७ वैशाख २०८१ शुक्रबार
खेल

डीपीएलमा धनगढीकाे लगातार तेस्राे हार, अघिल्लाे चरण प्रवेश सम्भावना कठिन

धनगढी स्टार्सविरुद्ध बलिङ गर्दै विराटनगर किंग्सका कप्तान करण केसी । तस्बिर : नागरिक

काठमाडाैं - धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सले लगातार तेस्रो हार व्यहोरेको छ। धनगढी आफ्नो दोस्रो खेलमा विराटनगर किंग्ससँग २१ रनले पराजित भएको हो। लगातारको पराजयसँगै धनगढीको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले दिएको १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको धनगढीले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८२ रन मात्रै जोड्न सकेपछि लगातार तेस्रो हार व्यहोर्न बाध्य भएको हो। १ सय ४ रनको सामान्य विजयी लक्ष्य पाएपनि धनगढीका ब्याट्सम्यानले सम्हालीएर  खेल्न नसक्दा नमिठो हार व्यहोर्नु पर्यो।

धनगढीका सन्दीप रजालीले सर्वाधिक ३४ तथा राजु रिजालले १५ रन बनाउनु वाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन्। धनगढीका पवन सर्राफ, अमिर हयात, सौरभ खनाल र कप्तान सोमपाल कामी समान ४ रनमा आउट भए। यस्तै सुरुवाती ब्याट्सम्यान सुनिल धमला १ र रोहन मुस्तफा ६ रनमा आउट भएपछि धनगढी दबाबमा परेको थियो। यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अमित श्रेष्ठ समेत ७ रनमा आउट भए। धनगढीको ब्याटिङ धारासायी पार्ने क्रममा विराटनगरका अविनाश यादव र करन केसीले समान ४/४ विकेट लिए।  यस्तै शुसन भारीले २ विकेट लिए।

यसअघि ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन जोडेको थियो। विराटनगरका सुरुवाती ब्याट्सम्यान चल्न नसकेपनि मध्येक्रमका ब्याट्सम्यानले सम्हालीयर खेल्दा विराटनगर १ सय ३ रनको स्कोरमा पुगेको थियो। विराटनगरका अविनाश यादवले सर्वाधिक २७ तथा कप्तान करन केसीले २१ रन बनाए। यस्तै आसिफ शेखले १२ तथा सम्साद शेखले ११ रन बनाउनु वाहेक विराटनगरका समेत अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

धनगढीका कप्तान सोमपाल कामी र विपिन खत्रीले समान ३–३ विकेट लिए। यस्तै रोविन क्षेत्रीले २ विकेट लिए। धनगढी यसअघि भएका काठमाडौं गोल्डेन्ससँग ४ तथा सिवाइसी अत्तरीयासँग ५ रनले पराजित भएको थियो। यस्तै विराटनगरले भने पहिलो जित दर्ता गरेको छ। विराटनगर पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग ५ विकेटले पराजित भएको थियो। बुधबार नै भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको थियो।

प्रकाशित: १ फाल्गुन २०७५ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App