coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अध्याँरो कोठामा बसेर हतियार नचलाउनुस् : मन्त्री बाँस्कोटा

फाइल फोटो

रूपन्देही - सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेससम्बन्धी कानुनका विषयमा अध्याँरो कोठामा बसेर हतियार नचलाउन आग्रह गरेका छन्। उनले सरकारले ल्याएका प्रेससम्बन्धी ऐनका विषयमा अध्याँरो कोठामा बसेर अनावश्यक हल्ला मच्चाइएको बताए। नेपाल पत्रकार महासंघ रूपन्देहीको वार्षिक साधरणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले संसद्मा विज्ञापनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको र यसले मिडियालाई फाइदा गर्ने बताए।

‘सबैभन्दा बढी माग मोफसलका मिडियाले गरेका हुन्, त्यसलाई सम्बोधन गर्न विज्ञापन ऐन ल्याइएको हो,’ उनले भने। उनले विज्ञापन ऐनले नेपालको १२ अर्बको विज्ञापन बजारलाई २० अर्ब रुपैयाँको पु¥याउने दाबी गरे। मन्त्री बाँस्कोटाले ६५ वर्ष पुगेका पत्रकारलाई निवृत्तीभरणको व्यवस्था, सञ्चारग्राम स्थापनाका लागि ७ वटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको बताए। उनले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको तलब ५० प्रतिशत वृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको बताए। उनले विरोध भएपनि सरकारले कार्यान्वयन गरेरै छाड्ने बताए। उनले आफू पत्रकारिताबाटै आएकाले यसको विकास र मर्म बुझेर कार्यक्रम ल्याइने बताए। उनले कम्युनिस्ट सरकारले काम गर्दा अरुलाई पीडा भएकाले त्यसलाई चर्चामा ल्याउनुको अर्थ नरहेको बताए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरी ऐनकानुन निर्माणमा जुटेको बताए। उनले अहिले सरकारले गरेका हरेक गतिविधिलाई नकारात्मक रूपमा प्रचार गर्ने काम भएको बताए। उनले अब कम्युनिस्ट सरकार ५ वर्ष मात्रै नभई आउँदो चुनावमा पनि जनताको मन जितेर चुनाव जित्ने बताए। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले संघीयता कार्यान्वयनका चरणमा रहेकाले संरचनाको जग बलियो बनाउनेगरी मिडियाले विषय उठाउनुपर्ने बताए। महासंघका केन्द्रीय सदस्य वसन्त गिरीले साना मिडिया बलियो नहुँदासम्म श्रमजीवी ऐन लागु हुन नसक्ने बताए। प्रदेश ५ का सांसद कमला विश्वकर्माले समाज परिवर्तनमा पत्रकारिताले धेरै काम गर्न सक्ने भन्दै यसको शक्तिलाई सदुपयोग गर्न आग्रह गरिन्।

पूर्व सांसद विनोद पहाडीले मुलुक संघीयतामा गएपछि प्रेस पास तथा अन्य सेवा लिन कठिन भएकाले समाधान गर्न आग्रह गरे। उनले पत्रकारिता क्षेत्रका व्यक्ति सञ्चारमन्त्री भएकाले सञ्चार क्षेत्रलाई राहात र सहजता ल्याउनेगरी काम गर्न सुझाव दिए। बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले नेपालको समृद्धिका लागि बजेट निति कार्यक्रम र दिगो विकास लक्ष्यमा विमति छैन भने प्राथमिक क्षेत्रमा लगानी भए की भएन त्यसमा कलम चलाउन पत्रकारलाई आग्रह गरे। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले पत्रकारिताले समाचार लेख्न र प्रकाशन गर्नुअघि पटकपटक सोच्न आग्रह गरे।

प्रकाशित: २९ माघ २०७५ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App