७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

विकिरणयुक्त मेसिन क्यानाडा फिर्ता लगिने

काठमाडौं - क्यान्सरका बिरामीलाई प्रयोग भइरहेको वीर अस्पतालको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा लैजाने तयारी थालिएको छ।

तीस वर्ष पुरानो सो मेसिन बिग्रिएको र उपयोगविहीन भएका कारण क्यानडा पठाउन लागिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए। उनका अनुसार सो मेसिनको सट्टा नयाँ टोमोथेरापी मेसिन जडान गर्न लागिकोछ। उनको अनुसार रेडियोथेरापी मेसिन नष्ट गर्नको लागि नै क्यानाडा पठाउन लागिएको हो। नेपालमा यो उपकरणको विकिरण नष्ट गर्ने उपाय र स्थान अभाव भएका कारण क्यानडाका उत्पादकलाई फिर्ता पठाउन लागिएको हो। सो मेसिनको विकिरणयुक्त पुर्जा लैजानको लागि क्यानडाबाट विशेष खालको कन्टेनर वीर अस्पताल आइसकको छ। मेसिनमा रहेको विकिरणयुक्त पुर्जा सुरक्षित रुपमा निकाल्नको लागि प्राविधीक टोली पनि नेपाल आइसकेको छ।

विकिरण खुला ठाउँमा राख्दा मानव स्वास्थ्यमा असर गर्ने र त्यसको दुरुपयोग गरी विष्फोटक पदार्थ बनाइन सक्ने भएकाले सम्बन्धित देशमै फिर्ता पठाउन लागिएको निर्देशक बस्नेतले बताए। रेडियोथेरापीको विकिरण नष्ट गर्न मानववस्तीदेखि दुर तीनसय मिटर गहिरोमा पुर्ने गरिन्छ।

पुरानो कोभाल्ट मेसिनका ठाउँमा नयाँ आधुनिक टोमोथेरापी उपकरण जडान कार्य पनि तदारुकताका साथ सुरु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ। नयाँ ल्याउन लागिएको टोमोथेरापी मेसिन ४० करोडमा गत वर्ष अमेरिकाबाट झिकाइएको हो। क्यान्सर उपचारमा प्रयोग हुने टोमोथेरापी आधुनिक मेसिन हो। सो मेसिनले क्यान्सर प्रभावित शरीरका अंगमा हरेक पटक सिटिसक्यान गरी क्यान्सरको कोष मात्र मार्ने र राम्रो कोषहरुलाई बचाउने गर्छ जसका कारण बिरामीलाई लाभ पुग्ने चिकित्सक जनाउँछन्। यो उपकरण जडान भएपछि चौविसै घण्टा सेवा दिन सकिने निर्देशक बस्नेतको दाबी छ। न्यूनतम शुल्कमा अधिक बिरामीलाई सेवा लिने अस्पतालको लक्ष्य रहेको उनले बताए।

प्रकाशित: २९ माघ २०७५ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App