coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मन्त्री अधिकारीकाे घट्दो ग्राफ

काठमाडौं  – प्रधानमन्त्री केपी ओलीको मन्त्रिमण्डलमा रवीन्द्र अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको जिम्मेवारी पाए। आसलाग्दा नेताको रुपमा हेरिएका अधिकारीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउँदा धेरैलाई लागेको थियो– उनले आफ्नो ग्राफ बढाउने ठाउँ पाए।

अधिकारीले पनि मन्त्रालय सम्हालेपछि सय दिनमै धेरै काम गर्ने योजनाको फेहरिस्त अघि सारेर आशा देखाए। योजनाअनुसार सय दिनमा गर्ने भनिएका केही कामले पूर्णता पाए पनि अपेक्षाअनुरुप काम भएनन्।

जिम्मेवारी सम्हालेको वर्ष दिनको अवधिमा मन्त्री अधिकारीले काम गर्न खोजेजस्तो देखाएका छन्। पर्यटन क्षेत्रमा केही सुधारका संकेत पनि देखिएका छन्। मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक सम्हाल्न खोजेका मन्त्री अधिकारीले आफ्नो ग्राफ भने स्वाट्टै घटाए।

विशेषगरी ‘वाइड बडी’ खरिद घोटाला प्रकरणमा मन्त्री अधिकारीको पनि संलग्नता देखिएपछि उनीमाथि नैतिक प्रश्न खडा भयो। धेरैतिरबाट राजीनामा दिनुपर्नेसम्मको आवाज उठ्यो। आफूले गलत नगरेको दाबी गरेर राजीनामा नदिए पनि उनले नैतिक जिम्मेवारीस्वरुप वाइड बडी खरिद घोटाला प्रकरणमाको भागिदार हुनुपर्ने संसदीय समितिको निष्कर्ष छ। त्यही अनुसार अहिले मन्त्री अधिकारीमाथि पनि सरोकारवाला निकायले छानबिन गरिरहेको छ।

पार्टी निकट संघ–संस्थालाई जथाभावी बजेट बाँडेपछि घट्न थालेको मन्त्री अधिकारीको ग्राफ वाइड बडी घोटाला प्रकरणसम्म आइपुग्दा धेरै तल झरेको उनकै पार्टी नेकपाभित्रै चर्चा हुने गरेको छ।
कार्यशैलीमा कुशलता नहुँदा मन्त्री अधिकारीले आफ्नो ग्राफ घटाउँदै लगे पनि एक वर्षको अवधिमा पर्यटन क्षेत्रमा उनले गरेका सुधारलाई भने भुल्न मिल्दैन।

‘समृद्ध नेपाल, सुखी नेपाली’ वर्तमान सरकारको नारा छ। यसलाई सफल बनाउन नेपालको पर्यटन क्षेत्रलाई पनि एक आधारको रुपमा लिएको छ। कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढ्दो छ। यसलाई झन्डै एक चौथाइ पुर्‍याउन नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउनुपर्छ। 

त्यसका लागि राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्छ। नेपाल वायुसेवा निगममा विमान भित्र्याएर अन्तर्राष्ट्रिय उडान बढाउनुपर्छ। त्यसकै लागि दुइटा वाइड बडी जहाज मन्त्री अधिकारीकै पालामा आयो। यसको प्रक्रिया मन्त्री अधिकारीअगाडि नै सुरु भए पनि विमान भने उनी मन्त्री भएपछि आएका हुन्।

नेपालले सन् २०११ मा पर्यटन वर्ष मनायो। त्यो बेलामा सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। तर, त्यो लक्ष्य पूरा यस वर्ष मात्रै भयो। सन् २०१८ मा झन्डै १२ लाख विदेशी पर्यटक नेपाल भित्रिए। अधिकारी मन्त्री भएकै कारण यो संख्या बढेको भने होइन। तर, पर्यटन मन्त्रीले गरेका सुधारका कामले केही मद्दत भने पक्कै पुगेको हो।

अब नेपालले पर्यटन वर्ष २०२० मनाउने तयारी गरिरहेको छ। उक्त पर्यटन वर्षमा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य सरकारको छ। त्यसको चुनौती मन्त्री अधिकारीको काँधमा छ। अधिकारीले त्यसका लागि केही तयारी पनि गरेका छन्। 

नेपालको सन्दर्भमा पर्यटक भित्र्याउन विमानस्थल प्रमुख मानिन्छ। एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुधार कार्य अघि बढेको छ। त्यस्तै भैरहवामा गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति भएर सञ्चालनको तयारीमा छ। पोखराको विमानस्थललाई पनि स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय बनाउने काम भइरहेको छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा बाराको निजगढमा प्रस्तावित विमानस्थल निर्माणको कार्यलाई पनि मन्त्री अधिकारीले गति दिन खोजेका छन्। अहिलेसम्म नतिजा देखिने गरी काम नभए पनि अबको तीन महिनाभित्र काम थालिने प्रतिबद्धता मन्त्री अधिकारीको छ।

विमानस्थलपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाउनुपर्ने प्रमुख चुनौती मन्त्री अधिकारीसामु छ। हाल दुइटा वाइड बडी विमान ल्याइएको छ। तर, ती विमान बजार नपाएर घाम तापेर बस्नुपर्ने अवस्था छ। युरोपमा विमान उडाउन इयूले नेपाली जहाजलाई कालोसूचीमा राखेको छ। यसपटक कालोसूचीबाट हटाउने प्रतिबद्धता गरेका मन्त्री अधिकारीले अर्कोपटक हट्ने विश्वास व्यक्त गरेका छन्। उनको योजनाअनुसार काम भएन भने युरोपमा नेपाली जहाज कहिले उड्न पाउँछन्, त्यसको टुंगो छैन। फेरि अहिले निगममा भएका विमान मात्रै पनि पर्याप्त छैनन्। सरकाले यसअघि नै वाइड बडी जहाजको संख्या आठवटा पुर्‍याउने योजना सार्वजनिक गरिसकेको छ। उक्त योजना कार्यान्वयन गर्नु मन्त्री अधिकारीको चुनौती हो। अझ, निगम आर्थिक संकटमा परिरहेको बेला त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने विषय पनि मन्त्री अधिकारीसामु छ।

पर्यटनमा आवश्यक अर्को पूर्वाधार होटल हो। निजी क्षेत्रले भने आवश्यकभन्दा बढी लगानी गरेर पर्याप्त मात्रामा होटल बनाइरहेको छ। होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनय शाहका अनुसार नेपालमा अहिलेकै अवस्थामा २५ लाख पर्यटक धान्न सक्ने क्षमतामा होटल छन्। तर, ती होटल सञ्चालन र व्यस्थित गर्न सरकारले पर्यटनमैत्री नीति तथा वातावरण बनाउनुपर्छ। पर्यटनलाई समयानुकूल गर्न नीतिगत व्यवस्थासमेत भइरहेका छन्। संघीय पर्यटन नीति २०७५ को विधेयक तयार भएको छ। मन्त्री अधिकारीका अनुसार उक्त विधेयकमा पर्यटन क्षेत्रमा धेरै सुधारका काम हुनेगरी नीति समावेश छन्। 
मन्त्री अधिकारीले टेकिङ तथा पर्वतारोहण क्षेत्रमा बढ्दो रहेको फर्जी उद्धारलाई पनि व्यवस्थित गर्न कार्यविधि ल्याएका छन्। तर, फर्जी उद्धारमा संलग्नमाथि भने कारबाही गर्न मन्त्री अधिकारी उदार बनेका छन्। भदौ १६ गते ल्याएको फर्जी उद्धार रोक्ने तथा पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने कार्यविधिसमेत कार्यान्वयन हुन सकेको छैन।

उनीमाथि भएको अर्को चुनौती सन् २०२० को पर्यटन वर्ष सफल बनाउनु पनि हो। तर, अधिकारी सबै कुरा व्यवस्थित हुँदै आएकाले यसको कार्यान्वयनमा आफू सफल हुने बताउँछन्। सरकार बनेको एक वर्ष अवधिको समीक्षा गर्दै बुधबार नागरिकसँग उनले भने, ‘मेरो मन्त्रालयको कार्य प्रगति नियाल्दा सन्तोषजनक छ।’ 

उनका अनुसार सोचेअनुरुप सबै काम नभए पनि पर्यटन मन्त्रालयले धेरै काम गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता करिब ३० प्रतिशतले वृद्धि गर्न सक्नुलाई मन्त्री अधिकारी महŒवका साथ लिन्छन्। त्यस्तै विमानस्थलको पूर्वाधार निर्माणका काम अगाडि बढेका छन्। क्षेत्रीय विमानस्थलहरु सञ्चालनमा आउने क्रममा छन्। आन्तरिक विमानस्थलहरुमा धमाधम काम भएका छन्। ‘मैले जिम्मेवारी सम्हाल्दा एक दर्जनमात्रै आन्तरिक विमानस्थल सञ्चालनमा थिए,’ मन्त्री अधिकारीले भने, ‘अहिले ३२ वटा सञ्चालन गर्न सकिने अवस्थामा छन्। २८ वटा विमानस्थल त चलिरहेका छन्।’ 

आफूले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि धेरै आसलाग्दा काम भएको उनले दाबी गरेर। नेपाल हवाई यात्रुको अन्तर्राष्ट्रिय बिमा ह्वातै बढाउनेदेखि पर्यटनमा भएका अनियमितता हटाउनेसम्मको काम भएको उनको दाबी छ। त्यसैले मन्त्री अधिकारी आफ्नो ग्राफ घट्दो होइन, बढ्दो क्रममा रहेको बताउँछन्। ‘मैले जिम्मेवारी सम्हालेपछि गलत केही पनि गरेको छैन,’ उनले भने, ‘वाइड बडीमा गलत गरेको भन्ने जुन आरोप छ, त्यो अनुसन्धानबाट मेरो संलग्नता नभएको ठहर्नेमा संका छैन।’ 

पर्यटन क्षेत्रलाई व्यवस्थित बनाएर विकास गर्न आफू लागिरहेको उनले बताए। समृद्ध नेपाल बनाउन पर्यटनले महत्वपूर्ण योगदान गर्ने गरी काम गर्न आफू प्रतिबद्ध रहेको मन्त्री अधिकारीको भनाइ छ।

प्रकाशित: २ फाल्गुन २०७५ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App