coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हराउन थाले मृत्यु संस्कारमा बनाइने चौपारी

रोल्पा जेल्बाङमा मृत्यु संस्कारको अन्तिम कर्मका रुपमा बनाइएको चौपारी।

रोल्पा– गाउँगाउँमा सडक पुगेसँगै परम्परागत रुपमा बनाइएका चौपारीहरुको प्रयोग घट्दै गइरहेको छ। जथाभावी रुपमा खनिएका सडकका कारण पनि यस्ता चौपारी भत्काइँदै छन्। विशेष गरी मगर बाहुल्यता रहेका जिल्लाहरुमा मृत्यु संस्कारको अन्तिम कर्ममा चौतारी निर्माण गर्नुपर्ने हुन्छ। अर्थात् मगरात क्षेत्रका मगर जातिले आफन्तको मृत्युपश्चात सम्झनास्वरूप यस्ता चौतारी बनाउने मौलिक प्रचलन छ। 

परिवारको जोकोही सदस्य मरेर गए पनि देवताका रुपमा रहने जनविश्वास मगर जातिमा छ। गोरेटो, मेलापातका लागि घाँसदाउरा जाने भन्ज्याङ र सामरिक महत्वको ठाउँमा चौतारी बनाउने गरिन्छ। मृत्यु संस्कारको अन्तिम दिन चौतारी बनाउने र त्यसमा मृतकको सम्झनामा तीनपुस्ते विवरण झल्कने व्यहोराको शिलासमेत लेखेर राखिन्छ। 

पत्रकार खेम बुढामगरका अनुसार ‘चौतारी नजिकै वरपीपल, लाकुरी, थाकलको बिरुवा रोपिन्छ। यात्राले थकित मानिसले चौतारीमा बिसाएर वरपीपलको छहारीमा स्वास फेरेपछि मृत आत्माको चीरशान्ति हुने मगर जातिमा विश्वास छ। मगर जातिको एकै थरका भाइबन्धुको साझा चौतारी हुन्छ। चौतारीमा माघे संक्रान्तिका दिन पितृ पुज्नेसमेत गरिन्छ।’

‘चौपारी निर्माण एउटा ऐतिहासिक दस्तावेज हो । मृत्यु कर्मको अन्तिम संस्कार हो। हाम्रोमा बरु मुर्दालाई एक दुईदिन कुरेर राख्छौं, तर चोख्खिने दिन चौपारी बनाउनैपर्ने चलन छ’, मगर अगुवा बमकुमारी बुढामगरले बताइन्, ‘हुनेखानेले ठूलै चौतारीमाथि शिलालेख लेखेर पनि राख्छन्। सामान्य मानिसले सामान्य ढुंगामा खोपेर मृतकको विवरणसहित राख्छन्।’

पछिल्लो समय गाउँगाउँ सडक पुगेपछि चौपारीहरुको प्रयोगमा कमी आउन थालेको छ। पत्रकार बुढामगर भन्छन्, ‘मृत्यु कर्मको अन्तिम दिन भन्ज्याङहरुमा बनाइने चौपारी अब बस बिसाउनी र जमघट हुने ठाउँमा प्रतीक्षलयका रुपमा निर्माण गर्नु उपयुक्त हुन्छ। हिजोका गोरेटो मासिएर अहिले सडक बनिसकेका छन्। त्यसैले कर्मलाई समयक्रमअनुसार परिमार्जन गर्नुपर्छ।’ 

प्रकाशित: २९ माघ २०७५ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App