coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ब्लग

हेप्पी भ्यालेन्टाइन्स् डे !

बिमन बुर्लाकोटी 

Valentine's Day (प्रणय दिवस वा प्रेम दिवस) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो। यस् पर्वको बारेमा कुनै धर्मग्रन्थ वा पुस्तकमा कुनै कुरा उल्लेख नभएता पनि यस पर्वको शुरूवात क्रिस्चियन धर्मका धार्मिक गुरु पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ।

तत्कालिन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रेम र विवाहमा प्रतिबन्ध लगाएका थिए। तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानवधर्म विरुद्ध भएको ठान्थे।

उनलेे सम्राटको आदेश विपरित युवायुवतीलाई प्रेम र विवाहको लागि प्रेरित गरे, थुप्रै जोडीहरुको लुकिछिपी विहे गराई दिन थाले। यसरी राजाज्ञा अवज्ञा गर्दै हिडेका कारण भ्यालेन्टाइन सम्राट क्लाउडियसको आदेशमा पक्राउ परे । उनलाई जेलमा थुनियो। मृत्युदण्डको सजाय सुनाइयो। जेलमा मृत्युलाई कुरेर बन्दी जीवन बिताइरहेका सेन्ट भ्यालेनटाइन जेलरकी दृष्टि बिहिन छोरीको प्रेममा परे। 

मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे। र त्यसको मुनी लेखे,  Love from your Valentine. यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु।’

ई. पू. २७० को फेब्रुअरी १४ मा सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो। यसरी प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउन थालिएको हो भन्ने किंवदन्ती पाइन्छ। विश्वभरी नै उत्सवको रूपमा मनाउने यस दिवसको केही वर्ष अघिसम्म नेपालमा खासै चर्चा परिचर्चा नभए पनि पछिल्लो समय नेपाली युवायुवतीमा यस पर्वले गहिरोसँग जरा गाडिसकेको छ।

तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो। आयातित संस्कृति हो। सँगै, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन। प्रेमको कुनै सीमा हुँदैन। 

प्रेम सम्बन्धमा रहेका युवायुवतीमात्र होइन, प्रेम गर्ने तरखरमा रहेका युवायुवतीका लागि पनि भ्यालेन्टाइन डे को दिन विशेष हुनेगर्छ। यस दिन युवायुवती आफूले मन पराएको व्यक्तिलाई रातो गुलाफको फूल, चकलेट, कार्ड र उपहारहरू दिने गर्छन्। 

भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ। यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ। फूल स्वीकार गरेमा प्रेम प्रस्ताव स्वीकार गरेको बुझिन्छ। गुलाफी रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक हो। भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो। अर्थात् मेरो मुटु तिम्रो लागि हो।

हिजोआज युवायुवती मात्र होइन, वयस्क जोडी पनि यो विशेष अवसरमा आफ्ना पार्टनरलाई विशेष उपहार दिने, सँगै पार्कमा घुम्न जाने, सँगै डिनर गर्न जाने आदि गर्दछन्। शहरीया जीवनमा भ्यालेन्टाइन डे संस्कृति नै बन्न थालेको छ। यो दिवस पाश्चात्य संस्कृति भए पनि यो विशेष दिनले दाम्पत्य जीवन वा पार्टनरमा अझ प्रेम, आदर, सम्मान बढाउने उनीहरूको तर्क छ। त्यसो त, यस संस्कृतिलाई पश्चिमेली छाडा संस्कृतिको संज्ञा दिनेको सङ्ख्या पनि कम छैन्। 

आपसमा प्रेम, सद्भाव र माया बढाउने चाड वा अवसर  हाम्रो आफ्नै संस्कृतिमा पनि यथेष्ट छन्। भगवान श्रीकृष्णको सम्झनामा मनाइने कृष्ण अष्टमी र रंगहरूको पर्व फागु पुर्णिमा प्रेम भावले भरिपूर्ण छ। प्रेम वियोगमा प्रताप मल्लले बनाएका रानी पोखरी र खड्ग शमशेरले बनाएको पाल्पाको रानी महलका कहानी सेन्ट भ्यालेन्टाइनको बलिदानी भन्दा कम छैन।

युवायुवतीमा लोकप्रिय प्रेम दिवसमा विकृति पनि बढ्दो छ। पछिल्लो वर्षहरूमा भड्किलो र खर्चिलो भन्दै गइरहेको छ प्रेम दिवस। प्रेमलाई मोलमोलाइको वस्तु ठानेर शारीरिक सम्बन्धकै लागि प्रेम गर्नेहरूको जमात ठूलो छ। विपरीत लिङ्गप्रतिको आकर्षण शाश्वत प्राकृतिक नियम हो। तर यो प्रेम होइन। प्रेम त दुई आत्माको मिलन हो जुन सहजै नहुन सक्छ। तर सेक्स मात्र दुई शरीरको मिलन हो। जहाँ जति बेला चाहियो त्यही बेला हुन सक्छ। त्यसैले प्रेम र सेक्स भिन्न पाटा हुन्। सेक्स सबैले गर्न सक्छन् तर प्रेम गर्नलाई आत्मा चाहिन्छ।

प्रेमको न शुरु हुन्छ, न अन्त्य नै। यसमा न कुनै स्वार्थ हुन्छ, न कुनै प्राप्ति नै। 

जसले प्रेमलाई बोध गरेको हुन्छ, उसको निम्ति प्रेम धैर्य हो, प्रेम सहिष्णुता हो, प्रेम प्रतीक्षा हो, प्रेम सेवा हो, प्रेम सुन्दरताको पर्याय हो। प्रेम पानीमा हुन्छ, प्रेम हावामा हुन्छ, प्रेम चेतनामा हुन्छ। प्रेम मायालुको आँखामा हुन्छ, प्रेम पत्नीको ईष्र्यामा हुन्छ, प्रेम आमाको काखमा हुन्छ, प्रेम बाबुको हप्काइमा हुन्छ। प्रेम मातृत्वमा खेल्छ, भ्रातृत्वमा बाँँच्छ र प्रेम मित्रतामा हाँस्छ।

यसर्थ, प्रेम दिवस १४ फेब्रुअरीलाई प्रेम दिवसकै रूपमा मनाउँ, संस्कारलाई भड्किलो नबनाउँ। अनावश्यक नक्कल गरेर समाजलाई विकृतिको बाटोमा नमोडौं। प्रेम बाँडेर प्रेमिल जीवन बाँचौं । प्रेम दिवस यानी कि भ्यालेन्टाइन डे को शुभकामना।

हेप्पी भ्यालेन्टाइन डे !

प्रकाशित: २ फाल्गुन २०७५ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App