराहीको बुधबारको कार्यक्रम। ‘जनआन्दोलन र जनयुद्धका महान् सहिदहरूप्रति श्रद्धाञ्जली कार्यक्रम’मार्फत दाहालले आफ्नो विगत इतिहासको सम्झना गरेका छन्। पूर्वएमालेले ‘जनयुद्ध’को विरासत लिनु परेको छ। पूर्व माओवादीलाई शान्तिपूर्ण अवतरण गराउने जनआन्दोलन ‘जनयुद्ध’भन्दा वरियतामा अगाडि परेको छ। कार्यक्रममा लेखिएको भाषा यथार्थमै राजनीतिक समायोजनको उद्देश्य प्रेरित छ। 

अन्तर्राष्ट्रिय सम्बन्धलाई चित्रण गर्ने उद्देश्यले कोही पनि स्थायी मित्र वा शत्रु हुँदैनन् बरु स्वार्थ स्थायी हुन्छन् भनिएको थियो। बेलायतमा दुई पटक प्रधानमन्त्री रहिसकेका र उसको साम्राज्यवादी शासनका बेला सन् १८३० देखि १८६५ सम्म वैदेशिक नीतिमा प्रभाव पार्ने राजनेता हेनरी जोन टेम्पलले मुलुकको स्वार्थ स्थायी हुने बताए पनि त्यसयताका संसारभरिका राजनीतिक व्यक्तिहरूले आफ्ना राजनीतिक नीति र कर्मलाई प्रमाणित गर्न प्रयोग गर्दै आएका छन्। हाम्रा राजनीतिक व्यक्तिहरूका सन्दर्भमा त यो एकदम मिल्छ। विशेष गरी आफ्नो कामलाई जसरी पनि प्रमाणित गर्न यस्ता तर्कको सहारा लिएको देखिन्छ। तथापि, दाहालले आफ्नो दल र राजनीतिलाई पूर्वएमालेभित्र सहज ढंगले अवतरण गराएकै हुन्। एमाले र माओवादी केन्द्रबीचको मिलनबाट बनेको नेकपाले विगतको विरासतलाई आत्मसात् गर्दै र आम जनमानसलाई आश्वस्त पार्दै राजनीतिलाई अघि बढाउनुपर्ने बाध्यता छ। अन्यथा, तत्कालीन माओवादीबाट एमालेका धेरै नेता तथा कार्यकर्ता पीडित बनेका हुन्। माओवादीबाट मारिएका एमाले नेताहरूका परिवारलाई अझै गाह्रो भएको छ। तैपनि बृहत्तर राजनीतिक उद्देश्य प्राप्तिका निम्ति तिनीहरूले अहिलेको परिस्थितिलाई अंगीकार गरेको देखिन्छ। प्रधानमन्त्री ओली नै माओवादीका ती गतिविधिप्रति आक्रामक थिए। तत्कालीन एमालेबाट उनले जति माओवादीका विरुद्धमा अरुले बोल्न सकेको देखिँदैनथ्यो। धन्न, प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणाले ओलीलाई आफ्नै पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा दाहालसँगै मञ्चमा बसेर ‘जनयुद्ध’को सम्झना गर्नुपर्ने अवस्थाबाट उन्मुक्ति मिलेको छ। 

हिजोका घनघोर शत्रु आज मित्र बनेर मञ्चमा बसिरहेका भेटिन्छन्। आज अनुपम प्रेममा रहेकाहरू एकअर्काको उछित्तो काढिरहेका हुन्छन्। खासमा ‘प्रेम र घृणाको सम्बन्ध’ राजनीतिमा जति अन्यत्र कहाँ होला र ? संयोग हो– पूर्वमाओवादी केन्द्रको ‘जनयुद्ध’को सम्झना र भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस एक दिनअघि र पछि गरेर परेको छ।

ढिलोचाँडो यस्तो परिस्थितिलाई सबैले बिर्संदै जान्छन्। सम्झने त इतिहासका लेखक र राजनीतिक पर्यवेक्षकहरूले मात्र हो। तिनले भने राजनीतिमा भइरहेको यो प्रयोगलाई रोचक किसिमले हेरिरहेका छन्। नेकपाकै सरकार हो, जसका दुई पाइलटमध्ये एक दाहाल आफैँ छन्। त्यही सरकारले भर्खरै ‘जनयुद्ध’का क्रममा मारिएका सुरक्षाकर्मीलाई समेत सहिदको कोटिमा राखिसकेको छ। र, ती आफैँले सहिद बनाएका सुरक्षाकर्मीको सालिकमा आफैँले सलाम ठोक्नुपर्ने अवस्था सिर्जना भएको छ। गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी दिवसका क्रममा तत्कालीन माओवादीले हत्या गरेका तत्कालीन प्रमुख कृष्णमोहन श्रेष्ठलाई गरिएको सलाम पर्यवेक्षकहरूका निम्ति अनौठोलाग्दो दृश्य भए पनि हाम्रो मुलुकका राजनीतिक व्यक्तिका निम्ति फरक पर्दैन। तुलनात्मक रुपमा हाम्रो मुलुक सहज छ। २०५२ फागुन १ देखि सुरु भएको माओवादी ‘जनयुद्ध’ एक दशकमा टुंगिएपछि मुलुक शान्तिपूर्ण मार्गमा अग्रसर छ। बृहत् शान्ति सम्झौतापछि संविधान निर्माण, माओवादी लडाकुको समायोजनका मार्ग हुँदै देश यो अवस्थामा आइपुगेको छ। सशस्त्र द्वन्द्वका क्रममा पीडित रहेका व्यक्तिले पाउनुपर्ने संक्रमणकालीन न्यायको काम मात्र पूरा भएको छैन। त्यो काम पनि सहज ढंगले अहिलेको राजनीतिक नेतृत्वले पूरा गर्न सक्यो भने यथार्थमै त्यो मुलुकका निम्ति ठूलो योगदान हुनेछ। मुलुकमा फेरि अर्को माओवादी धम्की दिने दाहालले फेरि पार्टी मुख्यालयमा घोषणा गरेका छन्– ‘सबै राजनीतिक शक्ति मिलेर राष्ट्र निर्माण गर्ने बेला आएको छ।’ वास्तवमै मुलुकको हितका निम्ति सबैलाई मिलाएर जाने आँट नेकपा नेताहरूमा रह्यो भने मुलुकले काँचुली फेर्न सक्छ। बहुलवादी बाटोबाटै गन्तव्यमा पुगिन्छ भन्ने विश्वास आवश्यक छ। राजनीतिक उद्देश्यका निम्ति मित्र र शत्रु फेर्ने भन्दा पनि मुलुकको बृहत्तर स्वार्थमा सम्बन्ध हुनु आवश्यक छ।

 

प्रकाशित: २ फाल्गुन २०७५ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App