लन्डन – डर्बीका प्रशिक्षक फ्रांक लाम्पार्डले चेल्सीको प्रशिक्षण सम्हाल्ने कुनै योजना नभएको बताएका छन्। इङ्लिस प्रिमियर लिगमा टोलीलाई सोचेअनुरूप नतिजा दिन नसकेका प्रशिक्षक माउरिसियो सारीले लिगअन्तर्गत आइतबार म्यानचेस्टर सिटीलाई ६–० को नतिजा सुम्पिएसँगैे आफू कुनै पनि बेला बर्खास्त हुन सक्ने चिन्ता व्यक्त गरेका थिए। त्यससँगै ब्रिटेनका सञ्चारमाध्यमले स्टााम्फोर्डब्रिजमा सारीको स्थानमा लाम्पार्ड आउन सक्ने खबर सार्वजनिक गरेका थिए।
चेल्सीका कीर्तिमानी गोलकर्ता लाम्पार्डले १३ वर्ष स्टाम्पफोर्डमा बिताएका थिए। क्लबका सर्वकालीन खेलाडीमध्येका एक लाम्पार्डले टोलीलाई प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। दोस्रो श्रेणीको टोली डर्बीलाई प्रशिक्षण दिएको पहिलो सिजनकै टोलीलाई च्याम्पियनसिप बढुवाको संघारमा पुर्याएपछि लाम्पार्डलाई सारीको विकल्पका रूपमा हेरिएको बताइएको छ।
तर लाम्पार्डले भने यो खबरको खण्डन गरेका छन्। लाम्पार्डले आफू अहिल्यै सारीको हैसियतमा पुगिनसकेको भन्दै चेल्सीको प्रशिक्षक बन्ने खबर निराधार भएको बताएका हुन्।
‘मेरो जिम्मेवारी यहाँ छ। त्यसैले म अहिले डर्बीलाई कसरी हरेक खेलमा सुखद नतिजा ल्याउन सकिन्छ भनेर सोचिरहेको छु,’ उनले भने। लाम्पार्डले चेल्सीको लगातारको खराब नतिजाले भने आफू चकित भएको बताएका छन्।
‘मैले १३ वर्ष स्टाम्फोर्ड ब्रिजमा व्यावसायिक खेलजीवन बिताए। त्यसैले चेल्सीसँग सम्बन्ध तोड्न सहज छैन र क्लबप्रति म सधैं आभारी छु,’ लाम्पार्डले भने, ‘त्यसैले टोलीको लगातारको खराब लयबाट म चिन्तित छु।’ ५० अंकका साथ प्रिमियर लिगको छैटाैं स्थानमा बसेको चेल्सीले बिहीबार युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा माल्मोको भ्रमण गर्नेछ।
प्रकाशित: १ फाल्गुन २०७५ ०४:१७ बुधबार