१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको पश्चिमी क्षेत्रमा रहस्यमयी प्रजातिको भ्यागुतो फेला

नयाँ दिल्ली – भारतीय अनुसन्धानकर्ताहरुले सडकनजिकै जमेको पानीमा नयाँ प्रजातिको भ्यागुतो फेला पारेका छन्। 

दिल्ली विश्वविद्यालयका विद्यावारिधिका विद्यार्थी सोनाली गार्ग र उनका सुपरभाइजर एसडी बिजुले देशको पश्चिमी घाटमा नयाँ प्रजातिको भ्यागुतो फेला पारेको बताइएको छ। पश्चिमी घाट भारतको दक्षिणी क्षेत्रमा रहेको जेविक विविधताका लागि हटस्पट हो। 

भेटिएको नयाँ भ्यागुतो भारतीय भ्यागुतो समूहको भएको र त्यसलाई वैज्ञानिकहरुले ‘मिस्टिकेलस’ नाम दिएको बिबिसीले उल्लेख गरेको छ। मिस्टिकेलस भन्ने नाम ल्याटिन भाषाबाट लिइएको वैज्ञानिकले बताएका छन्। उनीहरुका अनुसार ल्याटिन भाषामा मिस्टिकेलस भनेको रहस्मयी वा सानो भन्ने बुझिन्छ। 
तीन वर्षको लगातारको अनुसन्धानपछि वैज्ञानिकहरुले साँघुरो मुख भएको सो भ्यागुतोको प्रजाति पत्ता लगाएको र सो भ्यागुतो विल्कुलै नयाँ प्रजातिको भएको बताइएको छ। वैज्ञानिकले हालसालै पत्ता लगाएको सो भ्यागुतो माइक्रोहाइलिड भ्यागुतोको जाति भएको बिबिसीले उल्लेख गरेको छ। 

पत्ता लगाइएको नयाँ जाति हाललाई एउटामात्रै इलाकामा भेटिएको अनुसन्धानकर्ताहरुले बताएका छन्। ‘भारतमा अति नै अनुसन्धान गरिएको र खोजी गरिएको जैविक विविधताले भरिपूर्ण पश्चिमी घाटमा हामीले भेटेको भ्यागुतोका नयाँ प्रजातिबारेमा थप जानकारीबारे भने अझै अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा संलग्न विद्यावारिधिकी विद्यार्थी सोनाली गार्गलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘यो भ्यागुतोबारे आजसम्म ध्यान दिइएको थिएन किनभने प्रजनन क्रियाका लागि मात्रै भनेर यो भ्यागुतो जम्मा चार दिनका लागि बाहिर निस्कन्छ र वर्षभरी गोप्य जीवनशैली बाँच्छ,’ उनले बताइन्। 

पछिल्लो दशकमा भारतको पश्चिमी घाटहरुमा भ्यागुताका कैयौं नयाँ प्रजाति पत्ता लागेका छन्, जसले गर्दा पश्चिमी घाट जैविक विविधताका लागि विश्वकै हटस्पट बनेको छ। 

भ्यागुतोको नयाँ प्रजाति पत्ता लागेको विषय बाहिरिए पनि भारतमा रहेका कैयौं उभरचर प्राणी लोपोन्मुख रहेको भन्दै चेतावनी सार्वजनिक हुने गरेको छ। विशेषगरी वासस्थानमा हानी र पतनका कारण त्यस्ता प्राणीहरु लोप हुँदै गएको बताइन्छ। पछिल्लो समय भेटिएको भ्यागुतोको नयाँ प्रजाति सवारी आगमनले खाल्डो बनाएको क्षेत्र, खेतीपाति गरिएको क्षेत्र र मानव बस्तीमा भेटिएको अनुसन्धानकर्ता गार्गलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘भर्खरै पत्ता लागेको भ्यागुतोको नयाँ प्रजातिको वासस्थानका लागि आवश्यक पर्ने तत्वबारे थोरै मात्रै जानकारी उपलब्ध भएको भए पनि त्यस्ता भ्यागुतोलाई जोगाउनका लागि विशेष क्षेत्रलाई संरक्षण गरिनुपर्छ,’ उनले बताइन्। 

सन् २०१६ मा पनि पश्चिमी घाटमा नयाँ प्रजातिका भ्यागुता पत्ता लागेका थिए। त्यस्ता भ्यागुता बालुवाभित्र भेटिएका थिए। सोही वर्ष एक शताब्दीभन्दा अघि मरेको हुनसक्ने भन्दै अनुमान गरिएको अलौकिक रुख भ्यागुतोको प्रजाति पनि पत्ता लागेको थियो। सोही क्षेत्रमा सन् २०१७ मा पनि चारवटा नयाँ प्रजातिका भ्यागुता पत्ता लागेका थिए।

प्रकाशित: २ फाल्गुन २०७५ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App