७ वैशाख २०८१ शुक्रबार
खेल

न्यु डायमन्ड र एपिएफ फाइनलमा

काठमाडौं – होङ्गान्जी न्यु डायमन्ड र विभागीय टोली एपिएफ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। 

पर्वतको कुस्मा बजारस्थित शिवालयमा भएको सेमिफाइनल खेलमा होङ्गान्जी न्यु डायमन्डले आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै एपिएफसँगको भेट पक्का गरेको हो। 

नेपाल आर्मीले होङ्गान्जी न्यु डायमन्डलाई दबाबमा राख्दै पहिलो र दोस्रो सेट २५–१७ र २६–२४ ले आफ्नो पक्षमा पारे पनि फाइनलको यात्राबाट चुक्यो। होङ्गान्जी न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै तेस्रोदेखि पाँचाैँ सेट २५–१८, २५–२२ र १७–१५ ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गरेको हो। 

मंगलबारको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा आर्मीका निरुता ठगुन्ना, शान्ति थारु र मनीषा खाँडले उत्कृष्ट प्रदर्शन गरे। उत्कृष्ट पुनरागमन गर्न न्यु डायमन्डकी प्रतिभा मालीले आर्मीको विजययात्रालाई रोक्न महत्वपूर्ण भूमिका खेलिन्। 

यसअघि सम्पन्न अर्को खेलमा आर्मीले मंगलबारै गण्डकी प्रदेशलाई २५–२२,२५–१८ र २५–२२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा न्यु डायमन्डसँगको भेट पक्का गरेको थियो। तर फाइनल प्रवेशका लागि भएको भिडन्तमा पराजित हुँदा आर्मी स्तब्ध हुँदै घर फर्किएको हो। 

त्यस्तै दोस्रो सेमिफाइनलमा साबिक विजेता एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। एपिएफले पुलिसमाथि २५–१४, २५–१६ र २५–१८ को सहज जित निकाल्यो। बुधबार होङ्गान्जी न्यु डायमन्ड र एपिएफबीच फाइनल खेल हुनेछ भने यसअघि आर्मी र पुलिसबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ हात पार्नेछन्। व्यक्तिगत विधातर्फको स्पाइकर, क्विकर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र प्रशिक्षकले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १ फाल्गुन २०७५ ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App