८ वैशाख २०८१ शनिबार
विचार

प्रेमको बजार र बजारको प्रेम

लभ अर्थात् प्रेम यस्तो शक्तिशाली भावना हो, जसले मानिसलाई अद्भुत शान्ति दिन्छ, अपूर्व शक्ति पनि दिन्छ। वास्तवमा प्रेम जीवनको प्रेरक शक्ति हो, मनमस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो। जब मानिस प्रेममय हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुन पुग्छ। प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ। 

हरेक सामान्य महिला–पुरुषमा प्रेम भावना रहन्छ। मानिसमा प्रेम भावना बाल्यकालदेखि नै विकसित हुन्छ। जब व्यक्ति अन्य कुनै व्यक्ति, पशुपक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लभ वा एफेक्सन)को संज्ञा दिइन्छ। यस्तो संवेगमा व्यक्तिले मित्रता, सहानुभूति तथा सहयोगको प्रवृत्ति देखाउ“छ। प्रेम मूलभूत रूपमा दुई किसिमका हुन्छन्, अकामुक प्रेम (ननसेक्सुअल लभ) र कामुक प्रेम (सेक्सुअल लभ)। 

एक बालकको अर्को बालकसँगको प्रेम, छोराछोरीको आमाबाबुप्रतिको प्रेम, आमाबाबुको छोराछोरीप्रतिको प्रेम, एक व्यक्तिको पशुपक्षीप्रतिको प्रेम तथा साथीसाथी बीचको प्रेम आदि प्रायः अकामुक प्रेमका उदाहरण हुन् भने पतिपत्नी बीचको प्रेम तथा प्रेमीप्रेमिका बीचको प्रेम कामुक प्रेमको उदाहरणहरू हुन्। कामुक प्रेमको अभिव्यक्तिमा आलिंगन, चुम्बन तथा रतिक्रिया (सेक्सुअल इन्टरकोर्स)को प्रधानता रहन्छ। हो, प्रेमपूर्ण जीवन नै उत्कृष्ट जीवन हो। यो नै जीवन सरिताको प्रक्रिया हो। प्रेमको प्रक्रिया ऊध्र्वगामी प्रक्रिया हो। मूर्तबाट अमूर्त, विशेषबाट सामान्य तथा व्यष्टिबाट समष्टितर्फ गतिमान गर्ने शक्ति केवल प्रेममा नै छ। प्रेमबिना मानिसको जीवन असम्भव छ। प्रेमबिना मानिस बा“च्नै सक्दैन। त्यसैले मानिसले आफूले चाहेको प्रेम पाउन जुनसुकै मूल्य चुकाउन पनि पर्छि पर्दैन। 

मानिसको यो मनोविज्ञान विश्वबजारले नबुझ्ने कुरै भएन। त्यसैले विश्वबजारले प्रेमलाई अनेक ब्राण्ड नाम दिएर बजारमा भित्र्याउने गरेको छ। त्यसैले त विश्व बजारभित्र अहिले अनेकौँ बजार छन्। सियोदेखि रकेटसम्मका बजार छन्। नुनदेखि सुनसम्मका बजारहरू छन्। शिक्षादेखि स्वास्थ्यका बजार छन्। धर्मदेखि संस्कृति र परम्पराका बजार छन्। सेवादेखि राजनीतिका बजार छन्।  भावना, माया, ममता र प्रेमका बजार पनि छन्। प्रेमको बजार संसारको एक भव्य बजार हो। यस बजारको अनेक रूपरंग भए तापनि भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस यसको प्रमुख उद्योग हो। हाल भ्यालेन्टाइन डेको विश्वप्यापी बजार खर्बौं डलरको छ। विश्वका हरेक देशहरूमा यसको बजार विस्तार भए तापनि सबैभन्दा ठूलो बजार भने अमेरिका हो। अमेरिकामा भ्यालेन्टाइन डेमा गहना, कार्ड, फल तथा खानपिनमा खुब खर्च हुने गर्छ। 

एक अध्ययनका अनुसार गत वर्ष अमेरिकाले मात्र भ्यालेन्टाइन डेका लागि ३६.८ बिलियन डलर अर्थात् ४१ खर्ब ७० अर्ब १७ करोड खर्च गरेको थियो। भ्यालेन्टाइन मनाउनेहरूले चकलेटमा १.७ बिलियन डलर, गुलाबमा २५० मिलियन डलर, १४१ मिलियन डलर कार्डमा, ४.३ बिलियन गहना तथा रक्सीमा खर्च गरेका थिए। भ्यालेन्टाइन्स डे मनाउने औसत अमरिकीले २०० डलर अर्थात् २२ हजार रुपियाँ खर्च गरेका थिए। भ्यालेन्टाइन डेको बजार युरोपमा पनि ठूलो छ। बेलायतमा मात्र गत वर्ष कार्ड, उपहार, फल, खाना र पेयमा ९८० मिलियन खर्च भएको थियो। एसियाका ठूला राष्ट्र भारत र चीनभित्र मात्र होइन हङकङ, थाइल्यान्ड, नेपाल जस्तो सानो देशमा पनि भ्यालेन्टाइन डेको बजार फैलिएको छ। गत वर्ष चीनमा भ्यालेन्टाइन मनाउने औसत मानिसले ३५० डलर खर्च गरेका थिए भने भारतमा औसत २ हजारदेखि ३ हजार भारतीय रुपिया“ खर्च गरेका थिए। 

भारतमा गरिएको एक सर्वेक्षणका अनुसार भ्यालेन्टाइन डेको दिनमा मात्र भारु १५ बिलियन बराबरको कारोबार हुने उल्लेख छ। तर भारतीय उद्योग तथा वाणिज्य महासंघको महासचिव डी एस रावतको भनाइ छ, भ्यालेन्टाइन डे एक दिनको उत्सव होइन, यो ८ दिनसम्म मनाइन्छ। त्यसैले ८ दिनको हिसाब गर्ने हो भने भारतमा भ्यालेन्टाइन डेको बजार भारु १२ हजार करोडभन्दा बढी रहेको रावतको दाबी छ। यहा“ उल्लेखनीय कुरा के भने विश्वबजारले भ्यालेन्टाइन डेलाई यति व्यवसायीकरण गरेको छ कि यसलाई एक दिन होइन, विभिन्न नामहरूमा सप्ताहव्यापी रूपमा मनाउने गरिन्छ। फेब्रुअरी ७ तारिखमा रोज डे, फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रोमिस डे, फेब्रुअरी १२ मा किस डे, फेब्रुअरी १३ मा हग डे तथा फेब्रुअरी १४ मा भ्यालेन्टाइन्स डे।  हालै गरिएको एक अध्ययनका अनुसार अधिकांश मानिसहरूले भ्यालेन्टाइन डे निकै व्यावसायिक भएको र प्रेमको नाममा गरिने यस्तो खर्चलाई फजुल खर्च मानेका छन। मायाप्रेम संसारको कुनै पनि बजारमा नपाइने र किन्न नसकिने अधिकांश मानिसहरूको दाबी छ। तर प्रेमका लागि जे पनि गर्न पछि नपर्ने मानिसहरूले बजारमा प्रेम किन्न खोजिरहेका छन्। त्यसैले प्रेमको बजार यसरी फैलिएको हो। 

प्रकाशित: २ फाल्गुन २०७५ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App