४ वैशाख २०८१ मंगलबार
खेल

धनगढी प्रिमियर लिग : काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

महेन्द्रनगर युनाइटेडविरुद्ध बलिङ गर्दै काठमाडौं गोल्डेन्सका खेलाडी । तस्बिर : नागरिक

काठमाडौं – काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ। प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो।

काठमाडौंले पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको थियो। महेन्द्रनगरले भने लगातार दोस्रो हार ब्यहोरेको हो। पहिलो खेलमा महेन्द्रनगर रुपन्देही च्यालेन्जर्ससँग २ रनले पराजित भएको थियो।

काठमाडौंले प्रस्तुत गरेको १ सय ३५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन मात्र जोड्न सक्यो। महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले सर्वाधिक २८ रनको योगदान दिए। उनले २७ बलमा २ चौंका प्रहार गरेका थिए। त्यस्तै कप्तान सरद भेषावकरले २३, आरिफ शेखले १८, आनन्द सुब्रमन्युले १५ र रोहित कुमार पौडेलले १० रन बनाएपनि टोलीलाई जिताउन सकेनन्।

महेन्द्रनगरलाई १२७ रनमा रोक्न काठमाडौंका राशिद खानले सर्वाधिक ३ विकेट लिए। त्यस्तै अंकीत दबासले २ तथा नन्दन यादव, ललितनारायण राजवंशी र योगेन्द्रसिंह कार्कीले एक–एक विकेट लिए।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३४ रन बनाएपछि महेन्द्रनगरले १३५ रनको लक्ष्य पाएको थियो। जारी लिगमा यो अहिलेसम्मकै सर्वा्धिक ठुलो स्कोर समेत हो।

काठमाडौंका लागि अंकीत दबासले सर्वाधिक ६५ रनको योगदान दिए। ५५ बलको सामना गरेका अंकीतले ५ चौंका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै योगेन्द्रसिंह कार्कीले नटआउट २२, कप्तान ज्ञानेन्द्र मल्लले १४ र मेहबुब आलमले १३ रनको योगदान दिए। अन्य ३ जना ब्याट्सम्यान दोहोरो रनको स्कोर छुन नसकी पवेलियन फर्किए। महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले २ तथा मोहम्मद नभिद, अबिनाश बोहोरा र सागर ढकालले समान १–१ विकेट लिए।

प्रकाशित: १ फाल्गुन २०७५ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App