coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

प्रेमको विराट् रूप

प्रेम के हो ? यसको परिभाषा हामी हरेकले फरक फरक तरिकाले गर्छौं। फलानो व्यक्ति फलानी युवतीको प्रेममा छ भनेर टोल समाजमा कुरा गरेको सुनिन्छ। कुनै युवक वा युवतीले म तिमीलाई प्रेम गर्छु भनेर अर्को युवक वा युवतीलाई प्रस्ताव गरेको देखिन्छ र सुनिन्छ। हाम्रै बुवा आमाले हामीलाई कतिपटक तिमीहरूलाई अति प्रेमपूर्वक हुर्कायौँ, तिमी बिरामी हुँदा म दुब्लाएर आधा मासु भएकी थिएँ वा तिमीलाई छोडेर गएपछि म कति रात निदाउन सकिनँ भनेर प्रेम अभिव्यक्त गरेको सुनिन्छ र हामी पनि हाम्रा छोराछोरीलाई त्यसरी नै प्रेम दर्शाइरहेका हुन्छौँ। 

अझ बढी चाहिँ आजभोलि प्रेम भन्नेबित्तिकै दुई विपरीत लिङ्गीप्रतिको आकर्षणको विषयलाई बुझ्ने गरिन्छ। कतिपयले आफ्नो प्रेमी वा प्रेमिकालाई तिमी असाध्यै राम्रो, असल छौ म तिमीलाई मन पराउँछु त्यसैले म तिमीसँग प्रेम गर्छु भनेर प्रेमको कारणसहित प्रेम जाहेर गर्ने गर्छन् भने कतिले लगनशीलता, क्षमता, पद, प्रतिष्ठा र सम्पन्नताप्रतिको नतमस्तकतालाई पनि प्रेमकै परिभाषाभित्र समेटिरहेका हुन्छन्। बाबुआमाले छोराछोरीलाई वा छोराछोरीले बाबुआमालाई, श्रीमान्ले श्रीमतीलाई वा श्रीमातीले श्रीमान्लाई वा अन्य कुनै पनि सम्बन्धहरूमा एक अर्काबीचको कर्तव्य निर्वाहलाई प्रेम भन्ने गरेको पाइन्छ। 

के साँच्चै प्रेम भनेको त्यही हो त जुन हामी दैनिक जीवनमा एक अर्काबीचको सम्बन्ध निभाउन भूमिका निर्वाह गर्छौं ? एक अर्काबीच मायामोहमा बाँधिएका हुन्छौँ ? प्रेम देखाउन उपहार आदान प्रदान गर्छौं ? उपहार प्राप्त भएन भने आफ्नै प्रेमीप्रति शंकालु बन्छाँै ? र फेरि यिनै विषयलाई प्रेम भनेर जीवनभर भजन गाउँदै बिताउँछौँ। आज प्रेम दिवसको अवसरमा यही विषयमा केही चर्चा गरौँ र हामीले प्रेम भनेर अभिव्यक्त गरिरहेका व्यवहारको समीक्षा पनि गरौँ।

अध्यात्ममा प्रेमको स्थान सबैभन्दा माथि हुन्छ। भनिन्छ, संसारमा उत्पन्न भएका हरेक सुन्दर वस्तु वा भावहरू प्रेमको उपज हुन भने हरेक द्वन्द्व, युद्ध, विकृति, हिंसा, हत्या प्रेम अभावको कारणले उत्पन्न भएका हुन्। व्यवहारमा हामीले प्रेम भन्ने शब्दलाई त्याग र समर्पणको सट्टामा रूप, धन, यौवन र प्राप्तिसँग तुलता गरेर यो शब्दलाई यति विकृत बनायौँ कि प्रेम भन्नेबित्तिकै मान्छेको चरित्र र नैतिकतामा प्रश्न गर्ने वातावरण बन्यो। संसारमा सबैभन्दा दुरुपयोग भएको कुनै शब्द छ भने त्यो ‘प्रेम’ हो। 

कुनै व्यक्तिको अर्को व्यक्तिप्रतिको आसक्तिलाई पनि प्रेम भन्याँै। लोग्नेमान्छे र आइमाईमान्छे बीचको यौनजन्य आकर्षणलाई पनि प्रेम भन्यौँ। तर प्रेममा जब यौनजन्य अभीप्सा लुकेको हुन्छ, त्यसलाई प्रेमको सबैभन्दा निकृष्ट स्वरूप मानिन्छ। श्रीमान् र श्रीमतीबीचको सम्झौतापूर्ण बन्धनकारी सम्बन्ध, किशोरकिशोरीको क्षणिक आकर्षण, उपहार आदानप्रदान, पारिवारिक कर्तव्य निर्वाह, प्रेमको नाममा छोराछोरीमाथिको अधिक संरक्षण र नियन्त्रण सबैलाई प्रेम भन्यौँ र सधैँभरि प्रेमको विराटतालाई आफ्नै वरिपरि रुमल्याएर आफूभित्रको प्रेमको सागरलाई सानो दायरामा सीमित राख्यौँ। 

न त आफूले प्रेम बुझ्यौँ, सिक्यौँ न त सिकायौँ, न त प्रेमलाई स्वीकार्न गर्न नै सक्यौँ। आफ्नै स्वार्थ पूरा गर्न कसैप्रति नजिकिनु, उसका लागि केही गरेझैँ गर्नुलाई प्रेम भन्यौँ र जब आफूले भनेझैँ स्वार्थ पूरा भएन अनि दुःखी भयौँ। अनि रुँदै गुनासो गर्‍याँै कि मैले उसका लागि यति त्याग गरे तर उसले त्यसको उपेक्षा गर्‍यो। जब त्यागमा अपेक्षा मिसिएको हुन्छ, अनि त्यो प्रेम कसरी भयो त ? असुरक्षित जीवनको भयले एकअर्काप्रति बाँधिनु, जैविक आवश्यकताले नजिकिनु, समाज, संस्कार र प्रतिष्ठाका लागि एकअर्काका स्वच्छन्दतालाई बन्धक बनाउनुलाई प्रेमको नाम दिएर आकाश जस्तै फैलिने प्रेमको निराकार स्वरूपलाई एउटा छानोमुनि खुम्च्यायौँ। अनि प्रेमको सुगन्ध छर्ने र सुवासित हुने ईश्वरीय करुणाबाट विमुख हुँदै छौँ।

प्रेममा स्वीकारभाव हुनुपर्छ। जब मैले कसैलाई प्रेम गर्छु भने उसको हरेक खुसी र स्वतन्त्रतालाई मैले सम्मान गर्नुपर्छ। मैले प्रेम गरेको व्यक्ति मसँग भन्दा अन्यसँग बढी प्रफुल्ल देखिन्छ, मैले चाहेको भन्दा अरु नै काममा खुसी हुन्छ भने उसको खुसीका लागि मैले उसलाई रोकिनँ भने पो बल्ल मेरो प्रेममा त्याग भयो। उसको इच्छा विपरीत आफ्ना अनगन्ती अपेक्षा, कामना र वासना लादेर उसको स्वतन्त्रता कुण्ठित गरेर आफ्नो चाहनाअनुसार हिँडाउन खोजे त्यो कसरी प्रेम हुन सक्छ ? तर प्रेमिल त्याग हुन त्यागमा पनि खुसी हुनुपर्छ। यो विषय खाली प्रेमी प्रेमिका वा श्रीमान् श्रीमतीमा मात्र लागू नभई हरेक सम्बन्धमा लागू हुन्छ।

हामी सोच्छाँै नि, मेरो श्रीमान वा प्रेमी वा बुबा आमा वा साथी जसले पनि मलाई धरै माया गरोस्, अनि अरुसँग अलि नजिकिएको आभास हुनेबित्तिकै ईष्र्याले जल्छाँै। यदि साँच्चै हृदयमा प्रेमको मूल फुटेको व्यक्ति छ भने उसको प्रेम हुनु र नहुनु, दिनु र नदिनु, पाउनु र गुमाउनुभन्दा धेरै माथि, सम्बन्धहरू भन्दा धेरै पर, आफ्नो र अर्काको बीच कुनै भेद नभएको सीमाविहीन हुन्छ। अनि उसको प्रेम सूर्यको प्रकाश जत्तिकै सर्वव्यापी हुन्छ। 

ओशो भन्नुहुन्छ, यदि कसैको प्रेम कुनै एउटा व्यक्तिमा मात्र केन्द्रित हुन्छ भने त्यो व्यक्तिले जसलाई प्रेम गरिरहेको छु भन्छ त्यसमा पनि प्रेमभाव हुँदैन। कुनै स्वार्थ वा मोहले अभिप्रेरित हुन्छ। प्रेमिल व्यक्तिको प्रेमको कुनै दायरा हुँदैन। सम्पूर्ण सृष्टिमाथि उसको प्रेम अनवरत रूपमा वर्षिरहेको हुन्छ। प्रेमको बदलामात्र प्रेम होइन कि घृणाको बदलामा पनि प्रेम नै प्रस्फुटित हुन्छ। जिससलाई जब मृत्युदण्डका लागि सुलीमा चढाइयो। जिससले ईश्वरसँग प्रार्थना गर्नुभयो कि जसले वहाँलाई सुलीमा चढाँउदै छन् उनीहरूलाई क्षमा दिनु। आफ्नो विरुद्ध अहित गर्नेहरूप्रतिको यो करुणा नै वास्तवमा प्रेमको उद्भव हो। भगवान् गौतम बुद्धको सन्देशको सार नै प्रेम र करुणा हो। 

कुनै पनि कारण, आधार वा सीमामा नबाँधिई बिनाकुनै प्राप्तिको अपेक्षा कसैको सेवामा तल्लिन रहनु, म र मेरोलाई भुलेर सबैप्रति मैत्री, करुणा, प्रमोद र कृतज्ञताभाव समानरूपमा अभिव्यक्त भइरहनु नै प्रेमको मूलभूत चरित्र हो। तर हामी प्रेमको नाममा क्षणिक आकर्षण, आवेग र संवेगमा अभ्यस्त भइरहेका छाँै। आफूले गरेको प्रेममा आफ्नै खुसी खोज्छौँ। छोरालाई प्रेम गर्छु भन्छौँ तर बुहारीसँग हाँसेको छोरो देखेर ईष्र्या गर्छौं। छोरीलाई प्रेम गर्छौं तर छोरीले प्रेम गरेको केटोलाई कुजात वा गरिब भनि अपमान गर्छौं। 

श्रीमान् वा श्रीमतीलाई प्रेम गर्छु भन्छौँ तर उसका रहर, सौख र सपनाहरूमाथि दमन गरी आफ्ना इच्छाहरू थोपर्छौं। उनीहरूका स्वतन्त्रता कुण्ठित गर्छौं। प्रेमी वा प्रेमिका बनेर हिँड्छाँै तर एक अर्काप्रति अधिकार जमाउने प्रतिस्पर्धामा प्रेमको सट्टामा घृणा सँगाल्छाँै। अनि यही माया मोहको जाल, प्राप्तिको चाहनालाई प्रेम भनेर प्रेमको विशालता, विराटता र ओशनिक चरित्रलाई तुच्छ बनाइरहेका छौँ। संसारमा प्रेमको पुनर्जागरणको वकालत गर्ने सन्त गुरुहरू अपमानित हुन्छन्। सन्त भ्यालेन्टाइनले कुनै युवतीसँग प्रेम गरेको आरोपमा जेल जानुपर्‍यो। कति छोराछोरीहरूले प्रेम गरेको अभियोगमा मानसिक र शारीरिक यातनाहरू भोगेका छन्। कसैको प्रेममा आफूलाई समर्पित गर्नेहरू पागल भनेर चिनिएका छन्। आज हामी हरेकको हृदयबाट प्रेम र करुणा हराउँदै गएको छ। 

हरक्षण हरपल सुख शान्ति र ईश्वर प्राप्तिका लागि आत्मसात् गर्नुपर्ने प्रेमको मन्त्रलाई यौन, यौवन, आकर्षण, सामीप्य, पैसा तथा लेनदेनसँग तुलना गरी प्रेमको गरिमालाई मूल्यहीन बनाएका छौँ। अतः प्रेमको यही सतही बुझाइलाई बदल्ने साहस गरी सबैले आफूभित्र प्रेमको मूल फुटाउने र प्रेमिल संसार निर्माणको अभियानमा समाहित गर्नु नै वास्तवमा प्रेम दिवसको उत्सव हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७५ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App