लसएन्जल्स – अमेरिकाको लसएन्जल्समा आइतबार भएको ६१ औं संस्करणको ‘ग्रामी अवार्ड’ मा गायिका कसे मसग्राभ्सको एलबम ‘गोल्डेन आवर’ले ‘बेस्ट कन्ट्री एलबम’ र ‘एलबम अफ दी इयर’को अवार्ड जितेको छ। गायिका कसेको यो तेस्रो एलबम हो। उनले अवार्डलाई एलबमको रेकर्डिङको समयमा प्रेममा परी विवाह गरेकी पतिलाई समर्पण गरिन्।
अवार्डमा अमेरिकी गायिका दुआ लिपाले ‘बेस्ट न्यू आर्टिस्ट’ र ‘बेस्ट डान्स रिकर्डिङ’ को अवार्ड जितिन्। उनले अवार्ड समारोहको महत्वपूर्ण अवार्ड जित्दा आत्तिएसँगै आभारी पनि भएको बताइन्। २३ वर्षे दुआले अवार्डको मनोनयनमा परेका महिला कलाकार प्रति अवार्ड समर्पण गर्दै यो वर्षको अवार्ड महिला कलाकारका लागि उत्साहजनक रहेको जनाइन्। ‘म नयाँ कलाकारको विधामा पर्नु र अन्य धेरै महिला कलाकारहरू पनि अन्य विधामा उल्लेख्य संख्यामा मनोनित हुनु आफैमा ठूलो परिवर्तन हो। हामी यो परिवर्तन लामो समयदेखि हेर्न चाहन्थ्यौं’, उनले भनिन्, ‘अघिल्ला वर्ष भन्दा यस वर्षको अवार्ड यो परिवर्तनका कारण पनि पृथक बन्यो। मैले मनपराएका र माया गरेका धेरै कलाकारको उपस्थितिले पनि नयाँ उत्साह जगाएको छ।’
म नयाँ कलाकारको विधामा पर्नु र अन्य धेरै महिला कलाकारहरू पनि अन्य विधामा उल्लेख्य संख्यामा मनोनित हुनु आफैमा ठूलो परिवर्तन हो।
गत वर्ष ग्रामीका अध्यक्ष निल पोर्टनाउले महिला विजेताको संख्या कमी भएपछि त्यसको आलोचना गर्दै महिलालाई माथि उठाउन आवश्यक रहेको बताएका थिए। आइतबारको अवार्डमा स्टेजमा आएका निलले महिला विजेताको संख्या उल्लेख्य देखिनु नै परिवर्तनको सूचक रहेको बताए। अवार्डमा ब्रोकलिन -यापर कार्डी बीले एलबम ‘इनभेसन अफ प्राइभेसी’का लागि ‘बेस्ट -याप एलबम’ जितिन्। अवार्ड लिएपछि कार्डीले छोरी कल्चर कायरीलाई गीत रेकर्डको बेला समय दिएकोमा धन्यवाद दिइन्। गायिका तथा नायिका लेडी गागाले ‘जोआन्नी’ का लागि ‘बेस्ट पप सोलो परफर्मेन्स’, ब्राडली कोपरसँग गाएको ‘ओस्कार अवार्ड’ मा मनोनित फिल्म ‘ए स्टार इज बर्न’को ‘स्यालो’ गीतका लागि ‘बेस्ट पप ड्युट परफर्मेन्स’ र यही गीतका लागि ‘बेस्ट सङ् रिटन फर भिजुअल मिडिया’ गरी तीन अवार्ड जितिन्।
‘ग्रामी अवार्ड’लाई बहिस्कार गरेकी अमेरिकी गायिका एरियाना ग्रान्डले एलबम ‘स्वीटनर’ का लागि ‘बेस्ट पप भोकल एलबम’को अवार्ड जितिन्। ग्रामीमा पहिलोपटक प्रस्तुति दिने तयारी भइरहँदा आयोजकसँग मतभेद भएपछि उनले अवार्ड बहिस्कार गरेकी थिइन्। यो वर्ष चान्स द -यापर, केन्ड्रिक लामार र चाइल्डिस गाम्बिनोले उनीहरूको संगीत ¥याप विधामा नपरेको भन्दै प्रस्तुति दिन मानेनन्। अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाले अवार्डको मञ्चमा गायिका लेडी गागा, जैडा पिन्केट स्मिथ र जेनिफर लोपेजसँग मिलेर आफ्नो जीवनमा संगीतको प्रभावका विषयमा प्रवचन दिइन्। गायिका एलिसिया कीसले गागा, स्मिथ, लोपेज र मिसेलसँग संगीतका विषयमा कुराकानी गर्न स्टेजमा बोलाएकी थिइन्। ‘मोटाउन रेकर्डस्देखि लिएर साऊथसाइडसम्म र ‘हु रन द वल्र्ड’ जस्ता गीतले मलाई उर्जा दिइरहन्छ’, उनले भनिन्, ‘संगीतले जहिल्यै पनि हामीलाई आफ्नो कथा बताउन सहयोग गरिरहेको छ। संगीतले आफुलाई प्रस्तुत गर्न मद्धत गर्दछ। यसले मेरो सम्मान, सुख, दुःख, आशा र खुशीलाई साझा गर्दछ। यसले हामीलाई एकअर्काको कुरा सुन्न र भावना बुझ्न सहयोग गरेको छ।’
मिसेलले प्रवचन दिनुअघि ‘हवाना’ की गायिका केमिला केबेल्लोले रिकी मार्टिन, यंग थुग, जे बाल्विनसँग एक राजनीतिक सन्देशयुक्त प्रस्तुति दिएकी थिइन्।
प्रकाशित: २९ माघ २०७५ ०४:२९ मंगलबार