७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गर्याे : रूस

मस्को – संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ। 

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक संकटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाउँदै चेतावनी दिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ। 

उनले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गरेका छन्। रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मंगलबार फोनमार्फत अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ। रुसी विदेशमन्त्री लाभरोभले अमेरिकी विदेशमन्त्री पोम्पेओसँगको फोनवार्तामा अमेरिकाले भेनेजुएलामा अझै हस्तक्षेप गर्ने हो भने उसले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनको मुद्दा व्यहोर्नु पर्ने चेतावनी पनि दिएको विज्ञप्तिमा भनिएको छ।

गत महिना विपक्षी नेता उवान गुआइडोले आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले समर्थन गरेका थिए। आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको विपक्षी नेता गुआइडोको दाबी छ। राष्ट्रपति निकोलास मादुरोले भने आफू नै निर्वाचनबाट निर्वाचित राष्ट्रपति भएको बताउँदै आएका छन्। विपक्षीले बहिष्कार गरेको निर्वाचनबाट राष्ट्रपति बनेको भन्दै भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलास मादुरोका विरुद्धमा प्रदर्शन गर्ने गरेका छन्। उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै राष्ट्रपतीय पदको नयाँ निर्वाचनको माग गर्दै आएका छन्। उनीहरुले राष्ट्रपति मादुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गराउन मागसमेत गर्ने गरेका छन्। राष्ट्रपति मादुरोले भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताउँदै आएका छन्। 

विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मादुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएका छन्। मादुरोले भने देशको संकट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्ने तर्फ इच्छा गरेका छैनन्।  
भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक संकट बढ्दो छ र उता विपक्षी नेता गुआइडोले भने राष्ट्रपति मादुरोलाई अवैध दाबी गर्दै आएका छन्।

प्रकाशित: २ फाल्गुन २०७५ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App