इलाम- मेची राजमार्गअन्तर्गत इलामको साखेजुङ–६ मा बिहीबार बिहान सवारी दुर्घटना हुँदा पाँचथरका स्थानीय विकास अघिकारी (एलडिओ) सहित ६ जना घाइते भएका छन् ।
पाँचथरबाट झापा जाँदै गरेको गाडी सडकबाट खस्दा एलडिओ कोमलप्रसाद धमला, पाँचथर जिल्ला विकास समितिकी प्राविधिक विराटनगर–५ की कौशिला दाहाल, उनका पति विवेक ढुंगेल, विराटनगर–१ टंकीका दुर्गाप्रसाद कार्की, गाडी चालक पाँचथर भारपा गाविसका वीरबहादुर तामाङ र उनका छोरा प्रवीण घाइते भएको प्रहरीले जनाएको छ ।
एलडिओ धमलाको कानपछाडिको मासु च्यातिएको र दाहिले हात धस्सारिएको जिल्ला प्रहरीको सूचना शाखाका विजय राईले जानकारी दिए ।
सामान्य अवस्थाका सबै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते कौशिला गर्भवती रहेकी र दुर्घटनामा उनका खुट्टा सुन्निएकाले उनलाई चाहिँ अन्यत्र रिफर गरिएको प्रहरीले जनाएको छ । पाँचथर जिविसको बा. १ झ ३७३ नम्बरको गाडी बिहीबार बिहान सवा ९ बजेतिर सडकबाट खसेर दुर्घटना भएको र दुर्घटनाको कारण चाहिँ खुल्न नसकेको राईले बताए ।
प्रकाशित: २० आश्विन २०७३ ०८:२९ बिहीबार