एक मुखले सदाचारी, अर्काे मुखले हुतिहारा !

मङ्गलबार, २९ माघ २०७५, ०९ : २० वसन्त आचार्य

“मन्त्रीको त्यति नजिकको मान्छे भएर पनि अहिलेसम्म केही पनि गर्न सकेको होइन। घरमा त्यत्रा मान्छेहरू काम नपाएर खाली बसेका छन्, अरुलाई जे भए पनि आफूले त कम्तीमा केही गर्नु नि, यस्तो मौका सधैँ कहाँ आउँछ ?” सधैँ मन्त्रीको वरिपरि रहने मेरो एक आदर्श दाजुका बारेमा गाउँमा यस्तै तीता कुराहरू बेलाबेलामा सुनिने गर्छन्। निर्वाचनको समयमा ज्यानै होमेर प्रचारप्रसारमा लागेका उनी आजभोलि भने गाउँघरमा “क्यारमबोर्ड” रोजगारका रूपमा चर्चित छन्।

हरेक बिहान चिया पसलमा चियाभन्दा पनि बेसी माहौल तताउने यिनी तिनै मान्छे हुन्, जो बिहान पत्रिकामा छापिएको भ्रष्टाचार र अनियमितताका समाचार पढेर नेतालाई गालीको वर्षात् झार्ने गर्छन्। देशमा सुशासन कायम गर्न कोही पनि सक्षम नभएको भन्दै देशको सम्पूर्ण सुन्दर पक्षलाई बिर्सेर “सतिले सरापेको देश” भन्दै धारे हात लगाउँछन्।

दाङ जिल्ला यस्तो ठाउँ हो, जहाँ अहिले पनि दिवंगत कांग्रेस नेता खुमबहादुर खड्कालाई भगवान्का रूपमा लिने गरिन्छ।  अहिलेसम्म  पनि सबै राजनीतिक दलका कार्यकर्ताले मन पराउने नेताका रूपमा उनी नै मानिन्छन्। यसको मुख्य कारण भनेको उनले यस क्षेत्रका कैयौँ युवकयुवतीलाई रोजगारको व्यवस्था गरिदिए। नियम र कानुनको परिधि नाघेर मुडअनुसार मानिसलाई जागिर दिए। क्षमता नभएर चाप्लुसीको भरमा जागिर खान खोज्ने कैयौँले उनलाई चाप्लुसी गरेकै आधारमा जागिर पनि खाए।

उनले आफू शक्तिमा रहँदा फोनको भरमा मानिसलाई रोजगार दिलाउँथे। खड्काले कार्यकर्ता र जनताको आवश्यकता पूरा गर्नका लागि पदको कैयौँ पटक दुरुपयोग गरे र भ्रष्टाचारको आरोप प्रमाणित भएर जेलसमेत गए। खुमबहादुरबाट जीवनमा अनेक प्रकारको स्वार्थ लिएकाहरू पनि उनी भ्रष्टाचारको आरोप लागेर जेलमा गएपछि भ्रष्ट नेताका रूपमा तुच्छ शब्दको प्रयोग गरे। उनको राजनीतिक पतनलाई रमाइलो आख्यान बनाए।

यसै विषयसँग जोडिएको चर्चित आख्यानकार लियो टल्सटायको कथा छ। कुनै एक घरमा काम गर्ने महिलाले हरेक दिन घरको टेबल सफा गरिरहन्छे। तर जति सफा गर्दा पनि टेबल कहिल्यै सफा नभएको देखेर ऊ निकै दिक्दार हुन्छे। जति काम गर्दा पनि उसले साहुको जस पाउन सक्दिन। विरक्त भएर उसले एक दिन अर्को मानिसलाई टेबल सफा नहुनुको कारणका वारेमा सोध्छे। उक्त मानिसले हाँस्दै जवाफ दिन्छ, “जब तपाईंले सफा गर्ने कुचो नै फोहोर छ भने कसरी टेबल सफा हुन्छ, टेबल सफा हुनका लागि त पहिले कुचो सफा हुनु जरुरी छ।” अहिले हाम्रो अवस्था पनि करिब करिब उस्तै खालको छ। हामी चाहन्छौँ, यो देशबाट नातावाद, कृपावाद र चाप्लुसवाद बन्द होस् तर हामी आफैँ नै यस्तो बाटोमा उद्यत हुँदै गएका छौँ।

 नेपाली समाजको मनोवृत्तिलाई हेर्ने हो भने अनौठो खालको निष्कर्षमा पुग्न सकिन्छ। हामी श्मशानको बाटो हिँडेर मन्दिर पुग्न खोजेको प्रतीत हुन्छ। भर्खरै एउटा तथ्य पत्रपत्रिकाहरूले सार्वजनिक गरे, “नेताहरूले आफ्नाहरूलाई पिएमा राखे।” यो तथ्यलाई नेपाली समाजमा दुई खाले तवरबाट चर्चा भएको छ। चुनाव जित्न जनता र कार्यकर्ता चाहिने तर जागिर भने आफ्नालाई दिने भन्ने खालको एउटा आवाज छ भने आफन्तलाई नराखेर मौकामा कसलाई राख्छन् त भन्ने खालको अर्को आवाज पनि सुनिएको छ। यसरी दुवै खाले आवाज भित्रको मर्मलाई हेर्ने हो भने नेताले निर्वाचन जित्नुको कारण जनतालाई जागिर खुवाउनुपर्छ भन्ने खालको देखिन्छ। कुनै अमुक व्यक्तिका लागि फाइदा पुग्ने कुनै काम भयो भने भयो, नत्र भने विरोधका स्वरहरू त्यहीँबाट सुरु हुन्छ। अधिकांश मान्छेको असन्तुष्टि सत्तासँग हुन्छ। यसको कारण भन्नु नै सत्ताबाट आर्थिक जोहोको या कुनै अतिरिक्त लाभको अपेक्षाको उपेक्षा।

लामो समय निजामती सेवामा काम गरेका मेरा एक जना आफन्त छन्। उनी अधिकृत स्तरको जागिरमा आबद्ध छन्। जागिर सुरु गरेको एक दशकपछि बल्ल उनले बाबुको जग्गामा सानो घर हाल्न सफल भए। अचेल सन्तान बेरोजगार हुनेहरूका लागि उनी निकै गतिलो उदाहरण वनेका छन्। “जागिर खाएर के हुन्छ र ? हाकिम भएर पनि आखिर फलानोले के ग-यो र ?” कहिलेकाही भेट हुँदा उदेकलाग्दो कुरा गर्छन्, “यताउता गर्न जानिएन, अब तलब मात्रै भन्ने हो भने त्यही ३० हजार त हो नि सहरको डेरा, बच्चाको पढाइ अनि साथीभाइ भेट्दा अधिकृत भनेर आश गर्छन्, तिनीहरूलाई गर्ने खर्च उल्टै पुग्दैन।” आफ्नो इमानदारीप्रति उनको गर्व त्यति बेला तुहिन्छ जति बेला उनी दसैँको बेला पारेर ससुरालीमा पुगेका हुन्छन् र सासू ससुराले टीका लगाउँदै “अर्को वर्ष जसरी पनि घर बनाउनु होला र गाडी किन्नुहोला” भनेर आशीर्वाद दिने गर्छन्।

नेपाली जनताको सरकारी जागिरप्रतिको आकर्षण भन्नु नै भ्रष्टाचार भएको एक सहसचिवले दाबी गरे। “तलबकै कुरा गर्ने हो भने एउटा ठीकैको निजी स्कुलमा बरु राम्रो पैसा पाइन्छ” उनले भने।नेपाल भ्रष्टाचारको लिस्टमा पछिल्लो समय उकालो लागिरहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्यांक हेर्ने हो भने नेपाल अत्यन्त खराब मानिने ३१ अंकसहित भ्रष्ट देशहरूको १२४ औँ स्थानमा रहेको छ। गत वर्षभन्दा नेपाल थप २ स्थान अगाडि उक्लिएको हो। यसबाट पनि नेपालीमा भ्रष्टाचारको जालो जेलिँदै गएको तथ्य भेटिन्छ।  समाजमा जतिसुकै सम्पन्न र सुशील मानिस भए पनि अन्ततः अवसर पाएपछि खराब चरित्रतर्फ उन्मुख भएको पाइन्छ। अवसर भन्ने कुरा नै अहिले मानिसका लागि विष सरह भएको छ। पाएको अवसरको सदुपयोग गर्दै गलत फाइदा उठाउन नचाहने र सत्य अनि निष्ठाको बाटो हिँड्नेलाई समाजमा केही पनि गर्न नसक्ने “हुतिहारा”को उदाहरणका रूपमा पेस गरेको पाइन्छ। परिवर्तन हाम्रै पालामा गर्न र हामीले नै परिवर्तनको उद्घोष गर्नका लागि मन र मतिष्क राम्रोसँग धुनुपर्छ।








यसमा तपाईको मत

अन्य समाचार

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

Ncell Footer Ad