७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जातीय अल्पसंख्यको प्रदर्शनमा गोली प्रहार

कारेन्नी जातीय अल्पसंख्यकले गरेकाे प्रदशर्नका सहभागी। तस्बिर : एजेन्सी

यांगुन – कारेन्नी जातीय अल्पसंख्यकले गरेको प्रदर्शनमा म्यानमार प्रहरीले रबरको  गोली प्रहार गरेको छ । 
म्यानमारका स्वतन्त्रता हिरो जनरल आङ साङको शालीकलाई लिएर अल्पसंख्यक कारेन्नी जातीले गरेको प्रदर्शनलाई तितरबितर पार्नका लागि प्रहरीले रबरको गोली र पानीको फोहोरा प्रहार गरेको प्रहरी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

कारेन्नी पनि भनेर चिनिने हिमाली पूर्वी राज्य कायाहको लोइकाउमा युनियन दिवसका दिन दिइएको बिदा पारेर तीन हजारभन्दा बढी प्रदर्शनकारी भेला भएको आयोजकहरुले बताएका छन् । सरकारले प्रदर्शनको अनुमति नदिएको भए पनि प्रदर्शनकारी जम्मा भएको आयोजकहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ‘जनरलको शालीकमा हामीले केही गरेका छैनौं । हामी त उनले दिएको वाचा पहिले पूरा गर्नुपर्छ भन्ने पक्षमा छौं,’ कारेन्नी स्टेट युथ फोर्सका खुन थोमसले फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिएको विवरणमा बताए । ‘हामी प्रदर्शनलाई निरन्तरता दिने छौं,’ उनले बताए। 

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीको पिता जनरल आङ साङ फेब्रुअरी १२, १९४७ मा भएको जातीय समुदायसँगको सम्झौताका प्रमुख योजनाकार थए । सोही दिनको अवसर पारेर म्यानमारमा सार्वजनिक बिदा दिने गरिन्छ । अल्पसंख्यकले भने सन् १९४८ मा जनरल आङ साङको हत्या भएपछि आफूहरुसँग गरिएको सम्झौताको पालना नभएको आरोप लगाउने गरेका छन्। 

दशकौं लामो सैनिक नेतृत्वको सरकारबाट सन् २०१६ मा शक्ति हातमा लिएदेखि नै प्रजातन्त्रवादी नेत्री सुकीले देशमा रहेका विभिन्न सशस्त्ररत समूहसँगको शान्ति प्रक्रियालाई अगाडि बढाएकी छन् । यद्यपि विद्रोहीहरुसँगको वार्ताले सकारात्मक गति लिन सकिरहेको छैन । जसका कारण अर्को वर्ष हुने आम निर्वाचनमा उनको दल प्रभावित हुने अनुमान गरिएको छ। 

प्रहरीले गोली र पानीको फोहोरा प्रहार गर्दा १० जनाभन्दा बढी घाइते भएको बताइएको छ । प्रहरीको उद्देश्य प्रदर्शनकारीलाई तितरबितर पार्ने मात्रै रहेको प्रहरी प्रमुख विन टेले बताएका छन् । उनले अहिले अवस्था साधारण भइसकेको र केटाकेटीहरुले केवल आफ्नो धारणा राखेको उनले बताए। 

 

प्रकाशित: १ फाल्गुन २०७५ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App