coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्वाञ्चल विश्वविद्यालयको नियुक्ति स्थगत गर्न नेकपाको माग, प्रमकाे ध्यानाकर्षण

विराटनगर– प्रक्रिया मिचेर सह रजिष्ट्रार र दुई सहायक डिन नियुक्ति गरेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा जारी आन्दोलन चर्किँदै गएको छ। 

विश्वविद्यालयको कार्यकारी परिषदले कात्तिक २७ गते सह रजिष्ट्रारमा राजेश झा, सहायक डिनमा गोपाल शर्मा र कोमल दुलाललाई नियुक्त गरेको थियो। परिषदमा ५ जना रहने व्यवस्था भए पनि अहिले २ जना (उपकुलपति र रजिष्ट्रार) मात्रै छन्। २ जनाको अपूर्ण परिषदले विश्वविद्यालयको नियमावलीको मर्म र भावना विपरित नियुक्ति गरेको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन। 

प्राध्यापकको आन्दोलनलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी, पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाज लगायतले समर्थन जनाएका छन्। नेकपाको मोरङमा बसेको बैठकले रजिष्ट्रार प्रमिला थापालाई बोलाएर नियुक्ति फिर्ता लिन माग गर्दै सम्पूर्ण अध्ययनसहित सुझाव दिन नेकपानिकट प्रगतिशील प्राध्यापक संगठनका प्रदेश इन्चार्ज पीतकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समिति बनाएको छ। 

नेकपा केन्द्रीय सदस्य एवं मोरङ पूर्वजिल्ला अध्यक्ष महेश रेग्मीले कार्यदलले प्रक्रिया मिचेर गरिएको नियुक्तिबारे छानविन गरिरहेको बताए। ‘जसलाई नियुक्त गरिएको छ, उहाँ विश्वविद्यालयमै कार्यरत छन। तुरुन्तै नियुक्त गर्नुपर्ने स्थिती होइन। प्रध्यापक, कर्मचारी, विद्यार्थी लगायत सबैको भावनाअनुसार यो निर्णयलाई अहिले स्थगन गर्नुपर्छ। साझा सहमतिअनुसार विश्वविद्यालय चल्ने गरी जानुपर्छ। स्थगत गरेर सहमतिका साथ अगाडि बढ्नुपर्छ’, उनले भने। 

विश्वविद्यालयकी रजिष्ट्रार प्रमिला थापाले आन्दोलनरत पक्षसँग वार्ता भइरहेको बताइन। तर, थप कुरा गर्न अस्वीकार गरिन। विश्वविद्यालयले मेडिकल संकायका डिन डा. शेलेषमणि पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन गरे पनि कार्यकारी परिषद निर्णय खारेज गर्ने अधिकार समितिलाई नरहेको भन्दै आन्दोलनरत पक्षसँग प्रारम्भिक चरणबाहेक थप वार्ता हुन सकेको छैन्। 

को हुन झा?

विश्वविद्यालय प्रशासनका अनुसार सह रजिष्ट्रार पदमा नियुक्त भएका राजेश कुमार झा पूर्वाञ्चल विश्वविद्यालयमा २०५८ सालमा आइटी कन्सलट्यान्टका रुपमा नियुक्त भई पटक पटक विज्ञान तथा प्रविधि संकायको सह डीन पदमा रहिसकेका छन्। उनकै लागि २०७१ चैतमा समन्वय महाशाखा गठन गरी ४ वर्षे अवधिका लागि महाशाखा प्रमुख पदमा नियुक्त गरियो। उनको यो अवधि २०७५ चैत सम्म हुँदाहुँदै अपूर्ण परिषदले कात्तिक २७ गते सह रजिष्ट्रार नियक्त ग-यो। विश्वविद्यालयमा १९ वर्षदेखि कार्यरत उनको शैक्षिक योग्यतामा बेला बेला प्रश्न उठ्ने गरेको छ। यद्यपी उनी आफूसँग सबै शैक्षिक प्रमाण रहेको दाबी गर्छन। तर, विश्वविद्यालयले भने उनको कागजात सार्वजनिक गरेको छैन्। 

प्रधानमन्त्रीको ध्यानाकर्षण

यसैबीच पूर्वाञ्चल विश्वविद्यालय प्रगतिशील प्राध्यापक संगठनले विश्वविद्यालयमा प्रक्रिया मिचेर नियुक्ति भएको भन्दै प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। संगठनका अध्यक्ष नविन भट्टराईको टोलीले प्रधानमन्त्री कार्यालयमार्फत ओलीलाई ज्ञापनपत्र बुझाउँदै नियुक्तिबारे आवश्यक छानविन र कारवाही गर्न माग गरेको छ। 

‘विश्वविद्यालयमा ऐन र नियमावलीको मर्म र भावना विपरित कार्य गरी विश्वविद्यालयलाई थप आर्थिक भार पु-याउने पदाधिकारीहरु उपर आवश्यक छानविन तथा कारवाही गरी प्राज्ञिक उन्नयनको वातावरण बनाइ दिन अनुरोध छ’, ज्ञापन पत्रमा भनिएको छ। प्रधानमन्त्रीले भ्रष्टाचार निर्मुल पार्छु भनेर उद्घोष गरेका बेला देशकै दोस्रो ठूलो विश्वविद्यालयमा नियम विपरित विवादास्पद नियुक्ति र सम्बन्धमा चलखेल भइरहनु दुःखद भएको संगठनको ठहर छ। 

प्रकाशित: १ फाल्गुन २०७५ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App