coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शिक्षा आयोग प्रतिवेदन र वाइड बडीमा सांसदको चासो

काठमाडौं - राष्ट्रियसभा बैठकमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका साथै वाइडबडी जहाज खरिदमा पहिलो किस्ता बुझाउने व्यक्तिको खोजी भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन खोजी गरे भने सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले वाइडी बडी जहाज खरिद प्रकरणमा पहिलो किस्ता बुझाउने व्यक्तिका खोजी गरे।

मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले सरोकारवालासँग राय नै नलिई शिक्षा आयोगले प्रतिवेदन बनाएको टिप्पणी गरे। ‘आयोगले जुन दिन प्रतिवेदन सरकारलाई बुझायो, त्यही दिन नै सार्वजनिक गर्नुपर्ने थियो,’ सांसद अधिकारीले भने, ‘प्रतिवेदनबारे सदन र सरोकारवाला बेखबर छन्, त्यसमाथि छलफल चलाउने चासो किन सरकारले लिएन ? यो निकै गम्भीर विषय हो।’ विद्यार्थी, अभिभावक, आम जनताको चासोको विषय रहेको शिक्षाको नीति निर्माणजस्तो विषय लुकाएर राख्नु आश्चर्यजनक भएको टिप्पणी गर्दै उनले प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

यस्तै नेकपाका सांसद स्नेहीले सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको ठहर गरेको वाइड बडीको प्रसंग हराएको भन्दै थपे, ‘अहिले वाइड बडीको प्रसंग कहाँ हरायो ? ठूलो मानिस जोडिने बितिक्कै सुनुवाइ हुन छाड्नु आश्चर्यजनक छ।’ उनले अगाडि भने, ‘जितेन्द्रदेव मन्त्री हुनुभन्दा एक महिनाअघि पहिलो किस्ता पठाउने महामानव को थिए ? के उनको विषयमा अब छानबिन नै हुँदैन ? बहालवाला होस् वा पूर्वप्रधानमन्त्री, दण्डनीय हुनुपर्छ।’ वाइड बडीको पहिलो किस्ता नागरिक उड्डययन तथा पर्यटन मन्त्रालयसमेत समालेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा भुक्तानी गरिएको थियो।

कांग्रेसका सांसद राधेश्याम अधिकारीले शिक्षा आयोगले बुझाएको प्रतिवेदन खोजी गरे भने नेकपाका सांसद चक्रप्रसाद स्नेहीले वाइडी बडी जहाज खरिद प्रकरणमा पहिलो किस्ता बुझाउने व्यक्तिका बारेमा चासो देखाए।

डा. गोविन्द केसीले १६ पटकसम्म अनशन बसेको समयको तलबभत्ता बुझियो कि बुझिएन, छानबिन गरी बुझिएको भए असुलउपर गर्न पनि स्नेहीले सरकारसँग माग गरे। सांसद बिन्दादेवी आलेले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको क्षेत्रमा बढी बजेट गएको प्रति चासो व्यक्त गरिन्। शक्ति र सामथ्र्यको भरमा प्रभावशालीले बजेट लाने कार्य निरुत्साहित गर्नुपर्ने भन्दै सांसद आलेले समानुपातिक रुपमा बजेट वितरण हुनुपर्नेमा जोड दिइन्।

सांसद शेरबहादुर कुँवरले हालैको वर्षासँगै अछाममा परेको चट्याङबाट मृत्यु भएकाका परिवारजन र घाइतेलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। सांसद उदय शर्मा पौडेलले राजधानीका जमल, भृकुटीमण्डपलगायतका स्थानमा सार्वजनिक यातायातका सवारी साधन रोक्ने व्यवस्था नहुँदा सर्वसाधारणलाई दुःख भोग्नुपरेको भन्दै ध्यानाकर्षण गराइन्।

सांसद रमेशजंग रायमाझीले वीरगन्जस्थित बिपी उद्यान (पार्क) लगायत सम्मानित नेताको नाममा खोलिएका अस्पताल, पुललगायतका संरचनाको निर्माण प्रभावित हुने कार्य भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए भने सांसद रामलखन चमारले शिक्षा मन्त्रालयले गरिब विद्यार्थीलाई पढ्न निब्र्याजी ऋण पाउनेसम्बन्धी कार्यविधि नबनाउँदा धेरै बालबालिका पढाइबाट वञ्चित भएको बताए। बैठकले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फस्र्योट विधेयक, २०७५’ पारित गरेको छ। 

प्रकाशित: १ फाल्गुन २०७५ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App